![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Mukul-Dhakal-1-768x403.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा पार्टी प्रवक्ताबाट पदमुक्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लवबाट निस्कासित भएको भए पनि रास्वपामा घण्टी बज्न नरोकिने टिप्पणी गरेका छन् ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट मुक्त गर्ने निर्णय सार्वजनिक भएको केही क्षणमै ढकालले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने उल्लेख गरे ।
‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ ढकालले भनेका छन्,’रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि …..।’
अनुशासन आयोगले ढकालमाथि साधारण सदस्य पनि नरहने गरी कारबाही सिफारिस गरे पनि केन्द्रीय समिति बैठकले भने उनलाई पदबाट मात्र हटाएको हो ।
यसअघि असार १९ गते बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै मुखमा काटो टेप लगाए बैठकमा बसेका उनलाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो । पार्टीविरुद्ध गतिविधि गरेको र बैठकमा अराजकरुपमा प्रस्तुत भएको भन्दै केन्द्रीय समितिले उनलाई निलम्बन गरेको थियो ।
SHARE YOUR THOUGHTS