१०२ वर्षे बिरासत बोकेको गोल्छा परिवारको व्यापार: १ वर्षमा १२ कम्पनीले गरे पौने खर्बको कारोबार « Eglish Khabarhub

१०२ वर्षे बिरासत बोकेको गोल्छा परिवारको व्यापार: १ वर्षमा १२ कम्पनीले गरे पौने खर्बको कारोबार

साढे ३४ अर्ब कर्जाको रेटिङ


३१ बैशाख २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उद्दोग तथा व्यापारमा एक शताब्दी लामो इतिहास बोकेको गोल्छा परिवार नेपालको परिचित व्यवसायिक घराना हो । नेपालको व्यापारिक क्षेत्रमा सय वर्षको बिरासत बोकेको यस परिवारका हाल १०० भन्दा बढी कम्पनी उद्योग व्यापारमा सक्रिय छन् । त्यसमध्ये सञ्चालनमा रहेका १२ वटा कम्पनीले एक आर्थिक वर्षमा पौने १ खर्ब रुपैयाँको व्यापार गरेका छन् ।

गोल्छा परिवारले सञ्चालन गर्दै आएका कम्पनीहरुको व्यापारको तथ्याङ्कअनुसार वार्षिक १ खर्ब बढी रुपैयाँको कारोबार गर्ने देखिन्छ ।

१०२ वर्षअघि रामलाल गोल्छा भारतबाट नेपाल छिरेर बिराटनगरमा जीबिका चलाउन जुट खेती सुरु गरेका थिए । आफ्नो जीबिका चलाउन जुट खेती सुरु गरेको गोल्छा नेपालको व्यवसायिक क्षेत्रको पायोनियर मानिन्छ ।

नेपालमा औद्योगिक विकासको शुरुवात गर्ने व्यापारिक समूह हो, गोल्छा परिवार । रामलाल गोल्छाले विराटनगरदेखि काठमाडौं आई राणा प्रधानमन्त्री जुद्धशमशेरलाई भेटेर उद्योग भए देशभित्र उत्पादन हुन्छ, रोजगारी बढ्छ भनेर उद्योग स्थापनाको महत्त्वबारे बुझाएका थिए। त्यसपछि, तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले गोल्छालाई अघि सारेर देशकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापना गरे।

१६ वर्षको उमेरमा उनका बाबु पदमसिंह गोल्छाको निधनपछि रामलाल बसाईं सरेर फारबिसगन्ज आएका थिए। त्यहाँ केही वर्ष बसेपछि उनी नेपाल आएका थिए।

रामलालले नेपालमा सन् १९३१ मा हंसराज हनुमान मल कम्पनी दर्ता गरेर जुट उत्पादन गर्दै भारतमा निर्यात गरेको इतिहास छ। त्यस्तै रामलालले सन् १९३७ मा विराटनगर जुट उद्योग स्थापना गरेको थिए । जुटबाट व्यावसायिक कारोबार सुरु गरेको गोल्छा परिवारको अहिले अधिकांश क्षेत्रमा लगानी छ । यो समूहले अहिले अटोमोबाइल, इलेक्ट्रिक, फाइनान्स, इन्स्योरेन्स, बायोसाइन्स, अल्टरनेटिभ इनर्जी, निर्माण क्षेत्र, कृषि, सूचना प्रविधि र अन्य उत्पादन क्षेत्रमा ठूलो लगानी छ ।

गोल्छा अर्गनाइजेसनलाई नेपाली उत्पादनको विदेश निकासी गर्ने देशकै पहिलो समूह पनि मानिन्छ । सन् १९८१ मा गोल्छा अर्गनाइजेसन र स्विट्जरल्याण्डको कमक्राफ्टले संयुक्तरूपमा ग्रीनफिल्ड उद्यमको रूपमा हुलास स्टिल इन्डस्ट्रिज स्थापना गरेको थियो ।

समूहले सन् १९८८ मा विद्युतीय सामाग्रीहरू उत्पादन र आपूर्ति गर्न हिम इलेक्ट्रोनिक्स सुरु गर्यो। गोल्छा अर्गनाइजेसनको अर्को प्रमुख व्यावसायिक संस्था हंसराज हुलासचन्द एण्ड कम्पनी (एचएच बजाज)ले नेपालमा लोकप्रिय दुई पाङ्ग्रे ब्राण्ड बजाजको परिचय दिन सन् १९९८ मा सुरु गरेको थियो।

रामलालका नाति शेखर नेपालका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत हुन् ।

पछिल्लो समय गोल्छा परिवारको व्यवसाय परिवारका सदस्यहरु छुट्टाछुट्टै सञ्चालनमा आएसँगै संस्थागत पुनर्संरचना पनि भएको छ । पहिलो पुस्ता अर्थात् रामलालले सुरु गरेको व्यापार उनका छोराहरु हंसराज गोल्छा र हुलासचन्द गोल्छाले नयाँ उचाईमा पुर्याएका थिए । त्यस्तै अहिले हंसराज र हुलासचन्दका छोराहरु अर्थात् तेस्रो पुस्ता (लोकमान्य गोल्छा, दिवाकार गोल्छा, चन्द्रकुमार गोल्छा, राजकुमार गोल्छा, दिनेश गोल्छा, महेन्द्र गोल्छा, सुरेन्द्र गोल्छा, शेखर गोल्छा)सँगै चौथो पुस्ता (हेमन्त गोल्छा, आकाश गोल्छा, हितेश गोल्छा, भरत गोल्छा, शरद गोल्छा, रवि गोल्छा, युक्ति गोल्छा, एकता गोल्छा, कोमल गोल्छा र अभिमन्यु गोल्छा) लगायतले नयाँ-नयाँ क्षेत्रमा लगानी विस्तार गरी नयाँ उचाईमा लैजाने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय गोल्छा परिवार विभिन्न समूहमा बाँडिएको छ । जसमा शेखरले गोल्छा ग्रुप मार्फत् व्यवसाय सञ्चालन गरिरहेका छन् भने अर्को आरके गोल्छा ग्रुपबाट विभिन्न कम्पनीहरु सञ्चालित छन् । दिवाकर गोल्छा कर्पोरेशनको नेतृत्व अहिले हितेश र हिमांशु गोल्छाले गरेका छन् । त्यस्तै दिनेश गोल्छाका विभिन्न व्यापार छन् । उनीहरु सबैलाई गोल्छा अर्गनाइजेशनले बाँधेको छ। गोल्छा परिवार विभिन्न समूहमा बाँडिदा अहिले तीन पुस्ताले व्यापार सम्हालिरहेका छन् । जहाँ चौथो पुस्ता पनि सक्रिय छ।

उत्पादनमूलक उद्योगबाट व्यवसायमा प्रवेश गरेको गोल्छा परिवारका सदस्यहरु पछिल्लो समय व्यापारमा केन्द्रित भएको देखिन्छ ।

गोल्छा परिवारले देशभर सयभन्दा बढी कम्पनीहरुमार्फत् व्यापार गर्दै आएको छ । गोल्छा परिवारका कम्पनीहरुमध्ये क्लिकमान्डुले संकलन गरेको १२ वटा कम्पनीले सन् २०२२ मा ७६ अर्ब ११ करोड ६२ लाख रुपैयाँको व्यापार गरेको देखाउँछ।

संकलित तथ्याङ्कअनुसार सन् २०२२ मा हिम इलेक्ट्रोनिक प्रालिले ८ अर्ब १६ करोड ३० लाख रुपैयाँ, हुलास वायर इन्डष्ट्रिजले ३ अर्ब ८२ करोड ५० लाख रुपैयाँ, हुलास स्टिल इन्डष्ट्रिजले १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ, जि ओ अटोमोबाइल प्रालिले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ र हुलास अटो क्राफ्ट प्रालिले १० अर्ब ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको पाइएको छ।

त्यसैगरी सन् २०२२ मा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, भुदियो खाद्य उद्योगले ९८ करोड ३० लाख रुपैयाँ, नियोटेरिक नेपाल प्रालिले ५ अर्ब ६२ करोड ६० लाख रुपैयाँ, रघुपति जुट मिल्सले २ अर्ब ५८ करोड १० लाख रुपैयाँ, अरिहन्त पोलिप्याक लिमिटेडले ९८ करोड ६० लाख रुपैयाँ, मेट्रिक्स प्रालिले १ अर्ब ९ करोड ६० लाख रुपैयाँ र अरिहन्त मल्टी फाइबर लिमिटेडले ३ अर्ब ८१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको तथ्याङ्कले देखाउँछ ।

साढे ३४ अर्ब कर्जाकाे रेटिङ

गोल्छा अर्गनाइजेशनको १२ वटा कम्पनीले एक आर्थिक वर्षमा ७६ अर्बको कारोबार गर्दा उक्त कम्पनीमार्फत् साढे ३४ अर्बको रेटिङ गराएको थिए । रेटिङ एजेन्सीले सार्वजनिक गरेको तथ्याङ्अनुसार सन् २०२२ मा १२ वटा कम्पनीले ३४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको थिए ।

तथ्याङ्कमा हिम इलेक्ट्रोनिक प्रालिले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६१ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको थियो । त्यस्तै अर्गनाइजेशनको हुलास वायर इन्डष्ट्रिजले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब २७ करोड रुपैयाँ, हुलास स्टिल इन्डष्ट्रिजले ८ अर्ब ७५ करोड ५ लाख रुपैयाँ, जि ओ अटोमोबाइलले १ अर्ब ६ करोड रुपैयाँ र हुलास अटो क्राफ्टले ३ अर्ब २ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको थियो ।

त्यसैगरी, हंसराज हुलासचन्द एण्ड कम्पनीले ५ अर्ब ४९ करोड रुपैयाँ, नियोटेरिक नेपालले ३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ, श्री रघुपति जुट मिल्सले ५८ करोड २१ लाख रुपैयाँ, अरिहन्त पोलिप्याकले ९८ करोड८ ३९ लाख रुपैयाँ, मेट्रिक प्रालिले ६४ करोड रुपैयाँ र अरिहन्त मल्टी फाइबरले ७७ करोड रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको पाइएको छ ।

कुन-कम्पनीको व्यापार कति ?

हिम इलेक्ट्रोनिक्स प्रा लिः नेपालमा सामसङ ब्रान्डको मोबाइल बेच्ने शेखर गोल्छाको हिम इलेक्ट्रोनिक्स प्रालिले सन् २०२२ मा ८ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा ४ अर्ब ७० करोड ८० लाख, सन् २०१९ मा ५ अर्ब ९ करोड २० लाख र सन् २०१० मा ५ अर्ब ५१ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९८ मा स्थापना भएको कम्पनीले सामसङ ब्रान्डको मोबाइल र विद्युतीय घरायसी सामग्री आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । हिम इलेक्ट्रोनिक्स सामसङ ब्रान्डको मोबाइल र विद्युतीय सामग्री बिक्री गर्ने आधिकारिक कम्पनी हो।

कम्पनीले बजाज, इन्डोसियन र ओश्रम ब्रान्डको विद्युतीय तथा साना उपकरण र टाइमेक्स घडी आयात गरी बिक्री गर्दै आएको छ । त्यस्तै हिमस्टार ब्रान्डको इलेक्ट्रोनिक्स सामग्री, घरायसी समग्री र बिजुलीको सामग्री जस्तै सोलार प्यानल र इन्भर्टरको एसेम्बल गर्दै आएको छ । गोल्छा अर्गनाइजेशनको लगानी रहेको कम्पनीमा शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व छ भने बाँकी हिस्सा उनका परिवारको छ ।

कम्पनीका देशभर ४ वटा वेयरहाउस, ९ हजारभन्दा बढी साना तथा ठूला डिलर, १३ वटा शाखा र ४० वटा सर्भिस सेन्टर छन् । कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ६१ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको थियो ।

हुलास वायर उद्योग लिमिटेड: गोल्छा ग्रुपद्वारा सञ्चालित हुलास वायर उद्योग लिमिटेडको व्यापार सन् २०२२ मा सन् २०२१ को तुलनामा २१ प्रतिशतले घटेको थियो । कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा ३ अर्ब ८२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपाली बजारमा चर्चित हुलास ब्रान्डमा स्टिलजन्य वस्तु बिक्री वितरण गर्दै आएको कम्पनीले सन् १९७९ बाट उत्पादन सुरु गरेको थियो । कम्पनी गोल्छा ग्रुपद्वारा सञ्चालित छ । जसमा इशान गोल्छाको २९ प्रतिशत र राज्यलक्ष्मी गोल्छाको १७ प्रतिशत स्वामित्व छ । बाँकी ५४ प्रतिशत पनि गोल्छा परिवार भित्रकै व्यक्तिगत २२ जनाको स्वामित्व रहेको कम्पनीले जनाएको छ । कम्पनीले हुलास ब्रान्डमा जीआई तार, टीएमटी बार, बार सिट र अन्य मेटल र स्टिलजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले आफ्नो उत्पादन आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ५५ हजार मेट्रिक टन जीआई वायर, ६० हजार मेट्रिक टन टीउमटी बार, ३६ हजार मेट्रिक टन ट्युब मिल्स र १८ हजार मेट्रिक टन गाबिवन बक्स र १६ हजार ८५० मेट्रिक टन रिब्डरएजबीरबार्ब्ड वायर, कपर अलोइ र जस्तापाता उत्पादन गर्दै आएका छन् ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब २७ करोड ८६ लाख रुपैयाँको रेटिङ गराएको थियो । जसमध्ये कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब १९ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको थियो ।

हुलास स्टिल इन्डष्ट्रिजः हितेश र हिमांशु गोल्छाले लिड गरिरहेको दिवाकर गोल्छा कर्पोरेशन (गोल्छा समूह)द्वारा सञ्चालित हुलास स्टिल इन्डष्ट्रिजले एकै वर्ष साढे १५ अर्बको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ११ अर्ब ४७ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा ६ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र सन् २०१९ मा ८ अर्ब ५४ करोड ६७ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८१ मा स्थापना भएको कम्पनीमा चार्नले डेभलेपमेन्ट कम्पनीको ५० प्रतिशत हिस्सा छ । त्यसबाहेक कम्पनीमा गोल्छा समूहका सदस्य जयश्री गोल्छाको २१ प्रतिशत, हिमांशु गोल्छाको ६ प्रतिशत, हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटलको ६ प्रतिशत तथा अन्यको स्वामित्व छ ।

कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी बिक्री गर्दै आएको छ। कम्पनीले स्टिल सिट्स, पाइपलगायतका विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी एचआर स्टिल सिट्स कच्चा पदार्थ आयात गरी स्टिलजन्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।

हुलास स्टिल इन्डष्ट्रिजले जिन्क, आल्मुनियम र सीआर सिट्स पनि आयात गर्दै आएको छ । वार्षिक ४ लाख ८१ हजार ७६२ टन स्टिलजन्य सामग्री उत्पादन गर्ने कम्पनीको क्षमता छ । कम्पनीले वार्षिक ५० हजार टन पाइप र ३ लाख ९४ हजार ७ सय टन सिट्ससहित आल्मुनियम स्ट्रक्चर, वेल्डेड स्ट्रक्चर, पाइप फिटिङ आदि उत्पादन गर्दै आएको छ । उक्त सामग्रीमध्ये ९२ प्रतिशत हिस्सा पाइप र सिट्सको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीका अनुसार सन् २०२२ मा आम्दानी गरेकोमध्ये ७१ प्रतिशत हिस्सा सिट्स र ११ प्रतिशत पाइपबाट भएको छ । कम्पनीले ‘हुलास’ ब्रान्डमा उत्पादित सामग्री बिक्री गर्दै आएको छ ।

जि ओ अटोमोबाइल प्रा लि: जिओ अटोमोबाइलले सन् २०२२ मा १ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२३ मा ४४ प्रतिशतले घटेर ८३ करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ४४ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ६७ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार पछिल्लो २ वर्षको अवधिमा कम्पनीको व्यापार ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

फोर्ड ब्राण्डको गाडीका लागि नेपालको आधिकारिक बिक्रेता रहेको कम्पनीले गाडीको स्पेयर र एसोसरिज र फोर्ड ब्राण्डको गाडीको लागि सर्भिसको पनि सुविधा दिँदै आएको छ । कम्पनीको प्रबन्ध निर्देशक आकाश गोल्छा हुन् । कम्पनीमा आकाश गोल्छासँगै शेखर गोल्छा र लोकमान्य गोल्छाको स्वामित्व छ । उक्त कम्पनीमा शेखरको अत्यन्तै कम स्वामित्व छ ।

भारत सरकारले सन् २०२१ मा फोर्ड ब्राण्डको गाडीको उत्पादन बन्द गरेको थियो। बन्द हुनुअघि भारतबाट आयात गरी बिक्री वितरण गर्दै आएकोमा अहिले कम्पनीले थाइलायन्डबाट आयात गरी बिक्री वितरणलाई निरन्तरता दिइरहेको छ।
यता भारतबाट भने कम्पनीले इकोस्पोर्ट, फिगो ब्राण्डको सवारी साधान आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

हुलास अटो क्राफ्ट प्रा लिः नेपालमै बजाज ब्राण्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको एसेम्बल गर्दै बिक्री वितरण गर्दै आएको हुलास क्राफ्टले सन् २०२२ मा १० अर्ब ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले चालु आवको ८ महिनाको अवधिमा ३ अर्ब २३ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

नेपालमा पहिलो पटक दुई पाङ्ग्रे सवारी साधनको एसेम्बल प्लान्ट निर्माण गरी उत्पादन सुरु गरेको कम्पनीले सन् २०१८ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो । तीन पाङ्ग्रे सवारी साधनको भने सन् २०१९ बाट व्यवसायिक कारोबार सुरु गरेको थियो । सन् २०१३ मा स्थापना भएको कम्पनीमा शेखरको ८० प्रतिशत र आकाशको २० प्रतिशत स्वामित्व छ ।

हंसराज हुलासचन्द कम्पनी प्रा लि: बजाज ब्राण्डको दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, केटीएम ब्राण्डको दुई पाङ्ग्रे सवारी साधन र सर्भो लुब्रिकेन्ट बेच्दै आएको हंसराज हुलासचन्द कम्पनीले सन् २०२२ मा ‍ २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा १६ अर्ब ७१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

नेपाली बजारमा बजाज ब्राण्डको दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र केटीएम ब्राण्डको सवारी साधन बिक्री गर्दै आएको हंसराज कम्पनीले सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले चालु आवको ८ महिनाको अवधिमा ७ अर्ब २० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् १९५९ मा स्थापना भएको कम्पनी काठमाडौंमा छ । दुईवटा शोरुम र देशभर ३०१ वटा प्रादेशिक डिलरसीप छ । कम्पनीमा १९ सदस्यको स्वामित्व छ । जसमा सबैभन्दा बढी सेयर शेखरको छ । शेखरको मात्रै कम्पनीमा ५३.८ प्रतिशत हिस्सा छ । त्यस्तै कम्पनीका अन्य सदस्यको कम्पनीमा कम्तिमा ३‍‍.७५ प्रतिशत हिस्सा छ ।

शेखर अध्यक्ष रहेको कम्पनी सन् १९९८ देखि नेपालको एक मात्र बजाज ब्राण्डको दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता हो । कम्पनीले बाइक सेग्मेन्टमा नेपाली बजारको ४३ प्रतिशत हिस्सा ओगटेको छ । देशभर ३०३ वटा बिक्री शाखा रहेको कम्पनीले व्यापार गर्दै आएको तीन पाङ्ग्रे सवारी साधन सेग्मेन्टमा नेपाली बजारको ४९ प्रतिशत हिस्सा ओगटेको छ ।

चालु आवमा कम्पनीले ८ महिनाको अवधिमा ७ अर्बको व्यापार गर्दा पल्सर ब्राण्डको मोटरसाइकालको मात्रै ६२ प्रतिशत हिस्सा रहेको छ ।

भुदियो खाद्य उद्योग: हुलास अर्गनाइजेसनअन्तर्गको भुदिओ खाद्य उद्योगले सन् २०२२ मा ९८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीले ८३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै सन् २०२३ मा कम्पनीको व्यापार एक अर्बमाथि पुगेको छ । सन् २०२३ मा कम्पनीको कुल ब्यापार १ अर्ब ९ करोड १० लाख रुपैयाँ पुगेको हो । सन् २००१ मा सुरु भएको भुदेउ खाद्य उद्योग प्रालि प्रदेश १ को विराटनगरमा दर्ता रहेको कम्पनी हो । यो कम्पनीले धानलाई प्रशोधन गरेर चामलसँगै हुलास मैदा, सुजि, दाल, आँटा, पिठो, हुलास भुजाजस्ता उत्पादनहरु गर्दै आएको छ भने कम्पनीले हन्स राइस मिलको पनि सुरुवात गरेको छ ।

कम्पनीसँग वर्षेनि १९ हजार ८ सय मेट्रिक टन उत्पादन हुने गरिको कारखाना लालबन्दी सिराहामा रहेको छ । कम्पनीसँग नेपालभरमा ८ वटा शाखा कार्यालयहरु पनि रहेको छ । दुई दशक लामो समयदेखि सञ्चालनमा रहेको कम्पनीको बोर्डमा गोल्छा परिवारका सदस्यहरु रहेका छन् भने यो कम्पनी गोल्छा ग्रुप अन्तर्गतकै कम्पनी हो । कम्पनीका अध्यक्ष लोकमान्य गोल्छा हुन् ।

नियोटेरिक नेपाल प्रा लिः नेपालको लागि आधिकारिक बिक्रेता नियोटेरिक नेपाल प्रालिले सन् २०२२ मा ५ अर्ब ६२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । गोल्छा ग्रुपद्वारा सञ्चालित डेल ल्यापटपको आधिकारिक विक्रेता रहेको कम्पनीले सन् २०२० मा २ अर्ब ३२ करोड ७० लाख र सन् २०१९ मा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ९२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनी सूचना प्रविधि क्षेत्रमा पनि संलग्न छ । नियोटेरिकले डेल ल्यापटपसँगै सर्भर थ्रुआउट नेपाल पनि सञ्चालन गर्दै आएको छ। कम्पनी नेपालका लागि नोकिया कर्पोरेशनको टेलिकमको सामग्री बेच्ने आधिकारिक विक्रेता पनि हो ।

कम्पनीले सन् २०२१ मा कोभिडको समयमा प्रविधिको उच्च प्रयोगकर्ता बढेकाले आम्दानीमा उछाल आएको जनाएको छ। आम्दानी गरेकोमध्ये नियोटेरिकले प्रविधि क्षेत्रको सेवाबाट गरेको जनाएको छ ।

कम्पनीले ३० वटाभन्दा बढी ब्रान्डमा र १ हजारभन्दा बढी सामग्री विक्री वितरण गर्दै आएको छ । नियोटेरिकले नोकिया, डेल टेक्नोलोजिस, डेल इएमसीड आइकभिजन, लोजिटेक, पिपललिंक, एसएपी र अन्य विभिन्न सामग्रीको बिक्री वितरण संलग्न छ । कम्पनीको देशभर ५ वटा शोरुम छ ।

सन् २००४ मा स्थापित भई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामग्री आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनी देशकै ठूलो आयातकर्ता हो । गोल्छा ग्रुपद्वारा सञ्चालित कम्पनीको अध्यक्ष सञ्जय गोल्छा हुन् ।

श्री रघुपति जुट मिल: गोल्छा अर्गनाइजेशन अन्तर्गतको आरके गोल्छा ग्रुपको अरिहन्त मल्टी फाइबर लिमिटेडको ६५ प्रतिशत हिस्सा, ३३ प्रतिशत अर्थ मन्त्रालय र २ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको श्री रघुपति जुट मिलले सन् २०२२ मा २ अर्ब ५८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा १ अर्ब ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सरकारको पनि स्वामित्व रहेको कम्पनीले सन् २०२१ मा २ अर्ब ३६ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९४६ मा नेपाल सरकारले स्थापना गरेको जुट मिलमा गोल्छा अर्गनाइजेशनले १९५६ मा लगानी गरेका थिए ।अर्गनाइजेशनले लगानी गरेको ४० वर्षपछि कम्पनीलाई सरकारले निजीकरण गरेको थियो । कम्पनीले हेसियन, स्याकिङ, ट्वाइन र क्यान्डिज र गन्नी जस्ता सामग्री उत्पादन गर्दै आएको छ ।

अरिहन्त मल्टी फाइबरले उत्पादन गरेको वस्तु भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी तयारी वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

अरिहन्त पोलिप्याक लिमिटेडः गोल्छा अर्गनाइजेशन अन्तर्गतको आरके गोल्छा ग्रुपको अरिहन्त पोलिप्याक लिमिटेडले सन् २०२२ मा ९८ करोड ६० लाख रुपैयाँमा व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ८० करोड २० लाख रुपैयाँ र सन् २०१९ मा ७७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ५१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २००८ मा स्थापना भएको कम्पनीले पोलिप्रोपोलिन ९पीपी० र हाइ–डेन्सिटी पोलिथिलिन (एचडीपीइ) ओभन फ्याब्रिक, नन-ओभन फ्याब्रिक, ओभन स्याक, ओभन र नन–ओभन सपिङ ब्याग, टर्पलिन, प्लास्टिक रोप र अन्य उद्योगमा प्रयोग हुने प्याकिङ ब्याग उत्पादन गर्दै आएको छ । कम्पनीमा १४ जनाको स्वामित्व छ भने कम्पनीको व्यवस्थापन निर्देशक राजकुमार गोल्छा हुन् ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गर्दै फ्याब्रिक बिक्री वितरण गर्दै आएको छ ।

अरिहन्त मल्टी फाइबर प्रा लिः राजकुमार (आरके) गोल्छा ग्रुपको स्वामित्व रहेको अरिहन्त मल्टी फाइबर लिमिटेडले सन् २०२२ मा ३ अर्ब ८१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ३ अर्ब ५ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७८ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ३ अर्ब ८० लाख रुपैयाँको व्यापार गरेको छ । सन् १९९२ मा स्थापना भएको अरिहन्त मल्टी फाइबरले हेसिन, स्याकिङ, ट्वाइन, क्यान्डीसलगायतका वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ। वार्षिक २२ हजार ९८४ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीमा १९ जनाको स्वामित्व छ ।

कम्पनीले जुटजन्य वस्तु ठूलो मात्रामा भारतमा निर्यात गर्दै आएको छ । सरकारले उच्च निर्यात हुने वस्तुमा सन् २०१९ देखि अनुदानको व्यवस्था गर्दै आएको छ । जसले गर्दा निर्यात सकारात्मक रहेको कम्पनीको भनाइ छ ।

अरिहन्त मल्टी फाइबरले विशेषगरी कच्चा पदर्था भारतबाट आयात गरी वस्तु तयार गर्दै आएको छ ।

मेट्रिक्स प्रा लिः गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित मेट्रिक्स कम्पनीले सन् २०२२ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ९५ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ८५ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा ६८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गोदरेज ब्रान्डको फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) वस्तु आयात गरी बिक्री गर्दै आएको छ । नेपालमा गोदरेज ब्रान्डको वस्तुका दुई विक्रेता छन् । तीमध्ये एउटाले उपत्यकामा व्यापार गर्दै आएको छ भने अर्कोले पोखरा, नेपालगन्ज र अन्य आसपासमा व्यापार गर्दै आएको छ ।

आकाश गोल्छा र जयन्तकुमार अग्रवालको संयुक्त लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड र अल्पकालीन कर्जाका लागि ४६ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको थियो ।

कम्पनीले सन् २०२२ मा ९५ प्रतिशत आम्दानी एफएमसीजीबाट गरेको थियो । कम्पनीले लामखुट्टे मार्ने मस्क्युटो रिपेलेन्ट, हेयर कलर र साबुन बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ००:००  ३ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping