१३ वटा भन्सार कार्यालयबाट निर्यात शून्य, अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा २६ प्रतिशत « Eglish Khabarhub

१३ वटा भन्सार कार्यालयबाट निर्यात शून्य, अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा २६ प्रतिशत



काठमाडौं । तीन महिनाको अवधिमा देशभरका २८ वटा भन्सार कार्यालयबाट आयात हुँदा १३ वटा कार्यालयबाट निर्यात शून्य छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ४० अर्ब ८७ करोड ४९ लाख रुपैयाँको वस्तु निर्यात गर्दा १३ वटा भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात गर्न सकेको छैन ।

नेपालले चालु आवको तीन महिनामा विभिन्न मुलुकबाट ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जसमा नेपालले सबै भन्सार कार्यालयबाट वस्तु आयात गरेको देखिन्छ ।

भन्सार विभागअनुसार भद्रपुर, चोभार, गौतम बुद्ध विमानस्थल, जनकपुर, महेशवर, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी कार्यालयबाट वस्तु आयात भएपनि निर्यात भने भएको छैन ।

नेपालले वस्तु आयात गरेको तुलनामा निर्यात निकै कमजोर छ । नेपालले विश्वबजारको आवश्यकताअनुसार वस्तु उत्पादन गरी निर्यात गर्न नसक्दा निकासी झनै कमजोर हुँदै गएको छ ।

नेपालले तीन महिनाको अवधिमा शून्य निर्यात गरेको भद्रपुर कार्यालयबाट ३४ करोड १२ लाख रुपैयाँको वस्तु आयात गरेको छ। त्यसैगरी, चोभार भन्सार कार्यालयबाट २८ करोड ७७ लाख रुपैयाँ, गौतमबुद्ध विमानस्थलबाट ७६ लाख रुपैयाँ, जनकपुरबाट ३५ करोड ४३ लाख रुपैयाँ बराबरको बस्तु आयात भएको छ । त्यस्तै, महेश्वरबाट ९ करोड ७७ लाख रुपैयाँ, राजविराजबाट ८ करोड ९७ लाख रुपैयाँ, साठीबाट ९ करोड ९९ लाख रुपैयाँ, सिराहाबाट ५ करोड ३१ लाख रुपैयाँ, सुनसरीबाट ५० करोड ८४ लाख रुपैयाँ, सुठौलीबाट २९ करोड ५३ लाख रुपैयाँ, तातोपानीबाट ७ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ र त्रिवेणी भन्सार कार्यालयबाट ६४ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

त्यस्तै, नेपालले निर्यात गर्ने वस्तु सबैभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकासी हुने गरेको पाइएको छ । देशभर २९ वटा भन्सार कार्यालय हुँदा विमानस्थलको हिस्सा २५.८४ प्रतिशत छ । उक्त भन्सार कार्यालयबाट तीन महिनाको अवधिमा १० अर्ब ५६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयपछि वीरगञ्ज कार्यालयको २०.३७ प्रतिशत हिस्सा छ । कार्यालयबाट ८ अर्ब ३२ करोड ८१ लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । त्यसैगरी, विराटनगर कार्यालयबाट ७ अर्ब ९० करोड २७ लाख रुपैयाँको, मेची कार्यालयबाट ६ अर्ब ८० करोड रुपैयाँको, भैरहवा कार्यालयबाट ३ अर्ब ३३ करोड २२ लाख रुपैयाँको, बन्दरगाहबाट १ अर्ब ३१ करोड ९६ लाख रुपैयाँ र जलेश्वर कार्यालयबाट १ अर्ब ३ करोड ३७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

साथै, कृष्णनगर कार्यालयबाट ५२ करोड ६५ लाख रुपैयाँको, नेपालगञ्जबाट ४४ करोड १८ लाख रुपैयाँ, रसुवाबाट ३९ करोड २१ लाख रुपैयाँको, कैलालीबाट १६ करोड ६४ लाख रुपैयाँ, सर्लाहीबाट ५ करोड २३ लाख रुपैयाँ, पशुपतिनगरबाट ९९ लाख रुपैयाँको। कञ्चनपुरबाट ५८ लाख रुपैयाँ र गौर भन्सार कार्यालयबाट ५ करोड ९५ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

आयातमा वीरगञ्ज भन्सारको ३४ प्रतिशत हिस्सा

विभागअनुुसार आयातमा भने वीरगञ्ज भन्सार कार्यालयको सबैभन्दा बढी हिस्सा रहेको छ । तीन महिनाको अवधिमा ४ खर्बको वस्तु आयात गर्दा उक्त कार्यालयबाट १ खर्ब ३७ अर्ब ६७ करोड १४ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जुन ३३.७६ प्रतिशत हिस्सा हो ।

त्यस्तै, उत्त अवधिमा भैरहवा कार्यालयबाट ६५ अर्ब ८५ करोड ४४ लाख रुपैयाँको, बन्दरगाहबाट ५५ अर्ब ८१ करोड ९ लाख रुपैयाँको, विारटनगरबाट ४५ अर्ब २ करोड ४० लाख रुपैयाँको, अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ अर्ब ८१ करोड २६ लाख रुपैयाँ, नेपालगञ्जबाट १७ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको, रसुवाबाट १४ र्ब ६० करोड ४७ लाख रुपैयाँ र मेची कार्यालयबाट १० अर्ब ६७ करोड २२ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

तथ्याङ्कअनुसार कृष्णनगर कार्यालयबाट ५ अर्ब ३२ करोड ३८ लाख रुपैयाँको, कैलालीबाट ४ अर्ब ९३ करोड ३० लाख रुपैयाँको, जलेश्वरबाट २ अर्ब ७३ करोड ९१ लाख रुपैयाँको, सर्लाहीबाट ५२ करोड ५९ लाख रुपैयाँको, कञ्चनपुरबाट ५१ करोड ५२ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

Publish on: