स्वास्थ्य बीमा बोर्डद्वारा ८ अर्ब ८० करोड भुक्तानी, सातौ पटक रकम पठायो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई सातौ पटक दाबी भुक्तानी रकम पठाएको छ । बोर्डले बोर्डको वैशाख २६ गते बसेको बैठकको निर्णय बमोजिम सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब ८९ करोड ५२ हजार ६१८ रुपैयाँ रकम पठाएको हो ।

यो सँगै बोर्डले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा ८ अर्ब ८० करोड ७२ लाख ४९ हजार ७५९ रुपैयाँ भुक्तानी गरेको छ।

चालू आर्थिक वर्षमा बोर्डले बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले दोस्रो पटक ६६ करोड १ लाख ५५ हजार ६८ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ भुक्तानी गरेको थियो ।

बोर्डले बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई चौथो पटक १ अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डको माघ १० गते बसेको बैठकको निर्णय बमोजिम बोर्डले माघ २९ गते बोर्डमा आवद्ध भएका ३३३ वटा सेवा प्रदायक संस्थालाई उक्त रकम पठाएको थियो ।

यस्तै, बोर्डले छैटौ पटक १ अर्ब ६३ करोड ६४ लाख ३० हजार ९५१ रुपैयाँ रकम पठाएको थियो ।

बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

हाल बोर्डमा ३४७ वटा स्वासथ्य सेवा प्रदायक संस्थाहरु आबद्ध छन् । स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरुले बिमा कार्यक्रममा आवद्ध भएका बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरुले कार्यक्रममा बिमित सदस्यहरुलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बिमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीको लागि प्राप्त दाबीहरु मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकनसहितको प्रतिवेदन भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुन्छ । र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई रकम भुक्तानी हुने बोर्डले जनाएको छ ।