अमेरिकाले ६६ वस्तुमा भन्सार छुट दिँदा पनि बढेन निर्यात « Eglish Khabarhub

अमेरिकाले ६६ वस्तुमा भन्सार छुट दिँदा पनि बढेन निर्यात



काठमाडौं । विश्वका १५० भन्दा बढी देशसँग व्यापार गर्दै आएको नेपालले निकै कम देशसँग मात्रै नाफा गरेको छ । आयातमा उच्च निर्भर हुँदा नेपालले वार्षिक खर्बौं रुपैयाँको व्यापार घाटा व्यहोर्दै आएको छ ।

नेपालले वैदेशिक व्यापार गर्ने देशमध्ये अमेरिकासँग वैदेशिक व्यापार सकारात्मक छ । नेपालबाट कार्पेट, गार्मेन्ट, छुर्पीलगायतका वस्तु आयात गर्ने अमेरिकासँग नेपालले नाफाको व्यापार गरिरहेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार डेनमार्कपछि अमेरिकासँग नेपालले चालू आर्थिक वर्षको ७ महिनामा ८ करोड ७६ लाख २३ लाख रुपैयाँ नाफा गरेको छ । नेपालले अमेरिकाबाट १० अर्ब ६४ करोड रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट १० अर्ब ७३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिका र नेपालबीच मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध छ । व्यापारिक सम्बन्ध पनि अन्य देशको तुलनामा सौहार्द्रपूर्ण छ ।

सन् २०१६ फेब्रुअरी २५ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले नेपाललाई प्राथमिकता राखेर विशेष व्यापार अधिकार दिने सम्झौता गरेका थिए । सम्झौतामा अमेरिकाले नेपालबाट लैजाने ६६ वस्तुमा भन्सार छुटको व्यवस्था गरेको छ।

अमेरिकाले गलैंचा, टोपी, सल, स्कार्फ र विभिन्न प्रकारका सामानमा विशेष छुट पाइरहेको छ । छुट सुविधा सन् २०२५ सम्म प्राप्त हुनेछ । अमेरिकाले नेपालको निर्यात प्रोत्साहनका लागि भन्सार छुट दिए पनि निर्यात भने बढ्न नसकेको सरकारी तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार ६६ वटा वस्तुमा भन्सार छुट नभएको अवस्थामा पनि नेपालले करिब १० अर्ब रुपैयाँबराबरको वस्तु निर्यात गर्दै आएको थियो । अहिले पनि सोही मूल्यबराबरको वस्तु निर्यात भइरहेको छ ।

अहिले निर्यात मूल्य उच्च देखिए पनि परिमाणमा भने सुधार हुन सकेको छैन । अमेरिकाले दिएको सुविधामा नेपालले फाइदा लिन सकेको छैन । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका सूचना अधिकारी लक्ष्मी जोशी अमेरिकाले नेपालको वैदेशिक व्यापारमा प्रोत्साहन गर्दै भन्सार छुटको व्यवस्था गरे पनि नेपालले फाइदा लिन नसकेको बताउँछिन् ।

उनका अनुसार नेपालबाट निर्यात हुने वस्तुको मुख्य बजारमा अमेरिका पनि हो । नेपालबाट अमेरिकामा ठूलो मात्रामा टेक्सटायल, कार्पेटलगायतका वस्तु निर्यात हुँदै आएकोमा थप सुविधा प्राप्त गरे पनि निर्यात बढ्न सकेको छैन ।

‘अमेरिकाले विभिन्न ६६ वटा वस्तुको एचएसएन कोड नै तोकेर भन्सार छुटको व्यवस्था गरेको छ,’ उनले क्लिकमान्डुसँग भनिन्, ‘कतिपय एचएसएन कोडका वस्तु नेपालमा उत्पादन नै नहुने भएकाले निर्यात बढ्न नसकेको देखिन्छ ।’

नेपालले उत्पादन गर्दै आएको वस्तुको परिमाण पनि बढाउन नसक्दा अमेरिकासँगको व्यापार झनै खस्किँदै गएको उनको भनाइ छ । सूचना अधिकारी जोशीका अनुसार नेपालले उत्पादनमा जोड दिन नसक्दा पनि अमेरिकाले दिएको सुविधाको लाभ लिन नसकेको हो ।

‘नेपालमा अहिले पनि उद्योगी व्यवसायीले परम्परागत शैलीमा वस्तु उत्पादन गर्दै आएका छन्,’ उनले भनिन्, ‘जसले गर्दा उत्पादनको अवस्था कमजोर हुँदा अपेक्षाकृत लाभ लिन नसकिएको हो ।’

नेपालका उद्योगी व्यवसायीले पनि उत्पादनमा जोड दिन सकेको देखिँदैन । अहिले विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगले छिटोभन्दा छिटो धेरै उत्पादन हुने गरी प्रविधिको विकास भइसकेको छ । तर, नेपालबाट निर्यात हुने वस्तुमा ठूलो लगानी भएको देखिँदैन । त्यसले गर्दा पनि अमेरिकाले नेपाललाई दिएको सुविधाबाट व्यापार बढ्न नसकेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका प्रशासनिक र कानुनी अड्चनका कारण व्यवसायी हतोत्साहित हुँदा उत्पादनमूलक उद्योग स्थापना हुन नसकेको बताउँछन् । ‘उद्योग स्थापनामा जोखिम नै जोखिम छ,’ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा उनले भने, ‘त्यसबाट पार पाउन उद्योगी व्यवसायी ट्रेडिङतिर गइरहेका छन् ।’

प्रशासनिक र कानुनी समस्याकै कारण नेपालमा उद्योग स्थापना गर्दा लागत एकदमै बढी हुने उनले बताए । ‘यसले उद्योगीलाई निरुत्साहित बनाएको छ,’ मुरारकाले भने । व्यवसायी उद्योगबाट व्यापारतिर सरिरहँदा वैदेशिक व्यापार खस्किँदै गएको हो ।

नेपालले आर्थिक वर्ष २०७०/७१ सम्ममा अमेरिकाबाट आयात गर्नेभन्दा बढी रकमको वस्तु निर्यात गर्दै आएको तथ्यांकले देखाउँछ । त्यस्तै, नेपालले आर्थिक वर्ष २०७२/७३ मा साढे ९ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात गर्दै आएकोमा गत वर्ष १८ अर्ब रुपैयाँबराबरको निर्यात भएको छ ।

प्रवर्धन केन्द्रका अनुसार अमेरिकामा निर्यात हुँदै आएका अन्य वस्तुको निकासी बढे पनि भन्सार छुट दिइएका वस्तुको परिमाणात्मक रुपमा निर्यात बढेको छैन ।

अधिकांश वस्तुको कच्चा पदार्थसँगै उत्पादन र ढुवानी लागत उच्च भएकाले मूल्य बढी देखिएको हो । तर, परिमाणमा वस्तुको निर्यात बढ्न नसकेको केन्द्रले जनाएको छ ।

तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०६९/७० मा ५ अर्ब ७५ करोड, २०७०/७१ मा ७ अर्ब ५८ करोड, २०७१/७२ मा ७ अर्ब ७९ करोड र आव २०७२/७३ मा ९ अर्ब ३४ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ९७ करोड, २०७४/७५ मा ९ अर्ब १७ करोड, २०७५/७६ मा १० अर्ब ८४ करोड, २०७६/७७ मा ९ अर्ब ४४ करोड, २०७७/७८ मा १३ अर्ब ७९ करोड र आव २०७८/७९ मा १७ अर्ब ९९ करोड रुपैयाँको वस्तु अमेरिका निर्यात भएको छ । चालू आर्थिक वर्षको ७ महिनामा १० अर्ब ७४ करोड रुपैयाँको वस्तु अमेरिका निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

Publish on: