काठमाडौं । उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ । गत वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशत घटेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गत वर्षको साउन, भदौ र असोज महिना गरी उपत्यकामा २८ हजार ५०१ घरजग्गा किनबेच भएको थियो । तर, यो वर्ष उक्त संख्या घटेर १० हजार २७७ वटा घरजग्गा लिखित पारित भएको छ ।
उपत्यकामा ९ वटा मालपोत कार्यालय छन् । उक्त कार्यालयबाट चालु आर्थिक वर्षको साउन महिनामा ३२ सय १६ वटा, भदौ महिनामा ४३ सय र असोजमा २७ सय ६१ वटा घरजग्गा किनबेच भएको छ ।
जबकी, गत वर्षको साउन महिनामा मात्रै उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट १० हजार १४४ घरजग्गा किनबेच भएको थियो । त्यस्तै, भदौमा ९ हजार २३१ वटा र असोजमा ९ हजार १२६ वटा घरजग्गा किनबेच भएको छ ।
विगतको दिनमा उपत्यकामा मासिक ९ हजार बढी घरजग्गा किनबेच हुँदै आएकोमा पछिल्लो समय ३५ सय हाराहारीमा सिमित भएको छ ।
पछिल्लो समय घरजग्गा किनबेचमा कमी आउनुको मुख्य कारण भू–उपयोग नियमावलीलाई मानिएको छ । विभागका सूचना अधिकारी विष्णुकुमार महतले पछिल्लो समय घरजग्गा किनबेचमा कमी आउनुमा भू–उपयोग नियमावली रहेको बताउँछन् ।
सरकारले देशभर भइरहेको जग्गा खण्डीकरणलाई न्यूनिकरण गर्न उक्त नियमावली जारी गरेको थियो । जारी गरिएको भू–उपयोग नियमावलीमार्फत् कित्ताकाटमा उच्च कडाइ गर्दा कारोबार नै प्रभावित भएको देखिन्छ ।
उनकाअनुसार जग्गा वर्गीकरण स्थानीय तहबाट हुन्छ । तर, त्यस कार्यमा अग्रसर हुन नसक्दा कारोबारमा मन्दी आएको छ । ‘सरकारले जग्गा वर्गीकरणको कार्यलाई अनिवार्य गरिएको छ । तर, देशभरका स्थानीय तहले वर्गीकरणको कार्यलाई प्राथमिकतामा नराख्दा कारोबार प्रभावित भएको छ,’ उनले भने । देशभरका स्थानीय तहबाट पनि जग्गा वर्गीकरणको समस्याले गर्दा कारोबार गर्न कठिन भएको गुनासो आइरहेको उनको भनाइ छ ।
अहिले मुख्य शहरहरुको कारोबार अप्रत्याशित रुपमा घटेको छ । महतका अनुसार पछिल्लो समय शहर केन्द्रित नभएर अन्य कम विकासको स्थानहरुमा मात्रै कित्ताकाटको कार्य भइरहेको छ ।
त्यससँगै, सरकारले जग्गाको कारोबारलाई कम गर्न विभिन्न नीति अगाडि बढाएकाले पनि यसको प्रभाव देखिन थालेको उनले बताए ।
सरकारले जग्गा कित्ताकाटमा कडाइ गरेको छ भने अर्कोतर्फ तरलता अभावका कारण बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाहमा कडाइ गरेको छ । जसले गर्दा घरजग्गा कारोबार दोहोरो चेपुवामा परेको घरजग्गा व्यवसायीहरू बताउँछन् ।
उनीहरूका अनुसार सरकारले तरलता अभावका कारण कर्जा प्रवाहमा उल्लेख्य हुन सकेको छैन । त्यसैले पनि घरजग्गा किनबेचमा मन्दी छाएको छ । राष्ट्र बैंकले तरलता अभावका कारण कम उत्पादन क्षेत्रमा लगानी नगर्नु भन्ने धारणाले पनि घरजग्गा किनबेचमा असर पुगेको व्यवसायीहरूको भनाइ छ ।
त्यस्तै, मौद्रिक नीतिमा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखि निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको ‘फेयर मार्केट भ्यालु’बीचको अनुपात काठमाण्डौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाले पनि घरजग्गा किनबेचमा ठूलो असर पारेको व्यवसायीहरूको भनाइ छ । घरजग्गा व्यवसायी अधिराज राईले भूउपयोग नियमावलीको प्रभाव त छँदैछ, त्यसमा तरलता अभावले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा पनि वृद्धि गराएकाले घरजग्गाको कारोबार चेपुवामा परेको बताए ।
उनकाअनुसार घरजग्गा खरिदका लागि ठूलो रकमको जोहो गर्नुपर्नेछ । बैंक तथा वित्तिय संस्थाले सजिलै कर्जा प्रवाह गरेको छैन । त्यसमा पनि ब्याजदर ह्वात्तै वृद्धि गरेकाले घरजग्गा किनबेचमा मन्दी अझै लम्बिनेछ ।
त्यसैगरी, कात्तिकदेखि कर्जाको ब्याज झनै बढ्ने बैंकहरुले जनाएका छन् । बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्जाको ब्याज भने बढाउने भएका छन् । अहिले भएको ब्याजदर झनै बढे घरजग्गा कारोबार झनै मन्दितर्फ जाने व्यवसायीहरुको भनाइ छ ।
तीन महिनामा कुन मालपोतबाट कति जग्गा किनबेच ?
उपत्यकामा रहेको ९ वटा मालपोत कार्यालमध्ये चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट किनबेच भएको छ ।
भक्तपुरबाट ३ महिनाको अवधिमा २२ सय ४२ वटा घरजग्गा किनबेच भएको छ । त्यसपछि लगनखेल ललितपुरबाट २२ सय २३ घरजग्गा किनबेच भएको छ ।
त्यस्तै, कलंकीबाट १८ सय ३७ वटा, साँखुबाट १५ सय ६७ वटा, चावहिलबाट १२ सय ८९ वटा, डिल्लिबजारबाट ४७५ वटा, टोखाबाट ३४० वटा, मनमैजुबाट २५४ र ललितपुरबाट ५० वटा घरजग्गा किनबेच भएको विभागको तथ्याङ्कले देखाउँछ ।
गत वर्षको सोही अवधिमा भक्तपुरबाट ६ हजार ८३२ वटा, ललितपुरबाट ६ हजार ६८२ वटा, कलंकीबाट ५ हजार ६२५ वटा, साँखुबाट ३ हजार ४४३ वटा, चावहिलबाट २ हजार ८३२ वटा, डिल्लीबजारबाट ११ सय ८४ वटा, टोखाबाट ११ सय ५८ वटा, मनमैजुबाट ६५९ वटा र गोटीखेल ललितपुरबाट ८६ वटा घरजग्गा किनबेच भएको छ ।
राजस्वमा ६७ प्रतिशतले कमी
उपत्यकाको कारोबार घटेसँगै राजस्व पनि ६७ प्रतिशतले घटेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीन महिनामा गत वर्षको तुलनामा ६७ प्रतिशतले राजस्व संकलनमा कमी आएको छ ।
गत वर्षको शुरुवाती महिनाहरुमा उपत्यकाबाट मात्रै मासिक ३ अर्ब बढी राजस्व संकलन गर्दै आएको उपत्यकाको मालपोत कार्यालयहरुले यो वर्ष १ अर्बको हाराहारीमा मात्रै राजस्व संकलन गरेको छ ।
विभागअनुसार गत वर्ष उपत्यकाको मालपोत कार्यालयबाट १० अर्ब ९ करोड २० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, यो वर्ष उक्त मालपोत कार्यालयहरुबाट ३ अर्ब ३७ करोड २० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जुन ६६.५८ प्रतिशतले कमी हो ।
SHARE YOUR THOUGHTS