
काठमाडौं । सडक यातायातको दूरी कम गर्न काठमाडौं–रसुवागढी सडकको छहरे खण्ड र सुरक्षित यात्रा सुनिश्चित गर्न सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको पूर्वतयारी काम तीब्र गतिमा अगाडि बढाएको छ ।
सरकारले सुरुङमार्गको कार्य सुरु गर्नु अघि पूरा गनुपर्ने काम तीब्र गतिमा अगाडि बढाएको हो । शुक्रबार गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका कर्मचारीहरु सुरुङमार्गका पूर्वतयारी कार्य के–कस्तो भइरहेको छ भन्नेबारे निरिक्षण गर्न पुगेका थिए।
केन्द्रका पदाधिकारीहरु शुक्रबार गएर शनिबार सुरुङमार्गको अनुगमन गरेर फर्केका थिए । केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडीई) दीप बाराहीले केन्द्रका टोली शुक्रबार आयोजनाको निरिक्षण गर्नका लागि गएर शनिबार फर्किएको बताए । उनका अनुसार अहिले सुरुङमार्गको पूर्वतयारी गर्नुपर्ने पूर्वाधार निर्माणको लागि दक्षिण र उत्तर क्षेत्रबाट तीब्र गतिमा कार्य अगाडि बढाएको छ ।
सरकारले यातायातको दुरी कम गर्ने उद्देश्यका साथ विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार गर्न २०७३/७४ मा पहिलो पटक बजेटमा घोषणा गरेको थियो । घोषणा गरेको चार वर्षपछि सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले २०७८ मा ठेक्का सम्झौता गरेको थियो । जसमा नेपालले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड २१ लाखमा चाइना स्टेटले सम्झौता गरेको थियो ।
उक्त सम्झौताअनुसार चाइनिज कम्पनीले तीब्र गतिमा कार्य बढाएको पाइएको उनले बताए । आयोजनाको काम दशैंअघिबाट सुरु भएको थियो । हालसम्ममा सुरुङमार्गको पूर्वतयारीका मुख्य कार्यहरुमध्ये साईट क्याम्प निर्माण, झुस्सादेखि साइट वर्कशपसम्म ३३ केभीको विद्युतीय तार जाडन गर्ने कार्य र वायर हाउस निर्माण कार्य तीव्र गतिमा बढेको केन्द्रले जनाएको छ । साथै, दक्षिण र उत्तरतर्फबाट पूर्वाधार निर्माणको कार्य अघि बढाएको छ ।
त्यसैगरी, कामदारहरुका लागि आवासीय भवन निर्माण, वर्कशपमा फ्यूल स्टेशन इस्टलेशनको कार्य, सिमेन्ट सिलोस ट्याङ्क र ब्याचिङ प्लान्ट इस्टलेशनको कार्य, सुरुङ मार्गको नर्थ पोर्टल र साउथ पोर्टल नजिकैको सडक डाइभर्सनको कार्य भइरहेको छ। त्यस्तै चिडियाखोलादेखि सिद्धबाबा मन्दिरसम्म ११ केभीको विद्युतीय तार जडान गर्ने कार्य सम्पन्न भइसकेको र ल्याब इक्वीपमेन्टहरुको सेटअप, ल्याबमा भएका इक्वीपमेन्टहरुको क्यालीब्रेसन र स्लोप कटिङको कार्य भइरहेको छ ।
पाँच वर्षमा निर्माण कार्य सम्पन्न गरी पुनः निर्माणदेखि सम्पूर्ण कार्य गर्नका लागि १५ वर्षसम्म सञ्चालन गर्न पाउने सम्झौता भएकाले उक्त अवधिमा सम्पूर्ण कार्य सम्पन्न हुने केन्द्रले जनाएको छ । तर, बजेट भने न्यून विनियोजन भएको पाइन्छ ।
चालु आर्थिक वर्षमा केन्द्रले उक्त आयोजनाको कार्य अघि बढाउन ३ अर्ब बजेट माग गरेको थियो । तर, चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ मात्रै बजेट मात्रै बजेट विनियोजन भएको केन्द्रले जनाएको छ ।
केन्द्रका सीडीईले अर्थतन्त्रमा देखिएको समस्याका कारण आयोजनाको लागि बजेट विनियोजन गर्न नसकेको भन्दै अर्थ मन्त्रालयले ४५ करोड रुपैयाँ मात्रै विनियोजन गरेको बताए ।
‘अहिले पूर्वतयारी पूर्वाधारको कार्य तीब्र गतिमा अगाडि बढाएको छ,’ उनले भने, ‘पूर्वाधारको निर्माण गर्न अन्य बजेटको आवश्यक परेमा समयमै रकमको सुनिश्चित गर्नेछौं ।’
उनकाअनुसार हाल सुरुवाती चरणको कार्य अगाडि बढेकाले बजेटमा कुनै समस्या छैन । चीनियाँ कम्पनीले कार्य अगाडि बढाउन छिटोभन्दा छिटो कार्य गरेमा सोहीअनुसार बजेटको व्यवस्था गर्नेछ ।
यातायात सहज बनाउनका ११ सय २६ मिटर सुरुङमार्गको लम्बाइसँगै उक्त क्षेत्रमा २३ सय ९८ मिटर सडकको स्तरोन्नती हुनेछ । जसमा बुटवलतर्फ ९०४ मिटर, ९ सय ४४ मिटर टनेल सेक्सन र ५ सय ५० मिटर पाल्पातर्फ सडकको स्तरोन्नती हुनेछ ।
साथै, ७ सय ८० मिटर रक सेडको लम्बाइ हुनेछ भने तीनवटा बाइसपास सुरुङ हुनेछ । जसमा १ सय ५५ मिटरको पहिलो बाइपास, १ सय ४५ मिटरको दोस्रो बाइपास र १३१ मिटरको तेस्रो बाइपास हुनेछ ।
सुरुङमार्ग निर्माणपछि उक्त बाटोमा चल्ने ठूला सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताका सवारीलाई रकसेडबाट पठाउने योजना छ । ठेलागाडा, साना टेम्पो कम लोडका गाडी रकसेडबाट पठाइने र अरू अधिकांश सवारी सुरुङबाट आवतजावत गर्नेछन् ।
SHARE YOUR THOUGHTS