प्रसाईंको कार्यक्रम बल्खुमा हुने भएपछि ललितपुर प्रशासनले तोक्यो ६ महिनासम्म प्रदर्शन गर्न नपाउने क्षेत्र « Eglish Khabarhub

प्रसाईंको कार्यक्रम बल्खुमा हुने भएपछि ललितपुर प्रशासनले तोक्यो ६ महिनासम्म प्रदर्शन गर्न नपाउने क्षेत्र



काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले मन्त्री निवास पुल्चोकसहितका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार सूचना जारी गर्दै ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित युएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि निषेधाज्ञा जारी गरेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मन्त्री निवास पुलचोकको पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्म नारा जुलुस र प्रदर्शनका लागि निषेध गरेको हो ।

पण्डितले जारी गरेको सूचनामा भनिएको छ ‘चार किल्लाभित्र मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्म पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा मंसिर ७ गतेको प्रदर्शनका लागि अनुमति दिएपछि ललितपुर प्रशासनले अन्यक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो । नेकपा एमाले निकटको युवा संघले तीनकुनेमा सोही दिन प्रदर्शनको तयारी गरेपछि प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिइएको थियो ।

Publish on: