
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोही गाउँपालिका–१ अन्तर्गतकामा सडक ढलान गर्नको लागि विनियोजन भएको रकममा भ्रष्टाचार गरेको भन्दै भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहका साथै इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर सञ्जय कुमार मंडलले योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार काम नगरी ८ लाख ६५ हजार १४५ रुपैयाँ भुक्तानी गरेको भन्दै उक्त रकम बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।
उपाध्यक्ष खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार श्री जानकी कन्सट्रक्शनका सञ्चालक राकेश कुमार रायले गलत नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको आधारमा भुक्तानी लिएको पाइएको छ । आयोगले रायलाई ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो कायम गरेर आरोप पत्र दायर गरेको छ ।
SHARE YOUR THOUGHTS