लाभांश नबाँडेका र नोक्सानमा रहेका कम्पनीमा लगानीकर्ताको आकर्षण « Eglish Khabarhub

लाभांश नबाँडेका र नोक्सानमा रहेका कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको मुख्य सिभिल निर्माण २०६७ भदौ १७ गते सुरु भयो । २०६८ जेठ ४ गते आयोजनाको शिलान्यास गरियो ।

करिब १ दशकपछि गत आर्थिक वर्षदेखि आयोजनाले बल्ल विद्युत उत्पादन गर्यो । कम्पनी नाफामा जान केही वर्ष अझै लाग्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकअनुसार आयोजना ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानमा छ ।

कम्पनीले सेयरधनीलाई कहिलेदेखि लाभांश दिन्छ भन्ने पत्तो छैन । तर, कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण राम्रै छ । कम्पनीको बिहीबारको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४६५ रुपैयाँ छ ।

बिहीबार मात्रै तामाकोसीको २ करोड २३ लाख मूल्यबराबरको ४७ हजार ६५३ कित्ता सेयर किनबेच भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार तामाकोसीको सेयर बिहीबार ४३१ पटक खरिद-बिक्री भएको छ ।

अर्को नोक्सानमा रहेको कम्पनी हो, स्वेतगंगा हाइड्रोपावर । यो कम्पनी पुस मसान्तसम्म ९४ लाख ८८ हजार ८४७ रुपैयाँ नोक्सानमा छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८६ रुपैयाँ छ ।

२ करोड ६३ लाख ६३ हजार रुपैयाँ नोक्सानमा रहेको मध्येभोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्य पनि ३०१ रुपैयाँ छ । यी कम्पनीले सेयरधनीलाई अहिलेसम्म लाभांश दिएका छैनन ।

तर, गत वर्षको नाफाबाट लगानीकर्तालाई १२.५ प्रतिशत लाभांश दिएको बुटवल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ छ । पुस मसान्तसम्म कम्पनीको नाफा २२ करोड ८७ लाख १७ हजार रुपैयाँ थियो ।

लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश दिएको कालिका पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८६ रुपैयाँ छ । पुस मसान्तसम्म कम्पनीको नाफा ५ करोड ५८ लाख ४३ हजार ८४६ रुपैयाँ छ । लगानीकर्तालाई ७.८९ प्रतिशत लाभांश दिएको अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५२ रुपैयाँ छ ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश नै नदिएका कम्पनी मैलुङखोलाको सेयर मूल्य ४४४ रुपैयाँ, सयपत्री हाइड्रोपावरको ४४५ रुपैयाँ, सामलिङ पावरको ५७० रुपैयाँ र अप्पर हेवाखोलाको ४१७ रुपैयाँ छ ।

नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार सेयर लगानीकर्तामा वित्तीय साक्षरता नहुँदा कस्ता कम्पनीमा लगानी गर्ने, कस्तामा नगर्ने, कहिले गर्ने जस्ता कुरामा अनभिज्ञ रहने बताउँछन् । ‘सेयर लगानीकर्तामा वित्तीय साक्षरता भएन, मेहनत गरेर आर्जन गरेको पैसा कहाँ लगानी गर्ने ? कस्ता कम्पनी छनोट गर्ने ? कम्पनीको नेटवर्थ कति छ ? कम्पनीमा सञ्चालक कस्ता छन् ? केही हेरिँदैन,’ उनी भन्छन्, ‘लहडको भरमा लगानी गर्दा अहिलेको अवस्था आएको हो ।’

अहिले लगानीकर्ताले बुझ्दै नबुझी लगानी गर्दा ‘सेता हात्ती’ जस्ता आयोजनाको सेयर मूल्य माथि पुगेको र लगानीकर्तालाई धेर-थोर लाभांश दिएका र नाफा राम्रो आर्जन गरेका कम्पनीको सेयर मूल्य न्यून रहेको उनको भनाइ छ ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिएको रुरु जलविद्युत कम्पनीको सेयर मूल्य बिहीबार ७३३ रुपैयाँ छ । कम्पनीले पुस मसान्तसम्म ५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ ।

५.२६ प्रतिशत लाभांश दिएको सानिमा माई कम्पनीको सेयर मूल्य ३१४ रुपैयाँ छ । पुस मसान्तसम्म कम्पनीले ३२ करोड ९२ लाख ५४ हजार रुपैयाँ नाफा गरेको छ । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिएको छ । कम्पनीको सेयर मूल्य ३५० रुपैयाँ छ ।

युनाइटेड आइडीआई मर्दी आरबी आइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिएको छ । कम्पनीको सेयर मूल्य ५०१ रुपैयाँ छ ।

यस्तै ४२.१ प्रतिशत लाभांश दिएको रिडी पावर कम्पनीको सेयर मूल्य ३४६ रुपैयाँ छ भने ५ प्रतिशत लाभांश दिएको राधी विद्युत कम्पनीको सेयर मूल्य २५९ रुपैयाँ छ ।

सेयरधनीलाई ५ प्रतिशत लाभांश दिएको ङादी ग्रुपको सेयर मूल्य भने २६६ रुपैयाँ, १०.५२ प्रतिशत लाभांश दिएको माउन्टेन इनर्जीको ७६६ रुपैयाँ, ७.८९ प्रतिशत लाभांश दिएको अपी पावरको २५२ रुपैयाँ, ५.०२ प्रतिशत लाभांश दिएको नेपाल हाइड्रो डेभलोपर्सको ३८८ रुपैयाँ, अरुण काबेली पावरले १०.५२ प्रतिशत लाभांश दिएको छ । कम्पनीको सेयर मूल्य भने ३९४ रुपैयाँ छ।

यस्तै ८.४२ प्रतिशत लाभांश दिएको अरुण भ्यालीको सेयर मूल्य २९२ रुपैयाँ, युनाइटेड मोदीको सेयर मूल्य २७० रुपैयाँ छ । कम्पनीले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिएको छ ।

युनाइटेड मोदी हाइड्रोले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिएको छ । कम्पनीको सेयर मूल्य भने २७० रुपैयाँ छ । सेयरनीलाई १५ प्रतिशत लाभांश दिएको चिलिमे हाइड्रोपावरको सेयर मूल्य ४७२ छ भने मन्दाकिनी हाइड्रोले लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिएको छ । सेयर मूल्य भने ३७९ रुपैयाँ छ । यस्तै सेयरधनीलाई ५.०२ प्रतिशत लाभांश दिएको विन्ध्यवासिनी हाइड्रोको सेयर मूल्य ४१२ रुपैयाँ छ ।

सेयरधनीको हात खाली बनाएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ३५० रुपैयाँ, माउन्टेन हाइड्रोको २९५ रुपैयाँ, युनियन हाइड्रोको २३० रुपैयाँ, सिनर्जी पावरको २९८ रुपैयाँ, बरुण हाइड्रोको २५७ रुपैयाँ र नेसनल हाइड्रोको २३८ रुपैयाँ सेयर मूल्य छ ।

उल्लिखित तथ्यांकले सेयर लगानीकर्ताले कम्पनीको अवस्था, कम्पनीले दिने लाभांशलगायत वित्तीय सूचक नहेरी लगानी गर्ने गरेको देखाउँछ । रौनियारले लगानीकर्तालाई लहडमा या अरुको लहैलहैमा लागेर लगानी नगर्न र मेहनत गरेर आर्जन गरेको सम्पत्ति खाल्डामा नहाल्न सुझाव दिएका छन् ।

Publish on: