![](https://internal.appharu.com/wp-content/uploads/2023/09/NCELL-768x429.jpg)
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको जनाएको छ ।
सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गरेका छन् ।
‘एक करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं,’ उनले भने, ‘एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौं ।’
नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही ‘हामी तपाईंकै लागि’ थिमको घोषणा गरेको छ । यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न शृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।
एनसेलले वार्षिक उत्सव मनाइरहेका बेला ग्राहकसँग खुसी बाँड्न आकर्षक अफर पनि ल्याएको छ । प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् ।
यस अफरमा एष्ट्रिक्स१७११७ह्यास डायल गर्ने ग्राहक दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्ने एनसेलले जनाएको छ । दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा कुनै पनि शुल्कबिना प्राप्त गर्न सक्छन् ।
प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् । साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्छ र एनसेलका बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलमा पठाउनुपर्नेछ ।
व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईंकै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति नेपालसँग सहकार्यको घोषणा गरेको छ । जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीलाई सहयोग गर्नेछ । यस सहकार्यअन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ ।
साथै एनसेलले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाबाट आ-आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।
इच्छुक संस्थाहरुले एनसेलको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण, स्वास्थ्यलगायतका क्षेत्रका सामाजिक परियोजनामा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।
सबैभन्दा ठूलो करदातामध्ये एक एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ । स्थापना कालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कहरुबापत एनसेलले २ खर्ब ८३ अर्बभन्दा बढी तिरिसकेको जनाएको छ ।
SHARE YOUR THOUGHTS