
काठमाडौं । कोरोना भाइरस महामारीका कारण खुम्चिएको वैदेशिक रोजगार पछिल्लो समय पुरानै लयमा फर्किएको छ ।
कोरोना संक्रमणको दर घट्दो र प्रभाव कम हुन थालेपछि वैदेशिक रोजगार पुरानै लयमा फर्किएको हो ।
कोरोनाले गर्दा करिब डेढ वर्ष ठप्प भएको वैदेशिक रोजगार कोरोनाको प्रभाव कम हुँदै गएपछि रोजगारीको खोजीमा विदेशिने बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सामान्य अवस्थामा मासिक रुपमा ५० हजारभन्दा बढी नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गर्दथ्यो । अहिले पुनः सोही संख्यामा रोजगारीमा जाने गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।
नेपालबाट वार्षिक ५ लाखभन्दा बढी रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्क छ । तर, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमै नेपालबाट साढे ४ लाख बढी विदेशिएको देखिन्छ ।
नेपालबाट साउनदेखि चैत मसान्तसम्ममा ४ लाख ६० हजार ४८६ नेपाली रोजगारीका सिलसिलामा विभिन्न करिब एक सय मुलुकमा पुगेका छन् । तर, उक्त संख्याभन्दा बढी रोजगारीमा गएको विभागको भनाइ छ ।
पछिल्लो समय भिजिट भिसामा हजारौं नेपाली विदेखिएका छन् । सो नेपाली श्रमिक पनि जोड्ने हो भने ९ महिनाको अवधिमा ५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गइसकेको विभागले जनाएको छ ।
साढे ४ लाखमध्ये २ लाख ५३ हजार ८५७ जना नयाँ श्रम स्वीकृति लिएका र २ लाख ६ हजार ६२९ जना व्यक्तिगत पुनः श्रम स्वीकृति लिई विदेशिएको विभागको तथ्याङ्कले देखाउँदछ ।
गत वर्ष आर्थिक वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जना, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना र आव २०७५/७६ मा ५ लाख ८ हजार ८२८ जना विदेशिएको थियो ।
विभागका अनुसार नेपालबाट साउनबाट २५ हजार ४२८ जना, भदौमा २६ हजार ४० जना, असोजमा २९ हजार ६७१ जना, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ जना, माघमा ५४ हजार ४७० जना, फागुनमा ५३ हजार ४५७ जना र चैतमा ५५ हजार ५२३ जना विदेशिएका छन् ।
SHARE YOUR THOUGHTS