![](https://internal.appharu.com/wp-content/uploads/2022/01/bank-photo-768x576.jpg)
काठमाडौं । प्रत्येक वर्ष बैंकहरुले अर्बमा नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेपछि व्यावसायिक जगतबाट त्यसको चर्को आलोचना हुन्छ । ऋणीसँग महंगो ब्याज असूलेर बैंकहरु मोटाएको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् ।
बैंकहरुको चर्को ब्याजदर लिएर अर्बौं नाफा कमाएको भन्दै बेला बेलामा व्यवसायीहरु सडक आन्दोलनमै उत्रिएका उदाहरण पनि छन् हाम्रो नेपालमा ।
बेलाबेलामा हुने ब्याजदर आन्दोलनले पछिल्ला बैंकर र व्यवसायीबीचको सम्बन्ध बिग्रिँदै गएकोछ । तर, बिडम्बना बैंक चलाउने पनि व्यवसायी र ऋण लिने पनि व्यवसायी ।
बैंकिङ प्रणालीको ८२ प्रतिशत रकम ३ प्रतिशत ऋणीले चलाएका छन् । बैंकिङ क्षेत्रबाट ऋण लिने साढे १८ लाख ऋणीमध्ये १ करोड रुपैयाँभन्दा बढी ऋण लिनेको संख्या साढे ६ हजारको हाराहारीमा मात्रै छ । तर, ९७ प्रतिशत ऋणीले १ करोडसम्मको ऋण लिएका छन् । सामान्यतया १ करोडभन्दा बढी ऋण लिने ऋणी व्यवसायी हुन् । र, बैंकले अर्ब नाफा कमाए भन्दै विरोध गर्ने पनि उनीहरु नै हुन् ।
बैंकहरुको अर्बमा नाफा कमाएको सबैले देख्छन् । तर, पुँजी बढेको ख्यालै गर्दैनन् ।
गत आर्थिक वर्षमा बैंकहरुले ७४ अर्ब ८० करोड रुपैयाँ नाफा कमाए । यो अल्लिो वर्षको भन्दा २३ प्रतिशतले बढी हो । बैंकको नाफा बढेको भन्दै व्यवसायीहरुले बैंकरमाथि धारेहात लगाइरहेका छन् । झट्ट हेर्दा व्यवसायीको आरोप ठीकै हो जस्तो लाग्छ । तर, वास्तविकता भने फरक छ ।
व्यवसायीले आरोप लगाएजस्तै बैंकहरुले कमाएको नाफा साँच्चिकै अस्वाभाविक हो कि होइन भनेर बुझ्न एउटा उदाहारण हेरौं ।
आर्थिक वर्ष २०६९/७० मा वाणिज्य बैंकहरुको कुल पुँजी ८३ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ थियो । उक्त वर्ष बैंकहरुले १५ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले पुँजीमा २२ प्रतिशतको प्रतिफल दिएका थिए ।
आर्थिक वर्ष २०७४/७५ मा वाणिज्य बैंकहरुको कुल पुँजी ३ खर्ब ८८ अर्ब रुपैयाँ पुग्यो । उक्त वर्ष बैंकहरुले ४१ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो भनेको पुँजीमा साढे १५ प्रतिशतको प्रतिफल हो ।
आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुको कुल पुँजी ६ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । र, यो वर्ष बैंकहरुले ७४ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका छन् । यो भनेको पुँजीमा १२.२२ प्रतिशत हो ।
पछिल्ला ९ वर्षको अवधिलाई तुलना गर्ने हो भने बैंकहरुको पुँजी साढे ७ गुणाले बढेको छ । तर, नाफा भने करिब ५ गुणाले मात्रै बढेको छ ।
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । लगानीकर्ताको लगानीमा पुँजीसँगै जगेडा कोष र चुक्ता पुँजीसमेत राखिएको हुन्छ ।
अंकमा नाफा बढेको देखिए पनि बैंकहरुको सम्पत्तिमाथिको प्रतिफलको वृद्धिदर भने घट्दो अवस्थामा छ । कुनै समय प्रतिफलका हिसाबले अब्बल मानिने बैंकिङ क्षेत्र पछिल्ला वर्षहरुमा प्रतिफलका हिसाबले लगानीकर्ताको आकर्षणमा पर्न छाडेको छ । सेयर बजारमा वाणिज्य बैंकहरुको सेयरको मूल्य अन्य कम्पनीको तुलनामा कम हुनु पनि यसैको एउटा कारण हो।
बैंकमा लगानी गर्नेहरुको प्रतिफल दिनानूदिन घटिरहेका बेला अर्बको अंक हेरेर बैंकको नाफामा नजर लगाउनु गलत भएको बैंकरहरु बताउँछन् ।
‘अर्बको अंक होइन, आरओइको अवस्था के छ भनेर हेर्नुपर्छ,’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘आरओई नै लगानीकर्ताले पाएको प्रतिफल हो ।’
![](https://internal.appharu.com/wp-content/uploads/2021/01/roe.jpg)
वृद्धिदरमा सिभिल बैंकको छलाङ
अघिल्लो वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै आरओई बढाउने बैंक हो सिभिल । यो अवधिमा सिभिल बैंकको आरओई १२१.९६ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा ५.१९ प्रतिशत रहेको सिभिल बैंकको आरओई ०७९ असार मसान्तमा बढेर ११.५२ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष ५२ करोड ७७ लाख रुपैयाँ कमाएको सिभिल बैंकले गत वर्ष १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कमाएको छ । सिभिल बैंकको कुल पुँजी १२ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
आरओईमा एनआइसी एशिया फस्ट
लगानीकर्ताको सम्पत्तिमा सबैभन्दा बढी प्रतिफल दिने बैंक हो एनआइसी एबिया बैंक । गत आर्थिक वर्षमा एनआइसी एशियाको आरओई १७.९९ प्रतिशत छ । बैंकको पुँजीको आकार सानो भएकाले नविलभन्दा कम नाफा कमाउँदा पनि सम्पत्तिमा नविलको भन्दा दोब्बर बढी प्रतिफल निकालेको छ । एनआइसी एशियाको कुल पुँजी २५ अर्ब १५ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कुन बैंकको कति ?
एनआईसी एशियाको १७.९९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १५.५७ प्रतिशत, सिद्धार्थ बैंकको १४.६९ प्रतिशत, माछापुछ्े बैंकको १४.४६ प्रतिशत आरओई छ ।
त्यसैगरी ग्लोवल आईएमई बैंकको १४.०२ प्रतिशत, एनएमबि बैंको १३.६० प्रतिशत, सानिमा बैंकको १३.४० प्रतिशत, कुमारी बैंकको १३.३८ प्रतिशत छ ।
सबैभन्दा कम कृषि विकास बैंकको ७.९७ प्रतिशत, नेपाल बैंकको ९.१३ प्रतिशत, लक्ष्मी बैंकको ९.४० प्रतिशत, नबिल बैंकको ९.४६ प्रतिशत र नेपाल एसबीआई बैंकको ९.५७ प्रतिशत छ ।
कुन बैंकको कति ?
प्रतिक्रिया