नेपालमा राइड सेयरिङ सेवाको बाटो देखाएको टुटल बन्द हुन लागेको हो ? « Eglish Khabarhub

नेपालमा राइड सेयरिङ सेवाको बाटो देखाएको टुटल बन्द हुन लागेको हो ?


९ श्रावण २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पाँच वर्षअघि मुलुकको स्टार्टअप क्षेत्रमा नयाँ नाम आयो ‘टुुटल’ । यो एक राइड सेयरिङ एप थियो, जुन आम नेपालीका लागि नयाँ सेवा थियो ।

मोबाइल एपको प्रयोग गरेर मोटरसाइलकमा ट्याक्सीको जस्तै यात्रु बोक्ने सेवा हो भनेर बुझ्न उपभोक्तालाई धेरै समय लाग्यो ।

बिस्तारै यसले चर्चा पायो । यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ‘नयाँ काम’ शुरु गरेको भन्दै चर्चा कमाए ।

बजारमा भने राइड सेयरिङ सेवा सञ्चालन गर्न सहज भएन । आफ्ना ग्राहक बोकेको भन्दै ट्याक्सी चालकहरु संस्थागत रुपमा टुटलका बिरुद्धमा उत्रिए । कति ठाउँमा टुटल राइडरलाई कुटपिट भयो ।

नेपालमा राइड सेयरिङ एप सञ्चालन र अनुगमनका लागि कानून पनि थिएन । यसैको आधारमा निजी मोटरसाइकलले यात्रु बोक्न पाइदैन भनेर ट्राफिक प्रहरीले धेरै पटक धरपकट र अवरोध गर्यो ।

कतिपय व्यक्तिले मोटरसाइकले यात्रु बोक्नु हुन्न भनेर आवाज पनि उठाए । यही अवरोध र चर्चा बीच नेपालमा राइडसेयरिङ एप टुटलले आफ्नो बजार बनाइसकेको थियो ।

महंगो भाडा तिरिरहेका उपभोक्ताले टुटल सेवालाई स्वागत गरे । सस्तो दरमा भनेको ठाउँमा छिटो पुग्न सकिने भयो ।

नेपालमा राइड सेयरिङ सेवाको बजार राम्रो देखिएपछि अमेरिकी लगानी रहेको बंगलादेशको पठाओ नेपाल आयो । राइड सेयरिङ सेवा अझ व्यापक भयो ।

त्यसपछि अनेक राइड सेयरिङ सेवाहरु थपिए। मोटरसाइकल र स्कुटरमामात्र सीमित नभएर ट्याक्सीलाई पनि राइडसेयरिङ एपमा जोडिए ।

झन्डै पाँच वर्षको अवधिमा राइड सेयरिङ एपमा आधारित सेवा सबैका लागि परिचित भइसकेको छ । मुलुकमा दर्जनौं यस्ता सेवाहरु बजारमा उपलब्ध छन् । यो सार्वजनिक यातायातको विकल्पको रुपमा स्थापित भइसकेको छ ।

नेपालमा राइड सेयरिङ सेवा स्थापित भइसकेको अवस्थामा यसको शुरुवातकर्ताको रुपमा परिचित टुटल भने आफै असफलताको ढोकैमा पुगेको छ ।

असारको मध्यतिर टुटलले आफ्नो एपको अपग्रेड गर्न भन्दै सेवा बन्द गरेको थियो । अहिले यो सेवा र एपमा नयाँ दर्ता रोकिएको छ । झन्डै एक महिना हुनलाग्दा पनि यसको पुनः सञ्चालन हुन सकेको छैन ।

प्रतिस्पर्धी राइड सेयरिङ सेवामा टुटल खरो प्रतिस्पर्धामा उत्रिन नसकेपछि यो बन्द हुन लागेको भन्ने बजार हल्ला पनि छ ।

सामाजिक सञ्जालमा बन्दको हल्ला चलिरहेको बेला यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट भने नयाँ बिजनेस मोडलसहित आउने तयारीको लागि ‘ब्रेक’ लिएको बताउँछन् ।

‘हामीले एप अपग्रेडमात्र नभएर नयाँ बिजनेस मोडलसहित आउने तयारी गर्दै छौं,’ क्लिकमाण्डूसँग कुरा गर्दै भट्टले भने, ‘पाँच वर्ष पहिला शुरु गरेको मोडल पुरानो भयो अब नयाँ तरिकाबाट आउँछौं ।’

नयाँ व्यवसायिक मोडल कस्तो हुने भन्ने बारेमा भने खुलाउन चाहेनन् । साथै, अपग्रेडेसनसहित कहिले आउने भन्नेबारे पनि समय यकिन गर्न चाहेनन् ।

कुनै कम्पनी वा ब्रान्ड बन्द हुनु धेरै ठूलो कुरा भएको भन्दै टुटल पब्लिक फेसिङ ब्रान्ड भएकाले त्यत्ति सजिलै बन्द नुहने उनको भनाइ छ । अहिले पनि टुटलमा झन्डै ८० हजार राइडर रहेको बताए ।

उनले मोबाइल ब्रान्ड नोकियाको उदाहरण दिँदै आफूहरु पनि नोकिया जस्तै व्यवसाय मोडललाई रुपान्तरण गरेर नयाँ तरिकाबाट आउन लागेको बताए ।

सात वर्षअघि राइड सेयरिङ शुरु गर्दा नौलो बिजनेस मोडल थियो । अहिले यो नौलो रहेन । त्यसैले इनोभेसन गर्ने उद्यमीले बीचमा ‘ब्रेक’ लिएर नौला कुरा ल्याइरहनुपर्ने उनको तर्क छ ।

‘बाहिरबाट एपमात्र देखिए पनि इनोभेसन निरन्तर भइरहेको छ,’ भट्ट भन्छन्, ‘हेर्दै जाउँ के–के हुन्छ ।’

लकडाउनको समयमा पनि यसैगरी दुई महिना जति बन्द गरेर पुनः शुरु गरेको उनले बताए ।

टुटल यसैगरी अलमल गरिरहँदा धेरैपछि आएका राइट सेयरिङ सेवाहरुले भने प्रतिस्पर्धा गर्दै स्थापित भइसकेका छन् । टुटलले नेपालमा राइड सेयरिङ सेवा शुरु गरेको र व्यवसायको प्रतिस्पर्धात्मक बाटोमा भने पछि परेको भट्ट स्वीकार गर्छन् ।

‘इनोभेसन शुरु गर्ने व्यवसायमा सफल नै हुन्छन् भन्ने छैन,’ भट्टले भने, ‘इनोभेटरको काम बाटो देखाउने हो । हामीले देखाएको बाटोमा धेरै उद्यमीहरु आइसकेका छन् ।’

उनले राइट ब्रदरको उदाहरण दिए । राइट ब्रदरले विश्वमै पहिलो पटक प्लेनको आविष्कार गरे तर उनीहरुले व्यवसायमा लिड गर्न सकेनन् । त्यसैले इनोभेसन र विजनेसलाई छुट्टाछुट्टै तरिकाले हेर्नुपर्ने भट्टको तर्क छ ।

उद्यमशिलता इनोभेसनबाट शुरु हुने भन्दै उद्यमीले एकपछि अर्को नयाँ नयाँ चिज ल्याउनु पर्ने तर त्यो बिजनेस सेग्मेन्टमा लिडर बन्नै पर्छ भन्ने नभएको बताए ।

‘हाम्रो काम भनेको बाटो देखाउने हो,’ उनी भन्छन्, ‘त्यसो नभए त म र मोटरसाइकल व्यापारीमा फरक भएन नि !’

नेपालमा स्टार्टअपको रुपमा नयाँ व्यवसाय शुरु गरे पनि सरकारले भने सहयोगभन्दा झन् दुःख दिएको बताए ।

‘नेपालमा इनोभेसन गर्नेलाई राज्यले सौलियन वा सुविधाहरु दिदैन भन्ने मैले ज्ञान पाएको छु,’ भट्टले भने, ‘टुटल शुरु गर्दा कति दुःख भयो तर सरकारले सहयोग गरेन ।’

सरकारले नियम कानून धेरै बनाउने तर उद्यमशिल विकासका लागि कुनै पनि पहल नगरेको उनको भनाइ छ । नेपालमा टुटल एप शुरु गर्दा अनेक झमेला भोगेका थिए उनले । ट्याक्सी युनियनको अवरोध, मुद्दा मामिला, प्रहरीको अवरोध भोग्न पर्यो ।

टुटलभन्दा धेरै पछि आएको पठाओले विदेशी लगानीमार्फत् बजारमा आक्रमकरुपमा आएको छ । इन्ड्राइभर जस्ता कतिपय विदेशी कम्पनी दर्ता नभइकन सञ्चालन भइरहेका छन् ।

टुटलले व्यवसायीकरुपमा लिडर बन्न नसकेपछि टुटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृृत भट्ट भने चर्चा कमाउन सफल भए ।

उनी एक सक्षम युवा इन्जियिनर उद्यमी हुन् । डोटीमा जन्मिएका भट्टले अमेरिका पढेर नेपालमा आएर दूरसञ्चार तथा बैंकहरुमा काम गरे । स्न २०१७ जनवरीमा नेपालमा टुटल सेवा शुरु गरेपछि उनको चर्चा बढेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा टुटल सञ्चालन कम्पनी हाइपर लुक्स नेपालका नाममा दर्ता भएको छ । कम्पनी भ्याटमा दर्ता नभइ उपभोक्ताबाट भ्याट उठाइरहेको पाइएपछि सरकारले पनि यसको छानबिन पनि गरेको थियो । त्यसपछि यस एपले अझ धेरै चर्चा पाएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ००:००  ४ : ५९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping