वैशाखयता २ खर्ब ४२ अर्ब निक्षेप संकलन, लगानीयोग्य रकम ४४० अर्ब नाघ्यो, कर्जा ठप्प « Eglish Khabarhub

वैशाखयता २ खर्ब ४२ अर्ब निक्षेप संकलन, लगानीयोग्य रकम ४४० अर्ब नाघ्यो, कर्जा ठप्प



काठमाडौं । वैशाखयताका ३ महिनामा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ४२ अर्ब रुपैयाँ थप निक्षेप संकलन भएको छ । वैशाख २ देखि असार २४ सम्ममा वित्तीय प्रणालीमा २ खर्ब ४२ अर्ब थपिँदा लगानीयोग्य रकम (तरलता) ४ खर्ब ४० अर्ब रुपैयाँ नाघेको छ ।

वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असार २४ गते ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब २२ अर्बबाट २ खर्ब २८ अर्बले बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कर्जा प्रवाह भने ठप्पै छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार २४ गते ४८ खर्ब ६१ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब १ अर्ब रहेकोमा असार २४ गते पनि ४३ खर्ब १ अर्ब रुपैयाँ नै छ ।

वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । समीक्षा अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ प्रतिशतबाट ८२.०३ प्रतिशतमा झरेको छ ।

असारका २४ दिनमै वित्तीय प्रणालीमा १ खर्ब ४७ अर्ब निक्षेप थपिएको छ भने कर्जा प्रवाह ७ अर्ब रुपैयाँले बढेको छ । अर्थतन्त्रमा छाएको मन्दीका कारण व्यापार व्यवसाय ठप्प बनेपछि बैंकहरु पनि कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रित भएका छन् ।

तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर पनि न्यून छ । अन्तर बैंक ब्याजदर समीक्षा अवधिमा ७ प्रतिशतबाट घटेर असार २४ गते १.३६ प्रतिशतमा झरेको छ ।

बैंकहरुले निर्माण र उत्पादन क्षेत्र चलायनमान हुने विश्वासका साथ ब्याज घटाएर होमलोन स्किम ल्याए पनि कर्जाको माग भएको छैन । ‘हामी नजिकबाट नियालिरहेका छौं,’ नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भन्छन्, ‘कर्जाको माग छैन, सबै खालको उपभोग पनि घटेर गएको छ ।’

ठूलो संख्यामा युवा बिदेसिएकाले पनि समग्र माग तथा उपभोग सुस्ताएको उनको विश्लेषण छ । ‘माग सुस्ताएका कारण उद्योगहरुले पनि पूर्ण क्षमतामा उत्पादन गरिरहेका छैनन्,’ केसीले भने, ‘नयाँ प्रोजेक्ट पनि आउन सकेका छैनन्, पुरानाले पनि कर्जा माग गरिरहेका छैनन् ।’

घरजग्गा कारोबारले बजार धेरै चलायमान बनाउने भए पनि पूर्णरुपमा कित्ताकाट नखुलेका कारण पैसा छरिन पाएको छैन । ‘असारमा यसै पनि स्लो नै हुन्छ, असार रिकोभरीको समय पनि हो,’ उनले भने, ‘यसलाई अझै मानिसमा कन्फिडेन्स नआइसकेको रुपमा पनि हेर्नुपर्ला ।’

बजारमा समग्र माग घट्दा आन्तरिक व्यापार सुस्ताएको छ । माग नभएकै कारण आयात पनि घटेको छ । साना-साना व्यापारी व्यवसायीले पनि कर्जा माग गरिरहेका छैनन् । व्यापारीहरु ‘पर्ख र हेर’को अवस्थामा छन् भने बैंकहरु खराब कर्जा घटाउनमा केन्द्रित छन् ।

‘सरकारले कन्ट्रक्सनलगायतका सबै क्षेत्र चलायमान हुने परियोजनाको पुँजीगत खर्च व्यापक बढाएर लैजान सके मात्र समस्या समाधानको दिशामा उन्मुख हुने देखिन्छ,’ अध्यक्ष केसीले भने, ‘नत्र तत्काललाई गाह्रै देखिन्छ ।’

नियामक नेपाल राष्ट्र बैंक पनि सन्तुलित नीति लिनुपर्ने दबाबमा रहेको उनले बताए । ‘राष्ट्र बैंकलाई पनि सहज छैन,’ उनले भने, ‘समस्या हेरेर सन्तुलित हिसाबले जानुपर्छ ।’

लगानीयोग्य रकम थुप्रिँदै जाँदा ६-७ वटा बैंक भने अहिले पनि कर्जा प्रवाह गर्न सक्ने स्थितिमा छैनन् । प्राथमिक पुँजीकोष (टायर वान)को सीमानजिक रहेका माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटिजन्स, एनआईसी एसीयालगायतका बैंक कर्जा माग भइहाले पनि दिन नसक्ने अवस्थामा छन् ।

उच्च ब्याजदर र अन्य विभिन्न कारणले कर्जाको माग सुस्ताउँदा पुँजीकोषको दबाबमा रहेका बैंकलाई राहत मिलेको छ । चार महिनायता कर्जाको माग घटेर वित्तीय प्रणालीमा तरलता स्थिति सहज बन्दै जाँदा वाणिज्य बैंकहरुको प्राथमिक पुँजीकोष माथिको दबाब कम हुँदै गएको छ ।

पुँजीकोषमाथिको दबाब कम गर्न बैंकहरुले खराब कर्जा (नन पर्फर्मिङ लोन- एनपीएल) असुली बढाउनुपर्छ । तर, अधिकांश बैंकहरुको खराब कर्जा लगातार बढिरहेको छ । अर्थतन्त्र मन्दीउन्मुख भएर बजार गतिविधि सुस्ताउँदा बैंकहरुको खराब कर्जा बढेको हो । कतिपयले व्यवसाय सुस्ताएका कारण कर्जा तिर्न सकेका छैनन् भने कतिपयले अटेरी गरिरहेका छन् ।

चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले खराब कर्जा ३ प्रतिशतभन्दा माथि छ । असारमा उच्च अंकले बढ्ने अनुमान भइरहेको छ ।

अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याजदर घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो । चैतमा १०.४८ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

(तथ्यांक अद्यावधिक भएकाले सच्याइएको छ ।)

Publish on: