![](https://internal.appharu.com/wp-content/uploads/2023/02/chandra-dhakal-2.bmp)
सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताए ।
सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सीमित भएको उनको भनाइ थियो ।
सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनगरी परिमार्जन गर्न आवश्यक रहेको ढकालको भनाइ थियो ।
‘सरकारले तालिम र युवाहरुलाई स्वरोजगारको नाममा जुन बजेट विनियोजित गरिरहेको छ । त्यसमा वार्षिक रुपमा ४ अर्ब बढी तालिम र स्वरोजगारको नाममा खर्च हुने गरेको छ । त्यसले परिणाम भन्दा पनि तालिमको लागि तालिम मात्रै भएको छ’ ढकालले भने, ‘ कुनैपनि तालिम व्यवसायी र व्यवहारिक देखिएको छैन । सरकारले बजेटमा सरकारले परिमार्जन गर्न जरुरी छ । बजेटमा सरकारलाई कस्तो किसिमको जनशक्ति आवश्यक हो । त्यस्तो किसिमको व्यवहारिक र दक्षता बनाउने गरी तालिम दिन सक्नुपर्छ । सरकारले यस्तो कार्यक्रममा खर्च गर्दा रिजल्ट आउने किसिमले खर्च गर्नुपर्छ ।’
सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताउँदै उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिनु पर्ने बताए ।
उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको उनले बताए ।
उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भए पनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको ढकालको भनाइ थियो ।
SHARE YOUR THOUGHTS