मोबाइल बैंकिङबाट एकै महिनामा २ करोड २२ लाख पटक कारोबार, १ खर्ब ७२ अर्ब भुक्तानी « Eglish Khabarhub

मोबाइल बैंकिङबाट एकै महिनामा २ करोड २२ लाख पटक कारोबार, १ खर्ब ७२ अर्ब भुक्तानी



काठमाडौं । मोबाइल बैंकिङबाट हुने भुक्तानीमा उच्च वृद्धि देखिएको छ । मोबाइल बैंकिङबाट एकै महिनामा २ करोड २२ लाख पटक कारोबार भएको छ भने १ खर्ब ७२ अर्ब भुक्तानी भएको हो ।

गत वर्षको माघको तुलनामा मोबाइल बैंकिङबाट हुने भुक्तानी ८५ प्रतिशतले बढेको हो । गत वर्ष माघमा मोबाइल बैंकिङबाट १ करोड ३८ लाख पटकमा ९२ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यासँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत वर्ष माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख रहेकोमा २०७९ माघमा २ करोड ३६ हजार नाघेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता पुसको तुलनामा भने माघमा घटेका हुन् । पुसमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ५३ हजार थियो ।

त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १ वर्षमा बढेर १५ लाख ८३ हजारबाट बढेर १७ लाख ६४ हजार पुगेको छ ।

इन्टरनेट बैंकिङबाट माघमा १२ अर्ब ४१ करोड रुपैयाँको भुक्तानी भएको छ । इन्टरनेटबाट हुने भुक्तानी भने घट्दो क्रममा छ । २०७८ माघमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी १२ अर्ब ८९ करोडभन्दा बढी थियो ।

मोबाइल बैंकिङको बढ्दो प्रयोगले इन्टरनेट बैंकिङको चाप घटेको हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या भने उल्लेख्य बढेको छ । २०७८ माघसम्म ७ लाख ९३ हजार रहेको कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या २०७९ माघसम्ममा बढेर १० लाख २२ हजार नाघेको छ ।

कनेक्ट आईपीएसबाट हुने भुक्तानी पनि बढेको छ । कनेक्ट आईपीएसबाट २०७८ माघमा मात्रै २ खर्ब २६ अर्ब भुक्तानी भएको थियो भने २०७९ माघमा ३ खर्ब २८ अर्बभन्दा बढी भुक्तानी भएको छ ।

Publish on: