१३ अर्बमा तामाकोसी-५ निर्माणको जिम्मा सिनो हाइड्रोलाई, एक महिनाभित्र काम सुरु हुने  « Eglish Khabarhub

१३ अर्बमा तामाकोसी-५ निर्माणको जिम्मा सिनो हाइड्रोलाई, एक महिनाभित्र काम सुरु हुने 



काठमाडौं । ९९.८ मेगावाटको तामाकोसी-५ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले पाएको छ ।

शुक्रबार तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच सम्झौता भएको हो । १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिल र हाइड्रोमेकानिकलको ठेक्का सिनो हाइड्रोले पाएको थियो । सिनो हाइड्रो र कुमार श्रेष्ठ जेभीको सयुक्त उपक्रमले ठेक्का पाएको हो ।

तामाकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विनोद भण्डारीले एक महिनाभित्र काम सुरु हुने बताए । उनका अनुसार पूर्व तयारीकाम कामहरु लगभग सकिएको छ । ‘आयोजनालाई चाहिने जग्गा अधिग्रहण भइसकेको छ । ३ महिनाभित्रै क्याप साईट फाइनल हुन्छ,’ उनले भने, ‘काम सूरु गर्नका लागि समस्या छैन ।’

आयोजनाले निकालेको ठेक्कामा आवेदन दिएकामध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सीईडब्लुई) प्राविधिक प्रस्तावमा पास भएका थिए । प्राविधिक प्रस्तावमा पास भएका कम्पनीसंग वित्तिय प्रस्ताव मागिएको थियो । सिनो हाइड्रोले सबैभन्दा कम कबोल गरेपछि ठेक्का पाएको हो । सिनो हाइड्रोले अनुमानभन्दा ६ प्रतिशत कम मूल्यमा र सीईडब्लुईले १५ प्रतिशत बढीमा ठेक्का कबुल गरेका थिए ।

सिनो हाइड्रो त्यहि कम्पनी हो जसले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणको काम समयमा पूरा गरेको थियो । इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले छाडेपछि मेलम्ची खानेपानी आयोजनाको बाँकी काम निर्माणको जिम्मा पाएको थियो । १४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको पावर हाउस (विद्युत् गृह) निर्माणको ठेक्का पाएको छ ।

यो आयोजनाको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड हो । क्यासकेड आयोजना भएका कारण हेडवर्क्स बनाइरहनु पर्दैन ।

माथिल्लो तामाकोसीको टेलरेस टनेलबाट निस्कने पानीलाइ सिधै डाइभर्सन बनाएर तामाकोसी-५ को सुरुङमार्गमा ल्याइनेछ । हेडवर्क्स बनाउनु नपर्ने भएकाले यो आयोजना वित्तिय रुपमा आकर्षक मानिन्छ ।

यो जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)  भइसकेको छ । भने फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) समेत भएको छ । गएको जेठ ७ गते नेपाल विद्युत प्राधिकरण, तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड र कर्मचारी सञ्चयकोषबीच सम्झौता भएको हो । आयोजना निर्माणका लागि २१ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। कर्मचारी सञ्चयकोष एक्लैलै १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) रिपोर्ट समेत तयार  छ। आयोजनाका लागि ८ किमी सुरुङमार्ग निर्माण गर्नुपर्छ । माथिल्लो तामाकोसीको जस्तै विद्युत गृह (पावर हाउस) भुमिगत हुनेछ ।

Publish on: