व्यवसायी कँडेल मृत्यु प्रकरणको अनुसन्धानमा कमी नहोस् भनेर खबरदारी गरिरहेको छु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन-२ का सांसद रवि लामिछानेले व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस् भनेर आफूले निरन्तर खबरदारी गरिरहेको बताएका छन् ।

चितवनका सफल व्यवसायी कँडेल आत्महत्या प्रकरणमा आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको र प्रशासनसँग निरन्तर समन्वयमा रहेको लामिछानेको भनाइ छ ।

कँडेल आत्महत्या प्रकरणबारे फेसबुकमार्फत लामिछानेले घटनामा राजनीतिको रंग नपोतियोस् भनेर आफू सचेत रहेको उल्लेख गरेका छन् । आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको लामिछानेको भनाइ छ ।

‘चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवार सँग निरन्तर संवादमा छु, प्रशासन सँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरीरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु ।’

कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल पक्राउ परेका छन् । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेको प्रहरीले जनाएको छ । सो घटनापछि चितवनमा निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।