कुनै बेला मान्छे हिँड्न डराउने कोरिडोर अहिले रेष्टुरेन्ट हब « Eglish Khabarhub

कुनै बेला मान्छे हिँड्न डराउने कोरिडोर अहिले रेष्टुरेन्ट हब


२१ भाद्र २०७९, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हेटौंडामा जन्मिएका राहुल बानिँया तीनकुने क्षेत्रको कोरिडोरमै हुर्किए । कलेज अध्ययन गर्दाको समय उनले यही सेरोफेरोमा बिताएका थिए । केही वर्ष भारत अध्ययनका लागि गएका उनी नेपाल फर्किएर आएपछि भने व्यावसायमा लागे ।

अनलाइनमार्फत् विद्युतीय सामग्रीको बिक्री गर्नेदेखि क्याफे खोल्नेसम्मको व्यापारमा उनी हाल संलग्न छन् ।

गत साउन २७ बाट मात्रै उनले ‘माही क्याफे’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उक्त क्याफे तीनकुनेको बागमती कोरिडोर क्षेत्रअन्तर्गत महादेवस्थान जाने पुलको सामुन्ने सञ्चालनमा आएको छ ।

‘यो एरियामा मैले थाहा पाउँदासम्म पनि घारी थियो, दिउँसै मान्छे हिँड्न नै डराउने अवस्था थियो,’ बानिँया भन्छन्, ‘तर, अहिले हेर्ने हो भने यहाँ व्यावसाय एकदमै बढेको छ । ठूल्ठूला रेस्टुरेन्ट खुलेका छन् । मैले पनि आफू हुर्किएकै क्षेत्रमा केही गरौं लागेर यहाँ क्याफेको सुरुवात गरे ।’

तीनकुनेदेखि शंखमुलसम्मको कोरिडोर क्षेत्रसँग बानिँयाको भावनात्मक सम्बन्ध त छ नै, तर व्यावसायको शुरुवात गर्नका लागि भावनात्मक सम्बन्धमात्रै नभएर लगानी सुरक्षित हुन्छ भन्ने पनि महशुस हुनुपर्ने उनी बताउँछन् ।

भन्छन्, ‘मैले यहाँ क्याफे खोल्नुको पछाडि मेरो लगानी सुरक्षित हुन्छ भन्ने लागेरै खोलेको हो ।’

करिब ४२ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको छ उनको ‘माही क्याफे ।’ खासगरी कफी केन्द्रित भएको उनको रेस्टुरेन्टमा अन्य परिकारहरु पनि पाउँछन् ।

मासिक ४० हजार भाडा तिरेर सञ्चालनको सुरुवात भएको उक्त क्याफे भएको ठाउँमा यसअघि गोदाम थियो । वरिपरिका क्षेत्रमा अत्याधिक मात्रामा खुलेका रेस्टुरेन्टहरु देखेसँगै कोरिडोर क्षेत्रमा पनि व्यावसाय सुरक्षित हुने महसुस गरेकाले आफूले यहाँ व्यावसाय खोलेको बताउँछन् उनी ।

तीनकुने क्षेत्रको कोरिडोरदेखि शंखमुलस्थित ललितपुर र काठमाडौं जाने पार्क हुँदै युनएन पार्कसम्मै अहिले यस्ता थुप्रै रेस्टरेन्टहरु खुलेका छन् । लाखौंको लगानीमा कोरिडोर क्षेत्रमा खुलेका रेस्टुरेन्टहरुमा ग्राहकको आकर्षण पनि उत्तिकै छ ।

‘चियावाला’, ‘फुडबाटिका’, ‘रेल स्टेसन’, ‘हेल्लो बर्गर’, ‘पर्पला बिस्ट्रो एण्ड क्याफे’, ‘पिज्जा पार्लर’, ‘दोभान’, ‘झिर सेकुवा’ लगायतका दर्जनभन्दा धेरै रेस्टुरेन्टहरु यो कोरिडोर क्षेत्रमा सञ्चालनमा आएका छन् ।

तीनकुने हुँदै शंखमुलसम्मको यो क्षेत्रमा सुरुवातमा चियावाला खुलेको थियो । जंगलजस्तो घारीका बीच चलचित्रकर्मी गणेशदेव पाण्डेले एउटा चिया खाने र गफ गर्ने ठाउँको कल्पना गर्दै चियावालाको सुरुवात गरेका थिए ।

चियावालाका सञ्चालक पाण्डे

‘हिजो मैले यहाँ चियावाला खोल्दा मान्छेहरुले कस्तो ठाउँमा पसल खोलेको भन्ने गर्थे,’ पाण्डे भन्छन्, ‘अहिले यहाँ करोडौंको लगानी छ । दर्जनभन्दा धेरै रेस्टुरेन्टहरु छन् ।’

पाण्डेले २०७५ मा चियावालाको सुरुवात गरेका थिए । त्यसअघि कोरिडोर क्षेत्रमा व्यावसायिक रुपमा रेस्टुरेन्ट वा क्याफे सञ्चालनमा थिएनन् । धेरैमाझमा ‘लागु औषध खाने मान्छे हिँड्ने’ भन्दै परिचित कोरिडोर क्षेत्रमा जंगलसरहको घारी अवस्था थियो । बागमतीको फोहोर पानी गनाउनेदेखि यो क्षेत्रकै परिचय पनि खराब बनेको अवस्थामा पाण्डे आफूले चियावालाको सुरुवात गरेको बताउँछन् ।

‘त्यो बेला कुनै कुराको वास्तै नगरि मैले लगानी हालेर काम गरेको थिए,’ पाण्डे भन्छन्, ‘विस्तारै सबै कुरा फेरियो । अहिले यो ठाउँ नयाँ व्यावसायिक हबको रुपमा विकास भएको छ ।’

पाण्डेले कोरिडोर क्षेत्रमा खोलेको चियावालापछि २०७६ मा यही क्षेत्रमा कलाकार कामेश्वर चौरासियाले माछा तारेर बेच्न थालेका थिए । चौरासियाको उपस्थितिले पनि यो ठाउँलाई धेरै माझमा परिचित गराएको थियो ।

करिब १६ महिनाअघि यही कोरिडोर क्षेत्रमा खुलेको ‘रेल स्टेसन’का सञ्चालन सुदन बञ्जाडे कोरिडोर क्षेत्रमा अहिले खुलेका रेस्टुरेन्टहरुले यो क्षेत्रलाई नयाँ ‘हब’को रुपमा निर्माण गरेको बताउँछन् । बञ्जाडे भन्छन्, ‘यो ठाउँ अहिले जति मजाले विकास भएको छ, त्यसले पनि नयाँ व्यावसायहरु यहाँ खुल्न थालेका छन् । हामीले पनि सबैतिरबाट पायक पर्ने र अन्य व्यावसायिक ठाउँहरु भएकैले यहाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छौं ।’

‘यो क्षेत्र दोस्रो ठमेलको रुपमा विकास भइरहेको छ’, माही क्याफेका सञ्चालक बानियाँ भन्छन्, ‘आजभन्दा १० वर्ष जति अगाडि हेर्ने हो भने यहाँ पुरै घारी थियो । तर, अहिले यहाँ लाखौंको लगानीमा रेस्टुरेन्टहरु खुल्न थालिसकेका छन् । शंखमुल पारीको क्षेत्रसम्म बार क्लबसम्म खुलिसकेका छन् ।’

कुनै बेला मान्छे नै हिँड्न डराउने यो क्षेत्रमा कसरी यतिका धेरै व्यावसायिक रेस्टुरेन्टदेखि क्लबसम्म खुलेका छन् ? जवाफमा चियावालाका सञ्चालन पाण्डे भन्छन्, ‘यो ठाउँ सबैतिरबाट पायक पर्ने स्थानमा पर्छ । एयरपोर्ट होस्, बानेश्वर होस्, पाटन होस वा उता कोटेश्वर होस् । जता सुकै बाट पनि यो ठाउँमा आउन सजिलो छ । कोरिडोरको बाटो भएकाले जाम हुँदैन ।’

कोरिडोर क्षेत्रमा खुलेका रेस्टुरेन्ट तथा क्याफेहरुमध्ये प्रायः को पार्किङ सडकमै हुन्छ । खुला ठाउँ धेरै हुँदा उत्तिकै मात्रामा हरियाली र सुनसान पनि पाइने पाण्डे बताउँछन् ।

पछिल्ला केही वर्षमा बागमती कोरिडोर सरसफाई अभियानअन्तर्गत कोरिडोर क्षेत्रमा खुलेका पार्क, रोपिएका रुख तथा बनाइएका बगैंचाले पनि यो ठाउँलाई व्यावसायिक बनाउनमा ठूलो भूमिका खेलेको छ । माही क्याफेका सञ्चालक राहुल बानियाँकाअनुसार हाल यो क्षेत्रमा मदन भण्डारी पार्क, शंखमुल पार्क, युएन पार्कलगायतका थुप्रै पार्कहरु छन् ।

‘महादेवस्थान जाने पुलदेखि शंखमुल, युएन, मदन भण्डारीजस्ता पार्कहरु छन्,’ बानियाँ भन्छन्, ‘पार्कहरु खुलेपछि यो ठाउँमा मान्छेको चहलपहल बढेको हो । पहिले यहाँ पसल त थियो तर, यसरी व्यावसायिक प्रयोजनका लागि खुल्ने र यति धेरै संख्यामा खुल्ने अवस्था भइसकेको थिएन् ।’

रेल स्टेसन’का सञ्चालक बञ्जाडे आफूले कोरिडोरमै व्यावसाय सुरु गर्नुको कारण यो ठाउँ सबैतिरबाट पायक पर्ने भएको बताउँछन् । खुला तथा सुनसान ठाउँ तथा सबै क्षेत्रबाट आवतजावत गर्न पायक पर्ने भएकाले आफूले व्यावसायिक रुपमा रेस्टुरेन्ट सञ्चालन गर्न यहि ठाउँ पाएको उनी बताउँछन् ।

‘हाम्रो अगाडि युएन पार्क छ, बाटो पनि सबैतिरबाट जोडिने छ,’ बञ्जाडे भन्छन्, ‘हामीले खोल्नुअघि खुलेका क्याफे र रेस्टुरेन्टहरु राम्रोसँग चलेका थिए । हामीपछि खुलेकाहरु पनि निकै राम्रोसँग चलिरहेका छन् । ‘रेल स्टेसन’ कोरिडोर क्षेत्रमा रेस्टुरेन्टहरु चल्ने देखेपछि खोलेको हो ।’

यी क्षेत्रमा खुलेका रेस्टुरेन्ट तथा क्याफेहरुमा विद्यार्थीदेखि निजी क्षेत्रका उच्च आय भएका कर्मचारीहरुसम्मको आवतजावत छ । पछिल्लो समय खुलिरहेका रेस्टुरेन्टहरु धेरै लगानीका छन् भने शुरुवातको समयमा खुलेका रेस्टुरेन्ट तथा क्याफेको मूल्यसूची मध्यम किसिमको छ ।

‘यो ठाउँमा आउने कस्टुमर भनेको युवाहरु हुन्,’ चियावालाका सञ्चालक पाण्डे भन्छन्, ‘यता आउनका लागि आफ्नो दैनिक कामबाट फर्किने बाटो पर्छ । एयरपोर्टका कर्मचारीहरु पनि आउँछन् ।’

पाण्डे कोरिडोर क्षेत्र आउनका लागि आफ्नो नियमित नै बाटो पर्ने भएकाले पनि यो क्षेत्रमा अहिले मानिस तथा व्यावसायको उपस्थिति बढेको बताउँछन् ।

भन्छन्, ‘मान्छेको उपस्थिति बढेपछि नै त व्यावसाय पनि बढ्ने हो । यो ठाउँ सबैको दैनिक हिँड्ने बाटोमा पर्छ । ठमेल वा दरबारमार्ग जाँदाजस्तो समय निकाल्नु पर्दैन यहाँ आउन । कामबाट फर्किँदा पनि छिरेर केही खाएर गफ गरेर जान मिल्छ । त्यो कारण पनि यो ठाउँमा रेस्टुरेन्टहरु बढिरहेका छन् ।’

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार ००:००  १२ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping