एमालेमा १ लाख ६१ हजार नयाँ सदस्य थपिए, अब कति पुगे संगठित सदस्य ? « Eglish Khabarhub

एमालेमा १ लाख ६१ हजार नयाँ सदस्य थपिए, अब कति पुगे संगठित सदस्य ?



काठमाडौं । नेकपा ९एमाले० मा दशौँ राष्ट्रिय महाविधेशनयता एक लाख ६१ हजार नयाँ सङ्गठित सदस्य थपिएका छन् । नयाँ र नवीकरणसहित हाल एमालेमा सङ्गठित सदस्य पाँच लाख ५० हजार पुगेका छन् ।

पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए। उनका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ ।

‘हामीले प्रदेश कमिटी अधिवेशनसम्म पार्टी सदस्यता नवीकरण गर्न भनेका थियौँ’ उनले भने, ‘प्रदेश कमिटी अधिवेशन सकिएपछि जिल्ला अधिवेशन सुरु हुन्छ । त्यतिबेला पनि पार्टी सदस्यता वितरण, नवीकरणको कार्य हुन्छ ।’

एमालेको दशौँ राष्ट्रिय महाविधेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए । नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए ।

सचिव ढुङ्गेलले दशौँ महाधिवेशनका समयमा पार्टी सङ्क्रमणकाल (एमाले र माओवादी केन्द्रसँगको एकता)मा रहेको र अभिलेखमा पार्टी सदस्यता दोहोरिएकाले त्यसबेला पार्टी सदस्यको सङ्ख्या बढी भएको बताउनुभयो । एमालेको दशौँ महाधिवेशन २०७८ मङ्सिर १० देखि १३ गतेसम्म चितवनको सौराहा भएको थियो ।

Publish on: