रसुवा नाकाद्वारा ३ महिनामै राजस्व लक्ष्यको करिब आधा असुली « Eglish Khabarhub

रसुवा नाकाद्वारा ३ महिनामै राजस्व लक्ष्यको करिब आधा असुली



काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको निर्धारित लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । उक्त कार्यालयले ३ महिनाकै अवधीमा निर्धारित लक्ष्यको झण्डै ५० प्रतिशत राजस्व असुली गरेको हो ।

उत्तरी छिमेकी मुलुक चीनसँग जोड्ने व्यापारिक नाका रसुवा नाकामार्फत अहिले व्यापारिक कारोबार बढेका कारण पनि राजस्व असुली उल्लेख्य परिमाणमा बढेको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख प्रमुख रामप्रसाद पाठकका अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को लागि रसुवा भन्सार कार्यालयको राजस्व उठाउन लक्ष्य ११ अर्ब ९४ करोड रुपैयाँ तोकिएको थियो । यसमध्ये गत् साउनदेखि असोज २४ गतेसम्ममा ५ अर्ब ८ करोड रुपैयाँ राजस्व असुली भइसकेको भन्सार प्रमुख पाठकले जानकारी दिए ।

पाठकका अनुसार तातोपानी नाका सहज नहुँदा अधिकाँश मालसामान अहिले रसुवा नाकाबाट आयात हुन थालेको छ । यो नाकामार्फत चाडवाड केन्द्रित अधिकाँश सामानहरु आयात भइरहेकाले राजस्व असुली दर पनि बढेको छ । ‘बार्षिक राजस्व असुली लक्ष्यको झण्डै ५० प्रतिशत अहिले नै उठिसकेको छ,’ पाठकले भने ।

असोजको १ गतेदेखि २४ गतेसम्ममा मात्रै ३ अर्ब ८४ करोड ८६ लाख रुपैयाँको विभिन्न सामान आयात हुँदा यसबाट १ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालय रसुवाले जनाएको छ ।

आयात भएका सामानमध्ये बढी चाडपर्व लक्षित सामान र बिद्युतीय सबारी साधन बढी छन् । यो अवधीमा १ अर्ब २६ करोड ९० लाख मूल्यबराबरको ४ सय ५० वटा विद्युतीय सबारी साधन उक्त नाकाबाट आयात भएको छ ।

यस्तै १ अर्ब ६३ करोड ७० लाख मूल्यबराबरको ७८ लाख ४३ हजार ८ सय ४३ वटा लुगाफाटोहरु आयात भएको छ । त्यस्तै २९ करोड ९९ लाख मूल्यबराबरको जुत्ता चप्पल आयात भएको छ ।

रसुवा नाकाबाट दैनिक २ अर्बको सामान आयात
दसैं, तिहार छठलगायतको चाडवाडको मालसामान तातोपानी नाकाबाट आयात नहुँदा त्यसको चाप अहिले रसुवा नाकामा परेको छ । सामान्य समयमा दैनिक १० वटाको हाराहारीमा कन्टेनर भित्रिने उक्त नाकाबाट अहिले चाडवाडको चापका कारण दैनिक औषत २५ वटासम्म कन्टेनर आइरहेको रसुवास्थित भन्सार कार्यालयका प्रमुख पाठकले जानकारी दिए ।

पाठककाअनुसार तातोपानी नाकाबाट फलफूलबाहेक अन्य सामान भित्रिन नसक्दा त्यसको प्रत्यक्ष चाप रसुुवा नाकामा परेको हो । यो नाकाबाट अहिले चाडपर्व लक्षित विभिन्न सामानहरु आयात भइरहेका छन् । ‘अत्याधिक चाप परेको दिन ५० वटासम्म कन्टेनर आइरहेका छन, निक्कै कम भएको दिनमा २५ वटा कन्टेनर भित्रिने गर्छ,’ पाठकले भने,‘यो नाकाबाट सबैभन्दा बढी रेडिमेड लुगाफाटो आयात भइरहेको छ, त्यसपछि विद्यूतीय सबारी साधन र विद्यूतीय समानहरु हो ।’

यो नाकाबाट अहिले चाडवाडमा अत्यधिक खपत हुने तयारी लुगाफाटो, विद्युतीय सबारी साधन र अन्य सबारी साधन, रबर, प्लास्टिकका जुत्ता चप्पल, लेडीज सेण्डल, होजियरी कपडा, हाते झोला (ह्याण्ड व्याग), ओखर, जडी बुट्टा, पट्टी इम्ब्राइडरी, जुत्ताको पार्टस, चश्मा, काठका फर्निचर अत्यधिक परिमाणमा आयात भइरहेको छ ।

यस्तै विस्फोटक वा प्रेरकका धुलो, कीसमीस, अप्टिकल फाइवर केवुल, श्रृंगारका सामान, लसुन, प्लास्टिक सामान, फलामे संरचना र छालाको जुत्ता पनि अत्यधिक परिमाणमा आयात हुने गरेको भन्सार प्रमुख पाठकले जानकारी दिए ।
तातोपानी सुक्दै गएको अवस्थामा यो नाकामा अहिले हरियाली छाएको छ, यही नाकामार्फत चीनबाट अत्यधिक परिमाणमा मालासामान आयात हुन थालेपछि यो नाकामा अहिले निक्कै चहलपहल बढेको छ ।

Publish on: