
काठमाडौं । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक मौद्रिक नीति केही लचिलो बनाएको बताएको छ । शुक्रबार गरिएको आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले केही लचक नीति ल्याएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यका आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाएको जनाएको छ ।
नीतिगत दरलाई यथावत् राख्दै बैंकदरलाई १ प्रतिशत विन्दुले घटाएर ७.५ प्रतिशत कायम गरिएको छ ।
मौद्रिक नीतिमा लिइएका उपायहरुको कार्यान्वयन स्थिति तथा विद्यमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आर्थिक स्थिति र परिदृश्यलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक केही लचिलो बनाइएको केन्द्रीय बैंकले जनाएको छ ।
यसको कार्यान्वयनबाट आन्तरिक तथा बाह्य क्षेत्र स्थायित्व सुदृढ भई आर्थिक गतिविधि सहज हुन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।