
काठमाडौं । दसैं नजिकिएसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने जीप, कार र भ्यानको व्यापार बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको तुलनामा ऋण दिने केही सहज वातावरण सिर्जना गरेकाले पेट्रोलियम पदार्थ सवारी साधनको व्यापार बढेको हो ।
गत वर्षको दसैंमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लागेको थियो । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र तरलता अभाव भएको भन्दै लामो समयसम्म पैठरीमा प्रतिबन्ध गरेको थियो । जसले गर्दा व्यवसायीहरुले दसैंको माहोलमा पनि व्यापार गर्न सकेका थिएनन् ।
एक आर्थिक वर्षमा व्यापार गरेकोमध्ये ४० प्रतिशत कारोबार दसैं तिहारको समयमा गर्दै आएको अटोमोबाइल क्षेत्रमा अहिले आर्थिक संकुचनका कारण ठूलो धक्का पुगेको छ । गत वर्ष पेट्रोलियम पदार्थको सवारी साधनमा आयात प्रतिबन्ध गर्दा व्यापार गर्न नपाएका व्यवसायीहरु यो वर्षको दसैंमा भने केही उत्साहित छन् ।
अघिल्लो वर्षमा आयात प्रतिबन्धसँगै बैंक तथा वित्तीय संस्था तरलता अभावले गर्दा सवारी साधनमा लगानी गर्न डराएका थिए । तर, यो वर्ष भने केही सहज माहोल बनेको छ ।
नाडा अटोमोबाइल एसोसियसनका अध्यक्ष ध्रुव थापाले दसैं नजिकिँदै गर्दा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको व्यापार बढेको बताए । उनकाअनुसार गत वर्ष पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात गरेर बिक्री गर्न पाएका थिएनन् । सरकारले गत पुसदेखि आयातमा कुनै प्रतिबन्ध गरेको छैन । जसले गर्दा केही सहज वातावरण भएको छ ।
त्यस्तै, दसैं नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको सवारी साधन बिक्री वितरण गर्दै आएका करिब दर्जन कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न भारी छुटसहितको अफर सार्वजनिक गरेका छन् ।

कम्पनीहरुले यसअघि नै नाडा अटो शोमार्फत् नयाँ–नयाँ प्रकारका गाडीहरु पनि सार्वजनिक गरेका छन् । उक्त गतिविधिले पनि बजारमा सवारी साधनको व्यापार सकारात्मक लगाउन सकिन्छ । एसोसिएसनका थापाले नाडा अटो शोले पनि सकारात्मक सन्देश दिएको हुनाले गत वर्षको तुलनामा व्यापार बढेको जिकिर गरे ।
‘गत वर्ष प्रतिबन्धका कारण पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको अटो शो नै हुन सकेको थिएन,’ उनले क्लिकमान्डुसँग भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनमा लगानी गर्न खोजेको हुनाले आगामी दिनमा व्यापार बढ्नेछ।’
अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापार बढे पनि सामान्य अवस्थामा फर्किन भने निकै समय लाग्ने भएको छ । विगतका वर्षहरुमा दसैंको समयमा अधिकांश कम्पनीहरुलाई सवारी साधनको अर्डर र व्यापारको चटारो लाग्ने गथ्र्यो । तर, अहिले त्यस्तो माहोल भने सिर्जना हुन सकेको छैन ।
एसोशियसनका अध्यक्ष थापाले दसैंको माहोलले व्यापारको केही संकेत देखाएपनि कोभिडअघिकै जस्तो व्यापारमा फर्किन समय लाग्ने देखिएको हो । ‘आर्थिक संकुचनका कारण अहिले मानिसहरुको क्रयशक्ति नै घटेको छ । आगामी दिनमा व्यापार आशामा व्यवसायीहरु सकारात्मक छन्,’ उनले भने ।
त्यस्तै, आयातको तथ्याङ्कले पनि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने जीप, कार र भ्यानको आयात बढेका देखिन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले भदौ महिनामा मात्रै ३ सय ९५ वटा जीप, कार र भ्यान आयात गरेको छ । गत साउनमा नेपालले २ सय ९७ वटा गाडी आयात गरेको थियो । भदौमा दशैलक्षित व्यवासायीहरुले एकै महिनामा ३ सय ९५ वटा आयात गरेका छन् ।
नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८९ करोड ३४ लाख रुपैयाँको ६ सय ९२ वटा सवारी साधन आयात गरेको छ । उक्त आयातित सवारी साधनबाट नेपालले २ अर्ब २३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले ६१ करोड रुपैयाँको ४ सय ८७ वटा गाडी आयात गरेको थियो । साथै, सरकारले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालले सबैभन्दा बढी भारतबाट गाडी आयात गरेको छ । नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारटबाट मात्रै नेपालले ७६ करोड ६३ लाख रुपैयाँको ६ सय ५६ वटा गाडी आयात गरेको छ । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयातमा भारतको निकै ठूलो हिस्सा छ । विद्युतीय सवारी साधनको आयातमा भने चीनको हिस्सा छ ।
भारतपछि नेपालले दुई महिनाको अवधिमा चीनबाट ३ वटा, चेक रिपब्लिकबाट २ वटा, जापानबाट १३ वटा, इन्डोनेसियाबाट ५ वटा, दक्षिण कोरियाबाट ४ वटा, मेक्सिकोबाट ३ वटा, थाइल्यान्डबाट २ वटा र बेलायतबाट १ वटा गाडी आयात गरेको छ ।

विद्युतीयमा गाडीमा नेपालीको बढ्दो आकर्षण
नेपालमा पेट्रोलियम पदार्थको व्यापारमा विगतको तुलनामा निकै कम हुनुको एउटा मुख्य कारण विद्युतीय गाडीमा आकर्षण बढ्नु हो । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गरेसँगै नेपालीहरुको आकर्षण बढेको छ ।
गत वर्ष एशोसिएसनले पहिलो पटक विद्युतीय सवारी साधनको अटो शो गरेको थियो । त्यस्तै, यो वर्ष पनि पेट्रोलियमसँगै विद्युतीय सवारी साधनको उपस्थितिमा अटो शो भएको थियो ।
एशोसिएसनअनुसार विद्युतीय सवारी साधनप्रति ग्राहकहरु आकर्षित हुँदा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडीको व्यापारमा प्रभाव परेको जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनाको अवधिमै ८ सय ९८ वटा विद्युतीय गाडी आयात गरेका छन् । नेपालले दुई महिनाको अवधिमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँको रकम खर्चेर उक्त जीप, कार र भ्यान आयात गरेको तथ्याङ्कले उल्लेख गर्छ ।
विभागअनुसार दुई महिनाको अवधिमा ५० किलोवाटसम्मको २५५ वटा, ५० किलोवाटदेखि १०० किलोवाटसम्मको ६ सय ३१ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ९ वटा रक २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको ३ वटा गाडी आयात भएका छन् ।
एशासिएसनका अध्यक्ष थापाले आर्थिक संकुचनका बाबजुद विद्युतीय गाडीको व्यापारमा कुनै असर नदेखिएको दाबी गरे । विश्वका विभिन्न मुलुकले विद्युतीय गाडीको प्रोत्साहन गरेको अवस्थामा नेपालले पनि सोहीअनुसारको नीति अपनाएको छ । उक्त नीतिले विद्युतीय सवारीको खरिद बिक्रीमा प्रभाव परेको व्यवसायीहरु बताउँछन् ।
SHARE YOUR THOUGHTS