वैशाख महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ७ अर्ब बीमाशुल्क, ४५% हिस्सा बाग्मती प्रदेशको « Eglish Khabarhub

वैशाख महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ७ अर्ब बीमाशुल्क, ४५% हिस्सा बाग्मती प्रदेशको



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा जीवन बीमा कम्पनीहरूले ७ अर्ब बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८६ करोड १९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा यी कम्पनीहरूले २ अर्ब २५ करोड ४७ लाख रूपैयाँ प्रथम बीमाशुल्क र ५ अर्ब ६० करोड ७२ लाख रूपैयाँ नवीकरण बीमाशुल्क गरी सो रकम संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको बैशाख महिनामा जीवन बीमा कम्पनीहरूमा ९ लाख ९७ हजार ८५४ वटा बीमालेख जारी भएका छन् ।

कम्पनीहरूले सावधिक जीवन बीमा, अग्रीम भुक्तानी सावधिक जीवन बीमा, रूपान्तरित सावधिक जीवन बीमा, बाल बच्चा सम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगारी म्यादी बीमा, आजीवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादी जीवन बीमा र लघु जीवन बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त अवधिमा बाग्मती प्रदेशको हिस्सा ४५.१० प्रतिशत छ । वाग्मती प्रदेशबाट जीवन बीमा कम्पनीहरूले ३ अर्ब ५४ करोड ५६ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट कम्पनीहरुले बढी बीमाशुल्क संकलन गरेका छन् । लुम्बिनी प्रदेशबाट यस अवधिमा कम्पनीहरूले १ अर्ब १४ करोड ८२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल बीमाशुल्कमा लुम्बिनी प्रदेशको हिस्सा १४.६१ प्रतिशत हो ।

कुल जीवन बीमा व्यवसायमा गण्डकी प्रदेशको हिस्सा १०.२७ प्रतिशत, मधेश प्रदेशको हिस्सा ८.८३ प्रतिशत, सुदुरपश्चिम प्रदेशको हिस्सा ५.११ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ४.०१ प्रतिशत हिस्सा ओगटेको छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरूले गण्डकी प्रदेशबाट ८० करोड ७४ लाख रूपैयाँ, मधेश प्रदेशबाट ६९ करोड ४२ लाख रूपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ४० करोड २१ लाख रूपैयाँ र कर्णाली प्रदेशबाट ३१ करोड ५३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले सावधिक जीवन बीमा योजनाबाट २ अर्ब ८५ करोड १८ लाख रूपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखबाट १ अर्ब ८९ करोड ७ लाख रूपैयाँ, रूपान्तरित सावधिक बीमा योजनाबाट १ अर्ब ९ करोड ७६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, यस अवधिमा कम्पनीहरूले बाल बच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट १ अर्ब २१ करोड ६६ लाख रूपैयाँ, वैदेशिक रोजगारी म्यादी बीमाबाट १३ करोड १७ लाख रूपैयाँ, आजीवन जीवन बीमाबाट २३ करोड १८ लाख रूपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ९ करोड ३ लाख रूपैयाँ, म्यादी जीवन बीमाबाट ९ करोड ८५ लाख रूपैयाँ र लघु जीवन बीमाबाट २५ करोड २४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

Publish on: