![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्षमा एक पटक भन्दा बढी नविकरण शुल्क लिने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकले कात्तिक १४ गते बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा ‘एक वर्षमा एक पटकभन्दा बढी कर्जा नवीकरण गरी राष्ट्र बैंकको निर्देशनको मर्म विपरित वर्षमा एक पटकभन्दा बढी नवीकरण शुल्क लिए नलिएको विषयमा प्रष्ट पार्न’ भनिएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पठाएको पत्रमा कति ऋणीसँग कति रकममा वर्षमा दुई पटक, तीन पटक र चार पटक कति नवीकरण शुल्क लिइयो भन्ने विषयमा समेत प्रष्ट पार्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले कात्तिक ३० गतेभित्र सबै विवरण उपलब्ध गराउन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले जारी गरेको सर्कुलरको मर्म वर्षमा एक पटक १ प्रतिशतभन्दा सेवा शुल्क लिन मिल्दैन भन्ने भएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
‘जसरी हामीले नियम विपरित लिएको ब्याज फिर्ता गराएका छौं, त्यसै गरी राष्ट्र बैंकको सर्कुलरको मर्म विपरित असुल गरेको सेवा शुल्क पनि फिर्ता हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘बैंकले राष्ट्र बैंकको सर्कुलरको अनावश्यक लाभ लिन पाउँदैन ।’
केही बैंकले वर्षमा चारपटक सम्म कर्जा नवीकरण शुल्क लिने गरेको भन्दै केही ऋणीले राष्ट्र बैंकमा उजुरी गरेका थिए ।
गत असोजमा अर्थ मन्त्रालयले बैंक तथा वित्तीय क्षेत्रका समस्याका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको नेतृत्वमा गठित समितिको बैठकमा उद्योगीहरुले केही बैंकले वर्षमा चार पटक सेवा शुल्क दिने गरेको गुनासो गरेका थिए ।
SHARE YOUR THOUGHTS