निगमले बेच्यो २३ अर्बको हवाई इन्धन: अन्तर्राष्ट्रियमा हिमालयन, आन्तरिकमा बुध्दले गरे धेरै खपत « Eglish Khabarhub

निगमले बेच्यो २३ अर्बको हवाई इन्धन: अन्तर्राष्ट्रियमा हिमालयन, आन्तरिकमा बुध्दले गरे धेरै खपत



काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी २९ एयरलाइन्स कम्पनीमध्ये सबैभन्दा बढी इन्धनको खपत हिमालयन एयरलाइन्सले गरेको छ ।

नेपाली र चिनियाँ लगानीको संयुक्त वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले गत आर्थिक वर्ष २०८०/८१ सबैभन्दा बढी हवाई इन्धन खपत गरेको हो ।

नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोका प्रमुख प्रदिप यादवका अनुसार गत आर्थिक वर्ष उक्त डिपोबाट सबैभन्दा बढी हिमालयन एयरलाइन्सले २ अर्ब ७६ करोड ३ लाख ३१ हजार रुपैयाँको १ करोड ९९ लाख ७० हजार ६५१ लिटर हवाई इन्धन खरिद गरेको थियो ।

हिमालयन एयरलाइन्सले यूएईको अबुधावी, दम्माम, कुवेत, दोहा, मलेसियालगायतका खाडी मुलुकमा उडान गर्दै आएको छ ।
हिमालयन एयरलाइन्सपछि दोस्रोमा सबैभन्दा बढी हवाई इन्धन खरिद गर्ने अन्तर्राष्ट्रिय जहाजमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स परेको छ । नेपाल एयरलाइन्सले गत आर्थिक वर्ष २ अर्ब ५८ करोड ७ लाख ९५ हजार रुपैयाँबराबरको १ करोड ८६ लाख ७० हजार लिटर हवाई इन्धन खरिद गरेको छ ।

त्यसपछि कतार एयरवेजले २ अर्ब ३८ करोड ३४ लाख २७ हजार रुपैयाँको १ करोड ७३ लाख २२ हजार लिटर खपत गरेको छ भने फ्लाई दुबईले १ अर्ब ६३ करोड ५९ लाख ३६ हजार रुपैयाँको १ करोड १८ लाख ८९ हजार लिटर हवाइ इन्धन खपत गरेको छ ।

एयर अरेबियाले १ अर्ब ३२ करोड ८७ लाख ३० हजार रुपैयाँको ९६ लाख ६ हजार लिटर, टर्किस एयरलाइन्सले १ अर्ब १३ करोड ३२ लाख २१ हजार रुपैयाँको ८२ लाख ३१ हजार लिटर, इण्डियन एयरलाइन्सले ५० करोड ५६ लाख २७ हजार रुपैयाँको ३६ लाख ५८ हजार लिटर, एयर जजिराले ४९ करोड ४३ लाख ७० हजार रुपैयाँको ३५ लाख ८६ हजार लिटर हवाई इन्धन खपत गरेका हुन् ।

डिपोका अनुसार चीनको चाइना साउदर्न एयरलाइन्सले युनिकेन इन्टरनेशनलबाट ४६ करोड ८९ लाख ९३ हजार रुपैयाँको ३४ लाख ८ हजार लिटर, इण्डिगो एयरले ३१ करोड ५१ लाख ६ हजार रुपैयाँको २२ लाख ७९ हजार लिटर, थाई एयरलाइन्सले १२ करोड ५२ लाख ७ हजार रुपैयाँको ९ लाख ९ हजार लिटर, बिमान बंगलादेशले ९५ लाख ८४ हजार रुपैयाँको ६९ हजार लिटर, रोयल भुटान एयरलाइन्सले ९ करोड २४ लाख ९३ हजार रुपैयाँको ६ लाख ७१ हजार लिटर र भुटान एयरलाइन्सले ५ करोड ६६ लाख २९ हजार रुपैयाँको ४ लाख ११ हजार लिटर हवाइ इन्धन आर्थिक बर्ष उक्त डिपोबाट खरिद गरेका हुन् ।

६ एजेण्टबाट १५ जहाज कम्पनीले ५ अर्बको खरिद गरे

सिनामंगल डिपोका अनुसार २९ अन्तर्राष्ट्रिय उडान गर्ने जहाज कम्पनीमध्ये १४ कम्पनीले डिपोबाट आफैंले हवाइ ईन्धन खरिद गरेपनि बाँकी १५ विभिन्न अन्तर्राष्ट्रिय उडानका जहाज कम्पनीहरुले ६ वटा एजेण्ट कम्पनीमार्फत हवाइ ईन्धन खरिद गर्दैआएका छन् ।

यसअनुसार ६ वटा एजेण्ट कम्पनीमार्फत गत आर्थिक बर्षमा १५ विमान कम्पनीले ५ अर्ब १ करोड ५६ लदाख ६६ हजार रुपैयाँबराबरको ३ करोड ४४ लाख ५२ हजार लिटर हवाई इन्धन खरिद गरेका छन् ।

जसमा सबैभन्दा बढी एसोसिएटेड इनर्जी ग्रुपमार्फत २ अर्ब १८ करोड ८३ लाख १९ हजार रुपैयाँको १ करोड ५९ लाख ५ हजार लिटर, एभिएसन सर्भिस म्यानेजमेन्ट एफजेडईमार्फत १ अर्ब ४ करोड ७३ लाख ४८ हजार रुपैयाँको ७५ लाख ९२ हजार लिटर, बल्र्ड फ्युल सर्भिसमार्फत ९६ करोड ६१ लाख ३७ हजार रुपैयाँको ७० लाख २८ हजार लिटर, एभिएसन सर्भिस म्यानेजमेन्टमार्फत ६९ करोड लख २६ हजार रुपैयाँको ५० लाख २६ हजार लिटर, युनाइटेड एभिएसन सर्भिसमार्फत १२ करोड २५ लाख ५७ हजार रुपैयाँको ८ लाख ९१ हजार लिटर र जेटेक्स फ्लाइट सर्पोटमार्फत १० लाख ७६ हजार रुपैयाँको ७ हजार ८ सय लिटर हवाई इन्धन विभिन्न जहाज कम्पनीले खरिद गरेका थिए ।

आन्तरिकतर्फ बुध्द एयरले किन्यो बढी

गत आर्थिक वर्ष आन्तरिक विमान कम्पनीतर्फ सबैभन्दा बढी मूल्यको हवाई इन्धन खरिद गर्नेमा बुध्द एयरलाइन्स भएको छ । बुध्दले १ अर्ब ८० करोड २२ लाख ३८ हजार रुपैयाँको १ करोड ३२ लाख २९ हजार लिटर हवाई इन्धन खरिद गरेको छ ।

यसपछि दोस्रोमा श्री एयरलाइन्सले ८८ करोड ७२ लाख ३७ हजार रुपैयाँको ६५ लाख १० हजार लिटर इन्धन खरिद गरेको छ भने तेश्रोमा यति एयरलाइन्सले ५२ करोड ४८ लाख ५९ हजार रुपैयाँको ३८ लाख ५१ हजार लिटर, चौथोमा सौर्य एयरलाइन्सले १२ करोड १५ लाख ८ हजार रुपैयाँको ८ लाख ९१ हजार लिटर इन्धन खरिद गरेको हो ।

त्यस्तै समिट एयरलाइन्सले ३ करोड २ लाख ९२ हजार रुपैयाँको २ लाख २२ हजार लिटर, कैलाश हेलिकप्टरले ६ करोड ८७ लाख ६ हजार रुपैयाँको ५ लाख ४ हजार लिटर, तारा एयरले ४ करोड ३३ लाख ९२ हजार रुपैयाँको ३ लाख १८ हजार लिटर र सीता एयरले ३ करोड ९८ लाख ४२ हजार रुपैयाँको २ लाख ९२ हजार लिटर हवाई इन्धन खपत गरेको छ ।

डिपोले बिक्री गर्यो झण्डै २३ अर्बको हवाई इन्धन

नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोले गत आर्थिक वर्ष २२ अर्ब ८२ करोड ५९ लाख ८४ हजार ३ सय ७५ रुपैयाँबराबरको १६ करोड ५९ लाख ३ हजार १ सय ४७ लिटर हवाई इन्धन बिक्री गरेको छ ।

यसबाट सरकारले विभिन्न करबापत ३४ अर्ब ३ करोड ७७ हजार राजस्व असुल गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४४ करोड २४ लाख रुपैयाँ असुल गरेको छ ।

देशभर दैनिक १५० किलोलिटर बिक्री

निगमका अनुसार ११ स्थानबाट दैनिक १५० किलोलिटर हवाई इन्धन बिक्री हुँदै आएको छ ।

जसमध्ये सिनामंगल डिपोबाट ७० किलोलिटर, विराटनगरबाट १५ किलोलिटर, झापाबाट १० किलोलिटर, सिमराबाट ३ किलोलिटर, भैरहवाबाट १० किलोलिटर, पोखराबाट १५ किलोलिटर, नेपालगञ्जबाट १० किलोलिटर, धनगढीबाट ७ किलोलिटर, सुर्खेतबाट २ र जनकपुरबाट ३ किलोलिटर हवाई इन्धन दैनिक रुपमा बिक्री हुँदै आएको छ । यसबाहेक दाङ्गबाट मासिक ५ सय लिटर बिक्री हुन्छ ।

निगमले आर्जन गर्यो १० अर्ब नाफा

निगमले गत आर्थिक वर्ष २०८०/८१ करिब १० अर्ब रुपैयाँ नाफा गरेको छ । तयार भएको प्रारम्भिक चरणको लगतअनुसार गत आर्थिक बर्ष निगमले १० अर्ब रुपैयाँको हाराहारीमा नाफा आर्जन गरेको नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा भने निगमले ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

उनका अनुसार गत आर्थिक बर्ष ३ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको समग्र इन्धनको कारोबार भएको थियो । अघिल्लो आव २०७९÷८० मा भने ३ खर्ब ८३ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो ।

डिजेलमात्रै ५० प्रतिशत आयात

निगमका अनुसार गत आर्थिक बर्ष आयात भएको सबैप्रकारको इन्धनमध्ये डिजेलको हिस्सा ५० प्रतिशत थियो । डिजेलपछि पेट्रोल २४ प्रतिशत, ग्यास १९ प्रतिशत, हवाई इन्धन ६ प्रतिशत र मट्टीतेल १ प्रतिशतको परिमाणमा आयात भएको थियो ।

झण्डै ३ खर्बको आयात

निगमका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग २ खर्ब ७२ अर्ब रुपैयाँबराबरको इन्धन खरिद गरेको थियो ।

अघिल्लो आर्थिक बर्ष २०७९/८० मा निगमले आइओसीबाट २ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको इन्धन खरिद गरेको थियो ।

वास्तवमा नेपालको कूल निर्यात आयले पनि वर्षभरको इन्धन आयातको पैसा तिर्न पुग्दैन । किनकि कूल निर्यात आय साढे १ खर्ब छ भने इन्धनमात्र करिब दोब्बर अर्थात् करिब ३ खर्ब रुपैयाँको अयात हुन्छ ।

Publish on: