
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक रहेको भए पनि यसले अर्थतन्त्रका समस्या तत्काल समाधान गर्न नसक्ने बताएका छन् ।
अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरुले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनतालिकीकरणको व्यवस्था सकारात्मक रहेको बताए ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे टिप्पणी गरेदृ गोल्यानले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने साना व्यवसायीहरुको लागि सहुलियतको व्यवस्था गर्नु राम्रो भएको भन्दै साना व्यवसायीहरुलाई राहत पुग्ने बताए ।
डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या देखिने समस्या नहुने उनको भनाइ थियो ।
अध्यक्ष गोल्यानले समग्रमा राम्रो भए पनि उत्पादन क्षेत्र कृषि, ऊर्जा, पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताए ।
उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा गरेको भए पनि त्यसो नभएको उनले बताए । उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्ने उनले बताए ।
उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने उनको भनाइ थियो । बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्ने अवस्थाको अन्त्य नीतिगत रुपमा हुनुपर्ने गोल्यानले बताए ।
उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यक रहेको उनले बताए ।
बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्नसक्ने उनले बताए ।बैंकको खराब कर्जा कम हुनको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने भएपनि नघटेको उनले बताए ।
बैंकर्स संघले बैशाखमा ब्याजदर नघटाउने निर्णयले केही समयपछि स्प्रेडदरमा दबाब सिर्जना गर्नसक्ने उनले बताए ।