![](https://internal.appharu.com/wp-content/uploads/2022/05/cibifin-768x432.jpg)
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थामा धरपकड गर्ने, कार्यालय बन्द गर्न पत्र पठाउने जस्ता अराजक गतिविधिहरुप्रति खेद व्यक्त गरेको छ ।
विभिन्न व्यावसायिक संस्थाहरुले मंगलबार मकवानपुर जिल्ला, हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र पठाएर धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरु गरेको भन्दै खेद प्रकट गरेको छ ।
‘जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट पहिल्याउन सकिने मान्यता बमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको लागि तत्काल आवश्यक पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई हार्दिक आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ जस्तो अत्यावश्यक सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।
SHARE YOUR THOUGHTS