![](https://internal.appharu.com/wp-content/uploads/2023/05/Prime-Bank-768x403.png)
काठमाडौं । प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी व्यवस्थाविपरीत सार्वजनिक गरेको निक्षेपको ब्याजदर सच्याएको छ । प्राइम बैंकले आइतबार असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । आज सोमबार भने आइतबार सार्वजनिक ब्याजदरलाई सच्याएको हो ।
राष्ट्र बैंकको निर्देशन नं १५/०७९ मा सम्बन्धित वर्गका बैंकले प्रकाशित गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा ब्याज बढाउन नमिल्ने व्यवस्था छ । प्राइम बैंकले मुद्दति निक्षेपमा सर्कुलरअनुसार ब्याज बढाए पनि बचत खातामा भने नियमविपरीत ब्याज बढाएको थियो ।
बैंकले सच्याएको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत रहेको छ भने संस्थागततर्फ ९.०५४ प्रतिशत छ । यस्तै बचतमा ६.०५४ देखि ९.०५४ प्रतिशतसम्म छ । बैंकले बचतमा १४ वटा बचत खाता सञ्चालमा ल्याएको छ ।
बैंकले आइतबार प्रकाशित गरेको ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.५३८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत थियो । यस्तै बचतमा ६.३५८ देखि ९.३५८ प्रतिशतसम्म थियो ।
नेपाल बैंकर्स संघका अनुसार भदौ महिनाको ‘क’ वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत थियो ।
अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन मिल्ने राष्ट्र बैंकको सर्कुलरअनुसार असोजमा बचतको ब्याजदर ६.०५४ प्रतिशतभन्दा माथि पुर्याउन मिल्दैन ।
तर, प्राइमले बचतमा ६.३५८ प्रतिशत ब्याज दिँदै बचत र मुद्दति निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत कायम गर्न खोजेको थियो । भदौमा बैंकहरुको मुद्दति निक्षेपमा औसत ब्याजदर १०.३२६ प्रतिशत थियो ।
SHARE YOUR THOUGHTS