बैंकहरुको बदमासीः सेयर कर्जालाई घरजग्गा धितोमा सारे, मन्दीको समयमै १३३%ले बढ्यो घरजग्गा कर्जा « Eglish Khabarhub

बैंकहरुको बदमासीः सेयर कर्जालाई घरजग्गा धितोमा सारे, मन्दीको समयमै १३३%ले बढ्यो घरजग्गा कर्जा



काठमाडौं । सरकारले गत जेठमा भूउपयोग नियमावली जारी गरेसँगै देशभर घरजग्गाको कारोबारमा उच्च प्रभाव परेको छ । मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएकोमा पछिल्लो समय ३५ हजार पनि हुन सकेको छैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षको सोही अवधिको तुलनामा ५३ प्रतिशतले कारोबार घटेको छ । गत वर्षको साउन र भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । जसमा गत साउनमा ७५ हजार ४१७ वटा र भदौमा ७० हजार ९० वटा घरजग्गा किनबेच भएको थियो ।

तर, चालु आवको साउन महिनामा देशभरका मालपोत कार्यालयबाट ३३ हजार ८३४ घरजग्गा किनबेच भएको छ भने भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएको छ ।

सरकारले गत जेठमा जारी गरेको भूउपयोग नियमावलीमार्फत् कित्ताकाटमा कडाइ गरेकाले साउन र भदौ महिनामा ३५ हजारको हाराहारीमा घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गर्दछ । सोही कडाइले गर्दा देशभरको घरजग्गा कारोबारमा मन्दी छाएको छ ।

तर, देशभर घरजग्गा कारोबारमा मन्दी छाएकै समयमा बैंकहरुको कर्जा प्रवाह भने अस्वाभाविक रुपमा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

राष्ट्र बैंकको तथ्याङ्अनुसार अधिकांश क्षेत्रमा जाने कर्जामा कमी आएपनि घरजग्गा क्षेत्रमा जाने कर्जा भने दोब्बर बढीले बढेको छ । गत वर्ष देशभर घरजग्गा उच्च कारोबार हुँदा बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब २१ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

तर, चालु आवको साउन महिनामा कारोबार ५० प्रतिशतभन्दा बढीले घट्दा पनि कर्जा प्रवाह भने १३३ प्रतिशतले बढेको छ । साउन महिनामा बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा डेढ करोडसम्मको आवासीय व्यक्तिगत घर क्षेत्रमा ४ अर्ब १६ करोड ९८ लाख रुपैयाँ र रियल स्टटेट कर्जा १२ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ प्रवाह भएको छ ।

गत वर्षको सोही अवधिमा डेढ करोडसम्मको आवासिय व्यक्तिगत घर कर्जामा ३६ करोड ४७ लाख रुपैयाँ र रियल स्टेटमा ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

साउन महिनामा डेढ करोडसम्मको आवासीय रियल स्टेट कर्जाअन्तर्गत २ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ, व्यवसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणका लागि ४६ करोड ७ लाख रुपैयाँ र आम्दानी हुने व्यवसायीक कम्प्लेक्समा १० करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यसैगरी, साउनमा अन्य रियल स्टेट (जग्गा खरिद तथा प्लटिङ)का लागि ९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमा जग्गा खरिद तथा प्लटिङ कर्जामा ६३ करोड ७६ लाख रुपैयाँ प्रवाह भएको छ । तर, कुनै पनि कारणबिना ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह हुनेमा यो महिना प्रवाह भएको देखिँदैन । गत वर्ष साउन महिनामा कुनै निश्चित उद्देश्यबिना ५० लाख रुपैयाँसम्म जाने कर्जामा २ अर्ब २९ करोड रुपैयाँ प्रवाह भएको थियो ।

साथै, साउन महिनामा रियल स्टेट कर्जाअन्तर्गत अन्य क्षेत्रमा १२ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ प्रवाह भएको छ ।

त्यस्तै, राष्ट्र बैंकको तथ्याङ्अनुसार हालसम्ममा डेढ करोडसम्म आवासीय व्यक्तिगत घरकर्जा र रियल स्टेट क्षेत्रमा ५ खर्ब ८२ अर्ब ८५ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमा डेढ करोडसम्म आवासीय व्यक्तिगत घर कर्जाअन्तर्गत ३ खर्ब ४१ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ र रियल स्टेट क्षेत्रमा २ खर्ब ४० अर्ब ८८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

हालसम्ममा देशभरका बैंक तथा वित्तिय संस्थाबाट डेढ करोडसम्मको आवासीय रियल स्टेट कर्जाअन्तर्गत ६४ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, व्यवसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणका लागि २५ अर्ब ७२ करोड ३१ लाख रुपैयाँ र आम्दानी हुने व्यवसायीक कम्प्लेक्स क्षेत्रमा ७ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यसैगरी, अन्य रियल स्टेट (जग्गा खरिद तथा प्लटिङ)का लागि १ खर्ब ४३ अर्ब ८ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमा जग्गा खरिद तथा प्लटिङ कर्जामा ३६ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ, उद्देश्यबिहिन लिइने कर्जा ५७ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ र अन्यमा ४८ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

कसरी यस्तो भयो ?

राष्ट्र बैंकले गत आर्थिक वर्षको भदौ ८ गते बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै सेयर धितो कर्जामा कडाइ गरेको थियो । राष्ट्र बैंकले उक्त परिपत्र जारी भएको मितिले १ वर्षभित्र कुनै बैंक संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी ऋण लिनज नपाइने व्यवस्था गर्यो । जसअनुसार ०७९ भदौ ८ गतेभित्र बैंकिंग प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी ऋण लिएका ऋणीहरुले उक्त सीमाभित्र झारिसक्नुपर्ने बाध्यता भयो ।

‘पछिल्लो समय सेयर बजार घटेकाले ठूला ऋणीहरुले उक्त ऋण तिरेका छैनन्, उनीहरुले सेयर कर्जा तिरेनन् । अनि आफूसँग भएको जग्गा धितो राखेर सेयरमा भएको कर्जाको शिर्षक मात्रै सारे, जसले गर्दा घरजग्गामा अस्वाभाविकरुपमा कर्जा बढेको देखिएको हो,’ एक बैंकरले भने ।

लगानीयोग्य पुँजीको चरम अभाव झेलिरहेका बैंकहरुले नयाँ कर्जा ठप्प जस्तै बनाएका छन् । किनभने, साउन महिनामा बैंकहरुको निक्षेप झन्डै डेढ खर्ब रुपैयाँले कमी छ । तर, एक महिनामै घरजग्गामा १६ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा सेयर धितो राखेर लिने कर्जा ३ अर्ब ७० करोड रुपैयाँले ऋणात्मक छ । साउन महिनासम्ममा बैंकहरुको सेयर धितोमा कुल ७६ अर्ब ८० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्

‘मैले सेयर बिक्री गरिँन, सेयर धितोको ठाउँमा जग्गा धितो राखेर ऋण थामेँ,’ एक व्यवसायीले भने, ‘नीतिगत अस्थिरताले हामीजस्ता व्यवसायी र लगानीकर्ता मारमा परेका छौं ।’

राष्ट्र बैंकका अधिकारीहरु भने पछिल्ला गतिविधिलाई आफूहरुले शुक्ष्म निगरानी गरिरहेको बताउँछन् ।

Publish on: