कोशी करिडोर: माग साढे ३ अर्ब, स्रोत सुनिश्चितता २ अर्ब मात्रै « Eglish Khabarhub

कोशी करिडोर: माग साढे ३ अर्ब, स्रोत सुनिश्चितता २ अर्ब मात्रै



काठमाडौं । राष्ट्रिय गौरबको आयोजनामध्ये उत्तर–दक्षिण व्यापारिक करिडोर अन्तर्गत कोशी करिडोरको सडक स्तरोन्नती गर्न २ अर्ब रुपैयाँको मात्रै स्रोत सुनिश्चितता भएको छ ।

कोशी करिडोरअन्तर्गत खाँदवारी–संखुवासभा खण्डको खाँदवारीस्थित बरुण बजारको च्यानेज नम्बर ८० देखि च्याम्ताङ्गको च्यानेज नम्बर १३४ सम्मको लागि सडक स्तरोन्नतीका लागि उत्तर दक्षिण व्यापारिक विस्तार आयोजना निर्देशनालयले ३ अर्ब ५५ करोड रुपैयाँ माग गरेको थियो ।

तर अर्थ मन्त्रालयले २ अर्ब रुपैयाँको मात्रै स्रोत सुनिश्चित गरेको कोशी करिडोर खाँदवारी–किमाथांका सडक योजनाका योजना प्रमुख सबिन कोइरालाले जानकारी दिए ।

‘हामीले गत बर्ष नै ठेक्का लागिसकेको थप ४९ किलोमिटर सडक बिस्तार गर्ने लक्ष्यका साथ अघि बढेका थियौं, त्यसलाई द्रुत गतिमा अघि बढाउन ३ अर्ब ५५ करोड रुपैयाँ माग गरेका थियौं,’ कोइरालाले क्लिकमान्डुलाई भने, ‘तर अहिले जम्मा २ अर्ब रुपैयाँको मात्रै स्रोत सुनिश्चितता गरिएको छ ।’

निर्देशनालयका अनुसार माग अनुसार रकम प्राप्त भएको भए चालु आर्थिक बर्षमा ४९ किलोमिटर सडक खण्ड विस्तार गरी सडक स्तरोन्नती गर्ने लक्ष्य तोकिएको थियो । माग अनुसार रकमको स्रोत सुनिश्चित नहुँदा निर्देशनालयले अब भएको ग्राभेल सडकलाई १० किलोमिटर फराकिलो मात्रै पार्ने जनाएको छ ।

‘माग अनुसार बजेट नआएकाले भएको ग्राभेल सडकलाई १० मिटर फराकिलो पारेर ग्राभेल ओछ्याउने काम मात्रै सम्पन्न गर्ने योजना अघि बढाएका छौं,’ कोइरालाले भने, ‘बाँकी ४९ किलोमिटर खण्डको बजेट सुनिश्चित भएपछि मात्रै अघि बढाउने अवस्थामा पुगेका छौं ।’

लक्ष्य तोकेर काम सुरु गर्न खोज्दा पनि बर्षौसम्म सम्पन्न नहुनेमा मुख्य गरी सरकारले पर्याप्त परिमाणमा बजेट विनियोजन नगर्नु पनि प्रमुख कारण भएको यो योजनाको उदाहरणले देखाएको छ ।

निर्देशनालयका अनुसार हालसम्म संखुवासभाको खाँदवारीदेखि नेपालको उत्तरी सिमा किमाथाँकासम्म १६२ किलोमिटर सडक खण्डको काम भइरहेको छ ।

जसअनुसार खाँदवारीदेखि फाकसिण्डासम्म च्यानेज नम्बर ० देखि ५० सम्मको ग्राभेल सडकलाई कालोपत्रेमा स्तरोन्नती गर्ने काम भइरहेको छ । कालोपत्रेमा स्तरोन्नती गर्ने काम सुरु भएपनि हालसम्म एक किलोमिटर खण्डमा पनि कालोपत्रे गर्ने काम भने सम्पन्न भएको छैन ।

यस्तै फाकसिण्डादेखि बरुण बजारसम्म च्यानेज नम्बर ५० देखि ८० सम्मको खण्डमा ग्राभेल ट्रयाक खोलेर फराकिलो बनाएर ग्राभेल सडकमा स्तरोन्नती गर्ने काम भइरहेको छ । हालसम्म ७४ किलोमिटर खण्डमा ग्राभेल सडक निर्माण भइसकेको छ ।
त्यसैगरी बरुणबजारदेखि च्याम्ताङ्गसम्मको च्यानेज नम्बर ८० देखि १३४ सम्मको खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

अहिलेसम्म ८८ किलोमिटर खण्डमा कच्ची सडक तयार भएको छ भने ८० किलोमिटर खण्डको स्तरोन्नती गर्नका लागि ठेक्का लागिसकेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको च्यानेज नम्बर १३४ देखि १४८ सम्मको खण्डमा नेपाली सेनाद्वारा ट्रयाक खोल्ने काम भइरहेको छ । यो खण्डमा हालसम्म सेनाले ४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । यस्तै, घोङघोप्पादेखि किमाथाँकासम्मको च्यानेज नम्बर १४८ देखि १६२ सम्मको खण्डमा ट्रयाक खोल्ने काम पनि सम्पन्न भइसकेको छ ।

उत्तर–दक्षिण व्यापारिक करिडोरको कोशी करिडोरअन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा ५ वटा सडक खण्डलाई समावेश गरिएको छ । जसमध्ये उत्तर–दक्षिण (कोशी करिडोर), उत्तर–दक्षिण (कालिगण्डकी करिडोर), उत्तर–दक्षिण (कालिगण्डकी करिडोर दोश्रो), उत्तर–दक्षिण (कर्णाली करिडोर) र उत्तर–दक्षिण (कर्णाली करिडोर दोश्रो) हुन ।

यो करिडोर अन्तर्गत उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतलाई जोडेर व्यापारिक गतिविधि अघि बढाउने लक्ष्य सरकारले राखेको छ । उत्तर–दक्षिण व्यापारिक करिडोरअन्तर्गत कूल ३ सय ९० किलोमिटर सडक निर्माण हुनेछ ।

उत्तर–दक्षिण व्यापारिक करिडोर अन्तर्गत कोशी करिडोर सम्पन्न गर्न ११ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान रहेकोमा हालसम्म ९ अर्ब रुपैयाँ खर्च भइसकेको कोइरालाले जानकारी दिए ।

उनका अनुसार हालसम्म ७ अर्ब १५ करोड ४२ लाख रुपैयाँबराबरको ठेक्का लागेकोमा ५ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ । अझै २ अर्ब ९३ करोड रुपैयाँबराबरको ठेक्का लाग्न बाँकी रहेको कोइरालाले बताए ।

यो आयोजनाअन्तर्गत पनि निर्धारित समयमा पूर्वाधारका काम अघि बढ्न नसक्नुमा केही समस्याहरु भेटिएको पनि कोइरालाले जानकारी दिए । उनका अनुसार ३९ किलोमिटरको खाँदवारीदेखि नुम सडक खण्डमा बिद्युतीय पोलको स्थानान्तरण तथा जग्गा मुआब्जासम्बन्धी विवाद लामो समयदेखि समाधान नहुँदा लक्ष्यअनुसार काम गर्न सकिएको छैन ।

‘यसका साथै निर्माण कार्य अवधी पनि निक्कै कम हुँदा उक्त अवधीमा ठेक्केदारहरुले दु्रतगतिमा काम नगरिदिंदा र पर्याप्त बजेट उपलब्ध नहुँदा ठूलो समस्या आएको हो,’ कोइरालाले क्लिकमाण्डुलाई बताए, ‘स्तरोन्नती गर्न बाँकी सडक खण्डको लागि स्रोत सुनिश्चितता तथा बहुवर्षीय ठेक्का सहमतिमा जानुपर्छ भनेर मन्त्रालयसँग नियमित रुपमा छलफल गरिरहेका छौं ।’

निर्देशनालयका अनुसार बरुणखोलादेखि किमाथाँकासम्मको खण्डमा आयोजना समयावधीभित्र निर्माण गर्न अर्को ठूलो चुनौती देखापरेको छ । उक्त खण्डको लागि हालसम्म ठेक्का आह्वान गर्न स्रोत नै सुनिश्चित भएको छैन ।

Publish on: