अन्तर्राष्ट्रिय मूल्य उतारचढावले तेलको आयात-निर्यात प्रभावित, भटमासको निकासी ८७%ले घट्यो « Eglish Khabarhub

अन्तर्राष्ट्रिय मूल्य उतारचढावले तेलको आयात-निर्यात प्रभावित, भटमासको निकासी ८७%ले घट्यो



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा खाने कच्चा तेलको मूल्य उतारचढाव नेपालको आयात तथा निर्यात दुबै प्रभावित भएको छ ।

नेपालले विभिन्न देशबाट कच्चा पदार्थको रुपमा आयात गर्दै प्रशोधन गरी आन्तरिक बजारमा बिक्री वितरण तथा भारतततर्फ निकासी गर्दै आएको कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा उतारचढाव हुँदा आयात तथा निर्यात दुबै घटेको सरकारी तथ्याङ्कले देखाउँछ ।

नेपालको वैदेशिक व्यापारमा पाम तेल, भटमासको तेल र सन्फ्लावर तेलको हिस्सा ठूलो छ । आयातित वस्तुमध्ये सबैभन्दा बढी कच्चा पदार्थको रुपमा आयात हुने तेल निकासीमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । उक्त तेलको निर्यातले नै नेपालको निर्यात मूल्य गत वर्ष २ खर्ब रुपैयाँ पुगेको व्यवसायीहरूले बताउँछन् ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अस्थिरताले गर्दा आयात तथा निर्यात दुबै घटेको छ । गत वर्षको तथ्याङ्क र यो वर्षको तथ्याङ्क तुलना गर्दा साउन महिनामा सबै प्रकारका तेलको आयात तथा निर्यातमा कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा नेपालले ११ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको ५ करोड ४१ लाख ४८ हजार लिटर कच्चा भटमास तेल, पाम तेल र सनफ्लावर तेल आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १२ अर्ब ४७ करोड २ लाख रुपैयाँ बराबरको ८ करोड २४ लाख ४६ हजार केजी कच्चा तेल आयात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष सो कच्चा तेलको आयात परिमाणमा ३४.३२ प्रतिशतले घटेको छ ।

चालु आवको साउन महिनामा नेपालले भटमासको तेल ६ अर्ब १९ लाखम रुपैयाँको २ करोड ६० लाख १८ हजार लिटर आयात गरेको छ । जबकी गत वर्षको सोही अवधिमा नेपालले ८ अर्ब ३२ करोड ९० हजार रुपैयाँको ५ करोड लाख २९ हजार लिटर भटमासको तेल आयात गरेको थियो ।

रुस र युक्रेनबीचको द्वन्द्वका कारण पनि विश्वबजारमा अधिकांश वस्तुको मूल्य उच्च बढेको छ । दुई देशबीचको युद्धका कारण विश्वभर महंगीको मारमा परेका छन् । सोही अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले इतिहास कायम गरेको छ । साथै, यसको प्रत्यक्ष असर आयात तथा निर्यातमा पनि देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य हेर्ने हो भने दिन प्रतिदिन उत्तरचढाव भइरहेको देखिन्छ । सन् २०२१ को सेप्टेम्बरमा भटमासको तेलको मूल्य प्रतिटन १२ सय २० देखि १२ सय ७० अमेरिकी डलर थियो । त्यसमा सन् २०२१ को अन्त्यसम्मा लगातार घटेको कच्चा भटमासको तेल सन् २०२२ बाट निरन्तर बढेको देखिन्छ ।

सन् २०२२ को मे ३० मा भने कच्चा भटमासको मूल्य उच्च विन्दुमा पुगेको थियो । मेमा प्रतिटन नै १७ सय ३१ अमेरिकी डलर पुगेको थियो । मे पछि भने उक्त मूल्य निरन्तर घटबढ भई जुलाईमा प्रतिटन १३ सय २० अमेरिकी डलरमा झरेको थियो ।

तर, जुलाईमा घटेको कच्चा भटमासको तेल बढेर अगस्टको अन्त्यतिर आइपुग्दा बढेर प्रतिटन १५ सय १० अमेरिकी डलर कायम भएको थियो । साथै, अहिले प्रतिटन १५ सय ७ अमेरिकी डलर कायम भएको छ ।

उक्त मूल्यको उत्तरचढावले गर्दा कच्चा भटमासको तेल मात्रै नभएर अन्य कच्च तेलको आयातमा पनि गिरावट आएको देखिन्छ । तर, कच्चा पाम तेल र सन्फ्लावर तेलको मूल्य भने निरन्तर घट्दो अवस्थामा छ ।

सन् २०२२ को मार्चको मध्यतिर प्रतिटन २४ सय अमेरिकी डलर पुगेको कच्चा सनफ्लावर तेलको मूल्य अहिले निरन्तर घटेर प्रतिटन १४ सय ५० अमेरिकी डलर कायम भएको छ ।

त्यस्तै, सन् २०२२ को अप्रिलको अन्त्यतिर प्रतिटन ७ हजार १२६ अमेरिकी डलर कायम भएको मूल्य घटबढ भई अहिले प्रतिटन ३ हजार ९३३ अमेरिकी डलर रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पाम तेलको मूल्य घट्दै जाँदा नेपालमा उच्च आयात भएको देखिन्छ । तर, सन्फ्लावर तेलको आयात भने कम नै देखिन्छ ।

गत वर्षको साउन महिनामा नेपालले २ अर्ब ६१ करोड ११ लाख रुपैयाँको २ करोड ४ लख ६१ हजार लिटर कच्चा पाम तेल आयात गरेकोमा यो वर्षको सोही अवधिमा नेपालले ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको २ करोड ३२ लाख ७६ हजार लिटर कच्चा पाम तेल आयात गरेको छ ।

साथै, नेपालले चालु आवको साउन महिनामा १ अर्ब ५ करोड २८ लाख मूल्य बराबरको ४८ करोड २४ लाख लिटर कच्चा सन्फ्लावर तेल आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ५३ करोड मूल्य बराबरको ८८ करोड ५६ लाख लिटर कच्चा सनफ्लावर तेल आयात गरेको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय मूल्य उत्तरचढावले आयात तथा निर्यातमा मात्रै नभएर आन्तरिक बजारमा खाने तेलको मूल्य पनि घटबढ भइरहेको छ ।

भटमासको निर्यात ८७ प्रतिशतले घट्यो

अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिरताका कारण आयात तथा निर्यात दुबै प्रभावित भएको अवस्थामा भटमासको निकासीमा उच्च गिरावट आएको छ । नेपालको निकासी वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा रहेको भटमासको तेलको निर्यात साउनमा मात्रै ८७.४२ प्रतिशतले कमी आएको छ ।

गत वर्ष नेपालले साउन महिनामा मात्रै ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको ४ करोड ४ ४८ लाख लिटर भटमास तेल निर्यात गरेकोमा यो वर्ष १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ बराबरको ५० लाख ३४ हजार लिटर भटमासको तेल निर्यात गरेको छ । समग्रमा परिमाणमा हेर्ने हो भने ८७.४२ प्रतिशतले र निर्यात मूल्यमा ८२.२३ प्रतिशतले कमी आएको छ ।

नेपालले आयात गरेको तेल भारततर्फ निकासी गर्दै आएको छ । तर, भारत सरकारले पनि खाने तेलको मूल्य उत्तत्र बढेको भन्दै आयातमा भन्सार महसुल शून्य बनाएको छ । जसले गर्दा भारतमा नै तेलको मूल्य सस्तो हुने भएकाले पनि नेपालबाट निर्यात हुने तेलको हिस्सा कम हुँदै गएको हो ।

त्यसैगरी, सन्फ्लावार तेलको निर्यातमा पनि कमी आएको छ । नेपालले गत वर्षको साउन महिनामा ७९ करोड १९ लाख रुपैयाँ बराबरको ४० लाख १६ हजार लिटर सन्फ्लावर तेल निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ७ करोड ९१ लाख रुपैयाँको ३ लाख ४७ हजार लिटर मात्रै निर्यात भएको छ ।

तर, पाम तेलको निर्यात भनेको बढेको छ । चालु आवको साउन महिनमा ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँको निर्यात भएकोमा गत वर्ष २ अर्ब १५ करोडको मात्रै निर्यात भएको छ ।

Publish on: