३ वटा निर्जीवन बीमा कम्पनीले मात्रै पुर्‍याए पुँजी, मर्जरमा जानेले हकप्रद जारी गर्न पाउने « Eglish Khabarhub

३ वटा निर्जीवन बीमा कम्पनीले मात्रै पुर्‍याए पुँजी, मर्जरमा जानेले हकप्रद जारी गर्न पाउने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिएपछि बीमा बजारमा हालसम्म जीवन र निर्जीवन गरी २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् ।

जसमध्ये हालसम्म १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन् । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये आठ निर्जीवन बीमा कम्पनी चार वटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याउनुअघि बीमा बजारमा २० वटा कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आएका थिए । पुँजी वृद्धिको नीति लिएपछि हाल उक्त संख्या घटेर १६ वटामा कायम भएको छ । प्रक्रियामा रहेका सबै कम्पनीको मर्जर सफल भए बजारमा निर्जीवन बीमा कम्पनीको संख्या १४ वटामा सीमित हुनेछ ।

निर्जीवन बीमा कम्पनीतर्फ ३ वटाले मात्रै तोकिएको समय अगावै तोकिए बमोजिमको चुक्ता पुँजी वृद्धि गरेका छन् । शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीको चुक्ता पुँजी नियामकले तोकेको न्यूनतम पुँजी पुगेको हो ।

शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । सगरमाथा र लुम्बिनी जनरलले ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट संयुक्त कारोबार सुरु गरेका छन् ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको १००:८० सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा सहमति भएको हो । मर्जरपछि बनेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यो नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले पनि मर्जर प्रक्रिया टुङ्ग्याई एकीकृत कारोबार थालनी गरेका छन् । कम्पनीहरुले एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा गएका हुन् । यी कम्पनीहरुले ‘सिद्धार्थ प्रिमियर’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा बढी हो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सले ‘सानिमा जिआईसी’ को नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । हाल सानिमा जीआईसी कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, अजोड, यूनाइटेड र प्रुडेन्सियल, आईएमई जनरल भने मर्जर प्रक्रियामा छन् ।

प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । एकीकृत कारोबार पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी नियामकले तोकेको न्यूतम पुँजी भन्दा धेरै पुग्नेछ । एकीकृत कारोबारपश्चात ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ चुक्ता पुँजीका आधारमा निर्जीवनतर्फ सबैभन्दा ठूलो कम्पनी बन्ने छ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १००:१०० सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा मर्जरमा जाने भएका हुन् । यी दुई कम्पनीबीच चैत ६ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ कायम हुनेछ । मर्जरपश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजीभन्दा धेरै हो ।

अजोडले प्रभु इन्स्योरेन्ससँग भएको मर्जर सम्झौता तोड्दै पुनः यूनाइटेडसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग पुस २६ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । युनाइटेड र अजोडबीच स्वाप रेसियो १००:९० हुने प्रारम्भिक सहमति भएको थियो । यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स’ हुनेछ ।

मर्जर प्रक्रियामा गएका र एकीकृत कारोबार गरेकाले हकप्रद सेयर जारी गर्न पाउने

मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमध्ये मर्जरपश्चात पनि केही कम्पनीहरुको चुक्ता पुँजी नपुग्ने देखिन्छ । मर्ज भई एकीकृत करोबार गरेका कम्पनीहरुको पनि पुँजी पुगेको छैन ।

त्यस्ता कम्पनीहरुलाई प्राधिकरणले हकप्रद सेयर जारी गर्न पाउने सुविधा दिएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरमा गएपछि पनि पुँजी नपुग्ने बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने बताए । ‘पुँजी वृद्धि गर्न मर्जरको बाटो रोजेका र मर्जरपछि पनि पुँजी नपुगेका कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्ने सुविधा दिइन्छ,’ पौडेलले क्लिकमाण्डुसँग भने,‘यस्तो सुविधा मर्जरमा गई पुँजी वृद्धि गर्ने योजना बनाएका कम्पनीहरुलाई मात्रै दिइन्छ।’

पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरुलाई भने हकप्रद सेयर जारी गर्न नदिने उनको भनाइ छ ।

जसअनुसार मर्जरपश्चात एकीकृत कारोबार गरेका हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न पाउनेछन् । यस्तै, मर्जर प्रक्रियामा गएका अजोड र यूनाइटेडले पनि हकप्रद सेयर जारी गर्ने सुविधा पाउनेछन् ।

यस्तै, एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४८ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको २ अर्ब एक करोड रुपैयाँ रहेको छ । यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।

Publish on: