दुई पांग्रे सवारी निर्देशिका तयार: दिनमा १२ घण्टा र एक पटकमा १५ किमीमात्र यात्रा गर्न मिल्ने व्यवस्था « Eglish Khabarhub

दुई पांग्रे सवारी निर्देशिका तयार: दिनमा १२ घण्टा र एक पटकमा १५ किमीमात्र यात्रा गर्न मिल्ने व्यवस्था


३० जेष्ठ २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई नियमन गर्ने भएको छ । यातायात व्यवस्था विभागले दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई सरल, सहज, सुरक्षित र व्यवस्थित बनाउन ‘सार्वजनिक यातायातमा प्रयोग हुने दुई पांग्रे सवारीहरुको नियमन सम्बन्धी राष्ट्रिय निर्देशिका, २०८०’ मस्यौदा तयार गरेको छ ।

पछिल्लो समय नेपालमा पठाओ, इन्ड्राइभर लगायत राइड सेयरिङ सेवा विस्तारित भइरहँदा दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई नियमन गर्न सरकारले मस्यौदा तयार गरेको छ ।

उक्त मस्यौदामा सरकारले दुई पांग्रे सवारी साधनको मापदण्ड तय गरेको छ । निर्देशिकामा सवारीको स्तर तोकिएको छ । पेट्रोलबाट चल्ने सवारी हकमा इन्जिनको न्यूनतम विस्थापन आयतन १०० घन सेन्टीमिटर, विद्युतीय शक्तिबाट चल्ने सवारीको हकमा जडित मोटरको रेडेट पावर न्यूनतम १.५ किलोवाट दूरीमापक यन्त्र (ओडोमिटर) जडान भएको हुनेपर्ने मस्यौदा तयार गरेको छ ।

दुई पांग्रे सवारीमा सवार दोस्रो व्यक्तिको सुरक्षाका लागि पछाडि पट्टी दायाँ वा बाँयातर्फ स्थायी ह्यान्ड ग्रिप जडान भएको, मोटरसाइकलको हकमा यात्रीको कपडा चक्कामा अल्झिनबाट जोगाउन पछाडिको चक्काको बायाँ पट्टिको कम्तिमा ५० प्रतिशत भाग ढाकिने गरी सुरक्षा छेकवार जडान भएको हुनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

आगामी साउन १ गतेपछि दर्ता हुने सवारीको हकमा अनिवार्यरुपमा एन्टि लक ब्रेकिङ वा कम्बिनेशन ब्रेकिङ प्रणाली जडान भएको हुनुपर्ने मस्यौदामा उल्लेख छ ।

विभागले यातायात सेवा प्रदान गर्न चाहने सेवा प्रदायकले सम्बन्धित कार्यालयमा पञ्जिकृत भई यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

‘कुनै संग्रहकले समेत आफ्नै सवारीहरु राखि यातायात सेवा सञ्चालन गर्न चाहेमा सेवा पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्न सक्नेछ,’ मस्यौदामा उल्लेख छ ।

संग्रहक(सेवाप्रदायक) को रुपमा काम गर्न चाहने कम्पनी, फर्म वा संस्थाले सम्बन्धित प्रदेश सरकारले तोकेको निकायबाट संग्रहक सेवा सञ्चालन गर्ने इजाजतपत्र प्राप्त गर्नेछ । संग्रहक सेवाको इजाजतपत्र र अनुप्रयोग(एप) सञ्चालनको इजाजतपत्र जारी, नवीकरण, निलम्बन, खारेजी र इजाजतपत्रका लागि लाग्ने दस्तुरलगायतका व्यवस्था प्रदेश सरकारको सम्बन्धित निकायबाट तोकिएबमोजिम हुने जनाइएको छ ।

अनुप्रयोगमार्फत सेवा सञ्चालन गर्नु पर्ने

सरकारले सेवा प्रदायकले आफ्नै वा संग्रहकको अनुप्रयोग(एप) मार्फत यातायात सेवा सञ्चालन गर्नु पर्ने व्यवस्थाको तयारी गरेको छ ।

तर विशेष अवस्थामा कुनै यात्रीले अनुप्रयोग प्रयोग गर्न नसक्ने अवस्था भई त्यस्तो यात्रीलाई सेवा दिनु परेमा सम्बन्धित चालकले त्यस्तो यात्रीको आवश्यक विवरण अनुप्रयोगमा प्रविष्ट गरेर मात्र सेवा दिनु पर्नेछ । यात्रीको नाम, चालकको नाम तथा सम्पर्क नम्बर, सेवा प्रदायकको नाम, सवारी दर्ता नम्बर, यात्रा दूरी र लाग्ने भाडा सम्बन्धी विवरण उल्लेख गरिएको सम्बन्धित चालकद्वारा हस्ताक्षर गरिएको पर्ची यात्रीलाई दिनु पर्ने मस्यौदामा जनाइएको छ ।

यातायात सेवा सञ्चालनका लागि सेवा प्रदायक वा संग्रहकले प्रयोग गर्ने अनुप्रयोग र त्यससँग सम्बन्धित सूचना प्रविधि प्रणालीमा विभिन्न विशेषताहरु हुनु पर्ने मस्यौदामा उल्लेख गरिएको छ । त्यसमा स्वीकृति प्राप्त साइबर सेक्युरिटि फर्म वा कम्पनीबाट अनुप्रयोगको सुरक्षा पक्ष सम्बन्धमा जारी भएको प्रमाणपत्र, नेपाली र अंग्रेजी दुवै भाषामा बुझ्न र प्रयोग गर्न सकिने यात्री इन्टरफेस, सेवा सञ्चालनका क्रममा सिर्जित तथ्यांक तथा विवरणहरुको भण्डारण गर्ने गरी नेपालमै सञ्चालन भएको सर्भर र यात्रीले आफूले यात्रा सुरु गर्न चाहेको प्रस्थान विन्दू तथा गन्तव्य सम्बन्धी विवरण प्रविष्ट गरे पश्चात उपलब्ध हुन सक्ने सवारी तथा चालक, यात्रा दूरी र लाग्ने भाडा सम्बन्धी विवरण पारदर्शी रुपमा अनुप्रयोगमा देखिने व्यवस्था हुनुपर्ने मस्यौदा तयार गरिएको छ।

‘यात्राको लागि यात्रीले स्वीकार गरेको सवारी तथा त्यसको चालक सम्बन्धी फोटो सहितको विवरण यात्रीले सजिलै हेर्न सक्ने गरी अनुप्रयोगमा देखिने व्यवस्था ।

साथै सेवा प्रदायक वा संग्रहकसंग वा स्वीकृत सवारीको चालकसँग यात्रीले सोझै सम्पर्क गर्न सक्ने सुविधा, यात्राको क्रममा यात्रीले आफ्नो अवस्थिति तथा यात्रा गरिरहेको बाटो सम्बन्धमा प्रत्यक्ष विवरणहरु वास्तविक समयमा आधारित रही आफ्नो दूरसञ्चार उपकरणमार्फत अरु कसैसँग साझेदारी गर्न मिल्ने सुविधा र सम्बन्धित यात्रीले आफूले पछिल्लो न्यूनतम ९० दिनसम्म गरेका यात्राहरुका प्रस्थान तथा गन्तव्य, बाटो, दूरी र भुक्तानी गरेको भाडा सम्बन्धमा अनुप्रयोगबाट विवरणहरु हेर्न सक्ने गरी प्रणालीमा प्रबन्ध हुनुपर्नेछ,’ मस्यौदामा उल्लेख छ ।

तथ्यांक तथा विवरणहरु सिर्जना भएको मितिबाट कम्तिमा ६ महिनादेखि बढीमा १८ महिनासम्म उपलब्ध हुने गरी प्रणालीमा सुरक्षित राख्ने व्यवस्था, अन्तर्निहित एल्गोरिदमको समान्य कार्यविधि, सेवा प्रदायकलाई भुक्तानी हुने भाडाको अंश, सेवा प्रदायकलाई दिइने अन्य प्रोत्साहन रकम, सेवा प्रदायकबाट प्राप्त हुने शुल्कहरु सम्बन्धमा यात्रीहरुले हेर्न मिल्ने गरी राखिएका जानकारी र सेवा प्रदायक तथा संग्रहकको पूरा नाम तथा ठेगाना, मूख्य सञ्चालकहरुको नाम, भाडादर, प्रस्तवित सेवाहरु, यात्री तथा सेवाग्राहीका लागि उपलब्ध सम्पर्क नम्बर तथा इमेल जस्ता विवरणहरु हुनुपर्ने मस्यौदा तयार गरिएको छ ।

विभागले सेवा प्रदायक वा संग्रहकले सेवाको क्रममा संकलित यात्रीका व्यक्तिगत विवरणहरु सम्बन्धित यात्री वा सेवाग्राहीको लिखित मञ्जुरी बिना अन्य कुनै पक्षलाई उपलब्ध गराउन नहुने व्यवस्था गरिएको छ । यातायात सेवा सञ्चालन गर्न आफ्नो छुट्टै अनुप्रयोग नभएको सेवा प्रदायक अनुप्रयोग प्रणालीबाट सेवा सञ्चालन गर्ने प्रयोजनका लागि कुनै संग्रहकसँग आवद्ध हुनुपर्नेछ ।

सेवा प्रदायकले यातायात सेवामा प्रयोग हुने आफ्ना सबै सवारीहरुको सवारी दर्ता नम्बर, मोडल नाम, च्यासिस नम्बर, इन्जिन वा मोटर नम्बर र सवारीको रङलगायतका विवरणहरु अनुप्रयोग प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

एक पटकमा १५ किलोमिटरको दूरीसम्म सेवा दिन पाउने

विभागले तयार गरेको दुई पांग्रे सवारी साधन नियमन निर्देशिकाको मस्यौदामा सेवा सञ्चालन गर्न सकिने अधिकतम दूरी तयार गरिएको छ ।

‘कुनै यात्रीलाई सेवा दिँदा सवारीले बाटो इजाजत पाएको सञ्चालन क्षेत्रभित्र एक पटकमा प्रस्थान विन्दूदेखि गन्तव्य विन्दूसम्म बढीमा १५ किलोमिटरको दूरीसम्म सेवा दिन पाउनेछ । तोकिएको दूरीका लागि सेवा खोज्न वा प्राप्त गर्न नसकिने गरी अनुप्रयोगमै व्यवस्था भएको हुनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

यातायात सेवा सञ्चालनका लागि सम्बन्धित वर्गको सवारी चालक अनुमतिपत्र प्राप्त गरी कम्तीमा १ वर्षको परीक्षणकाल पूरा नगरेको व्यक्ति चालकको रुपमा काम गर्न योग्य नहुने व्यवस्था तयार गरिएको छ ।

सेवा प्रदायकले आफ्ना प्रत्येक सवारी चालकको लागि सेवा प्रदायकको नाम तथा ठेगाना, चालकको पूरा, नाम थर, ठेगाना, सम्पर्क फोन नम्बर, नागरिकता प्रमाणपत्र नम्बर तथा जारी भएको जिल्ला, रक्त समूह र परिचयपत्र वहाल रहने अवधि उल्लेख गरिएको फोटो सहितको परिचयपत्रको व्यवस्था गर्नु पर्ने र सवारी चालकले यातायात सेवामा काम गर्दा प्रष्ट रुपमा देखिने गरी परिचयपत्र लगाउनु पर्नेछ ।

सेवा प्रदायकको नाम वा लोगो रात्रि समयमा समेत प्रकाश परावर्तनको माध्यमबाट प्रष्ट रुपमा बुझिने गरी अगाडि र पछाडि समेत अङ्कित भएको मौसम अनुसारको टि–सर्ट, सर्ट वा ज्याकेट सेवा प्रदायकले चालकलाई पोशाक उपलब्ध गराउनु पर्ने र चालकले यातायात सेवा दिंदा सो पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गरिएको छ।

यातायात सेवामा सञ्चालन हुने कुनै सवारीको चालकले एक दिनको अवधिमा पटक–पटक वा एकै पटक गरी १२ घण्टाभन्दा बढी समय काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

‘कुनै दिनमा चालक अनुप्रयोग प्रणालीमा पहिलो पटक प्रवेश (लग इन) गरेको समय देखि कार्य समय गणना हुनेछ र चालक प्रणालीमा आवद्ध (लग्ड इन) रहेको सम्पूर्ण अवधिलाई कार्य समयमा गणना गरिनेछ,’ मस्यौदामा उल्लेख छ ।

कुनै दिन अधिकतम कार्य समय बराबर काम गरिसकेको चालक सो दिनको बाँकी अवधिभर प्रणालीमा प्रवेश गर्न नसक्ने गरी स्वतः अनुप्रयोग प्रणालीबाट बाहिर (लग्ड आउट) हुने व्यवस्था अनुप्रयोगमा हुनु पर्नेछ ।

कुनै चालकले एकभन्दा बढी अनुप्रयोग प्रणालीमा आवद्ध भई कार्य गरेको खण्डमा समेत त्यस्तो चालकले एक दिनमा एक अनुप्रयोग प्रणालीमा विताएको कार्य समय सम्बन्धी सूचना अरु अनुप्रयोग प्रणालीमा समेत अभिलेख रहने र चालकले अधिकतम कार्य समय भन्दा बढी कार्य गर्न नसक्ने गरी सेवा प्रदायक वा संग्रहकहरुले अन्तरप्रणाली सूचना आदानप्रदान तथा नियन्त्रणको व्यवस्था मिलाउनु पर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

त्यस्तै, कुनै स्थानमा १५ किलोमिटरसम्मको दूरी तय गरी एक प्रदेशबाट अर्को प्रदेशसम्म यात्रा गर्न मिल्ने अवस्था भएमा अन्तरप्रदेश यातायात सेवा सञ्चालन गर्नका लागि सेवा प्रदायकले नजिकको सवारी परीक्षण कार्यालयबाट बाटो इजाजतपत्र लिनुपर्नेछ ।

सवारी ट्रयाकिङ्ग प्रणाली हुनुपर्ने

विभागले सवारीको अवस्थिति, गति तथा प्रस्थानदेखि गन्तव्यसम्को बाटो यात्रीले आफ्नो दूरसञ्चार उपकरणबाट हेर्न मिल्ने सुविधा अनुप्रयोग प्रणालीमा आन्तरिक रुपमा निर्मित भएको हुनु पर्ने मस्यौदा तयार गरेको छ ।

सेवा प्रदायक वा संग्रहकले यातायात सेवामा सञ्चालनमा रहेका आफ्ना सवारीहरुको अवस्थिति, गति तथा बाटोको सम्बन्धमा ट्र्याकिङ्ग प्रणालीमार्फत निरन्तर अनुगमन गर्नु पर्नेछ र निर्धारित गति तथा बाटोभन्दा फरक हुने गरी सवारी चलाइरहेका चालकहरुलाई सचेत गराउन चालकको दूरसञ्चार उपकरणमार्फत सन्देश पठाउने व्यवस्था हुनु पर्नेछ ।

सेवा प्रदायकले सेवामा प्रयोग हुने प्रत्येक सवारीको हकमा ऐनमा व्यवस्था भए अनुसारको सवारी बिमा, चालक बिमा, यात्री बिमा, यात्री गुण्टा बिमा र तेस्रो पक्ष बिमा गराएको हुनु पर्नेछ ।

भाडादर सम्बन्धित प्रदेश सरकार वा स्थानीय सरकारको आधिकारिक निकायले तोके बमोजिम हुने

यातायात सेवाको आधार भाडादर सम्बन्धित प्रदेश सरकार वा स्थानीय सरकारको आधिकारिक निकायले तोके बमोजिम हुनेछ । निर्धारित यात्रा सुरु हुनु अघिको संभावित निष्क्रिय दूरी वा प्रतिक्षा समयलाई समेत परिपूर्ति गर्नका लागि जतिसुकै कम दुरीको यात्रा भए पनि ३ किमि दूरी बराबरको न्यूनतम आधार भाडा आकर्षित हुने मस्यौदा तयार गरिएको छ ।

यात्रीले यात्रा गर्न चाहेको बाटोको दूरी र सो बाटोमा यातायात सेवाको माग तथा आपूर्तिको अवस्थाका आधारमा पूर्व निर्धारित अल्गोरिदमअनुसार आधार भाडादरको ५० प्रतिशतदेखि १५० प्रतिशतसम्म हुन आउने दरले हिसाब गरी अनुप्रयोग प्रणालीबाट गतिशील रुपमा यात्राको भाडा निर्धारण हुन सक्नेछ ।

सेवा प्रदायकले जम्मा भाडाको न्यूनतम ८० प्रतिशत रकम प्राप्त गर्नेछ र सम्बन्धित संग्रहकले बाँकी २० प्रतिशतसम्म रकम प्राप्त गर्नेछ । तर सेवा प्रदायकले आफ्नै अनुप्रयोग सञ्चालन गरी यातायात सेवा दिएको वा संग्रहकर्ताले आफ्नै सवारी सञ्चालन गरी यातायात सेवा दिएको खण्डमा सम्बन्धित सेवा प्रदायक वा संग्रहकर्ताले भाडा वापतको सम्पूर्ण रकम प्राप्त गर्ने मस्यौदा तयार गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार ००:००  ५ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping