अमेरिकी डलर ऐतिहासिक उचाइमा, कमजोर बन्यो नेपाली मुद्रा « Eglish Khabarhub

अमेरिकी डलर ऐतिहासिक उचाइमा, कमजोर बन्यो नेपाली मुद्रा



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । मंगलबार नेपाली बजारमा १ अमेरिकी डलर १३२ रुपैयाँ ९४ पैसामा खरिद हुँदा १ अमेरिकी डलर प्राप्त गर्न १३३ रुपैयाँ ५४ पैसा तिर्नुपर्ने भएको छ ।

यसअघि नेपाली मुद्रा अमेरिकी डलरसँग यति कमजोर बनेको थिएन ।

सोमबार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि मंगलबार नेपाली बजारमा डलर महँगो भएको हो ।
नेपाली मुद्राको अमेरिकी मुद्रासँगको सटही दर भारतीय मुद्राका आधारमा तय हुने गरेको छ ।

अमेरिकी डलर महँगिएसँगै आयात महँगो हुने र सरकारले तिर्ने ऋणको साँवा र व्याज भुक्तानीसमेत बढ्ने गर्छ ।
डलर महँगिदा रेमिट्यायान्स पठाउनेलाई भने फाइदा पुग्छ ।

मंगलबार नेपाली बजारमा युरोको खरिद मूल्य १४१.८६ छ भने बिक्री मूल्य १४२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बेलायती पाउण्डको खरिद मूल्य १६४ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपालले भारतसँग सम्झौता गर्दै सटही दर निश्चित तोके पनि अन्य देशहरुसँगको सटही दर भारतीय मुद्रामा हुने परिवर्तनका आधारमा निर्धारण गरिन्छ । १ रुपैयाँ भारतीय मुद्रा बराबर १ रुपैयाँ ६० पैसा नेपाली रुपैयाँ हुने गरेको छ ।

भारतीय बजारमा अघिल्लो दिन भएको कारोबारका आधारमा नेपाली मुद्राको भारतीय बाहेकका मुद्रासँग सटही दर तोकिँदै आएको छ ।

Publish on: