वालेट प्रयोगकर्ताको संख्या १ करोड ६१ लाख, एक वर्षमा ४६ प्रतिशत वृद्धि « Eglish Khabarhub

वालेट प्रयोगकर्ताको संख्या १ करोड ६१ लाख, एक वर्षमा ४६ प्रतिशत वृद्धि



काठमाडौं । नेपालमा एक वर्षमा विद्युतीय वालेट प्रयोगकर्ताको संख्या ४६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष माघमा १ करोड १० लाख ११ हजार वालेट प्रयोगकर्ता रहेकोमा २०७९ माघसम्ममा बढेर १ करोड ६१ लाख २६ हजार पुगेका छन् । यो वृद्धिदर ४६ प्रतिशतभन्दा धेरै हो ।

एक महिनामा वालेट प्रयोगकर्ताको संख्या करिब २ लाख बढेको छ । पुसमा वालेट प्रयोगकर्ताको संख्या १ करोड ५९ लाख ६२ हजार थियो ।

वालेटबाट हुन भुक्तानीमा पनि उच्च वृद्धि भएको छ । वालेटबाट गत वर्षको माघमा मात्रै १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको भुक्तानी भएकोमा गएको माघमा १ खर्ब ७१ अर्ब रुपैयाँबराबरको भुक्तानी भएको छ ।

माघको भुक्तानी पुसको भन्दा थोरै हो । गएको पुसमा १ खर्ब ८२ अर्बको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत वर्षको माघको तुलनामा कारोबार संख्यामा पनि उच्च वृद्धि छ । २०७८ माघमा १ करोड २९ लाख पटक कारोबार भएकोमा २०७९ माघमा मात्रै १ करोड ६९ लाख पटक कारोबार भएको छ ।

नेपालमा आईएमई पे, ई-सेवा, खल्तीलगायतका वालेटले विद्युतीय भुक्तानी सेवा दिइरहेका छन् । वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बिमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानीलगायत गर्न सक्छन् ।

वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवाप्रदायकले ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो ।

Publish on: