काठमाडौं । उच्च अदालत पाटनले एनसेलको मुद्दामा अर्को पेशी पुस २ गते तोक्ने आदेश दिएको छ । प्रतिवादी युनिभेरा क्यापिटल भेन्चरको ठेगाना पत्ता नलागेका कारण अदालतको म्याद नपुगेको भन्दै उच्च अदालत पाटनले निवेदकका नाममा बतन स्पष्ट खुलाउन पनि आदेश दिएको छ ।
दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्री गर्ने सूचनाको आधारमा निवेदक गोकुल बहादुर रोकायाले मंसिर १४ गते तथा खरिद बिक्री गरिएको जानकारी आएपछि मंसिर २० गते हालेको मुद्दामा सोमबार बहस पछि न्यायाधीश पुरुषोत्तमप्रसाद ढकाल तथा नृपध्वज निरौलाको संयुक्त इजलासले छलफलका लागी दुबै पक्षलाई बोलाएको पाटन उच्च अदालतका उप रजिस्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
मंसिर २० गते एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु मंसिर २५सम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
एनसेलको सेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै गोकुलबहादुर रोकायाले उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौ , नेपाल दुरसंचार प्राधिकरण जमल , नेपाल धितोपत्र बोर्ड खुमलटार , सुचना तथा संचार प्रविधी मन्त्रालय , आजियटा लिमिटेड , युनिभेरा क्यापिटल भेन्चर र आजियटा समुह बोर्ड विरुद्ध मंसिर १४ गते मुद्दा दायर गरेका थिए भने मंसिर २० गते फेरि कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वर, नेपाल दुरसंचार प्राधिकरण जमल, नेपाल धितोपत्रबोर्ड खुमलटार, सुचना तथा संचार मन्त्रालय सिंहदरवार, आजियटा समुह बहार्ड , स्पेक्ट्रलाइट यूके लिमिटेड , युनिभेरा क्यापिटल भेन्चर र आन्तरिक राजस्व बिभाग ठुला करदाता कार्यालय हरिहरभवन विरुद्ध अर्को मुद्दा दायर गरेका थिए ।
मलेसियन कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो सेयर नेपाली मूलका सिंगापुरका नागरिक सतीशलाल आचार्यलाई बिक्री गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएपछि रोकायाले उक्त सेयर किनबेच रोक्न मुद्दा दायर गरेका थिए ।
आजियटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स आचार्यको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको जानकारी गराएकाे थियो । आजियटाको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको जनाएको थियो ।
SHARE YOUR THOUGHTS