डुबानको त्रासः ५ फिटसम्म उचाल्न र सार्न थालियो घर, लिफ्टिङ प्रविधि कति सुरक्षित ? कति खर्चिलो ? « Eglish Khabarhub

डुबानको त्रासः ५ फिटसम्म उचाल्न र सार्न थालियो घर, लिफ्टिङ प्रविधि कति सुरक्षित ? कति खर्चिलो ?


२१ श्रावण २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । असार ९ गते परेको अविरल वर्षासँगै कोशी प्रदेशको राजधानी समेत रहेको औद्योगिक नगर विराटनगर महानगर जलमग्न भयो । पानीले निकास नपाउँदा महानगरका प्राय सबै पुराना घरको भुइँतलाभित्र पानी पस्यो ।

महानगरको वडा नं. ११ मा पर्ने विराटनगर बसपार्कसँगै जोडिएको कोशी राजमार्गमा टाँसिएका घर पनि अछुतो रहेनन् । उक्त मार्गसँगै जोडिएको उद्योगी एवं समाजसेवी दिनबन्धु गोयलको अढाई तले घरको भुँइतलामा तीन फिटसम्म पानी भरियो । पानीले भुँइतलामा रहेको उनको व्यावसायिक कार्यालयका कागजपत्र र कम्प्युटर लगायतका सामान कामै नलाग्ने भयो ।

दुई दशक पहिला करोडभन्दा बढी खर्चेर निर्माण गरिएको २ हजार ७ सय स्क्वायर फिटको उक्त आधुनिक घर कोशीमार्ग निर्माणपछि सडक सतहभन्दा तल पर्यो । जसका कारण आकाशे पानी घरको भुइँतलाभित्र पस्यो । गोयललाई घर भत्काउने कि के गर्ने ? भन्ने चिन्ता पर्यो ।

त्यसैबेला उनको दिमागमा एउटा जुक्ति निस्कियो, लिफ्टिङ गरेर घरको जग माथि उठाउने । उनले भारतीय एलबीएल हाउस लिफ्टिङ कम्पनीसँग सम्पर्क गरे । कम्पनीका इन्जिनियर लालचन्दकुमार गुप्ता विराटनगर आए ।

गुप्ताले प्रति स्क्वायर फिट तीनसय रुपैयाँको दरले घरलाई कुनै क्षति नपुर्‍याइ उठाएर अग्लो बनाउन सकिने बताए । घर नापजाँच गरियो । पुरै घर २ हजार ७ सय स्क्वायर फिट निस्कियो । जसअनुसार घर उठाउन कूल खर्च ८ लाख १० हजार रुपैयाँ निस्कियो । त्यति रुपैयाँ खर्च गर्दा करोडभन्दा बढी लागतमा बनेको घर सुरक्षित हुन्छ भने किन खर्च नगर्ने ? भन्ने सोचमा गोयल पुगे । र, घर लिफ्ट गर्ने निर्णय उनले गरे र घर उठाउने ठेक्का पनि दिए ।

अहिले एलबीएल हाउस लिफ्टिङ कम्पनीले विराटनगर बसपार्कमा रहेको गोयलको अढाई तले घर ४० दिनदेखि उठाईरहेको छ। कम्पनीले उक्त घर उठाउन ३ सय वटा फलामका जग र २२ जना मजदुर प्रयोग गरेको छ । ४० दिन लगाएर चारफिट अग्लो बनाइसकेको छ ।

गोयलको कारोबार हेर्ने अशोक झाका अनुसार थोरै पानी पर्दा पनि घरको भुँइतलाभित्र पानी पस्ने गरेकोमा ८ लाख १० हजार खर्च गरेर घर उठाएपछि समस्या समाधान भएको छ ।

‘घर सर्लक्क चार फिट माथि उठेको छ,’ झा भन्छन्, ‘कहीँ कतै चर्केको वा फुटेको छैन ।’

विराटनगर-११ बसपार्कमा दिनबन्धु गोयलको अढाई तले घर लिफ्टिङ प्रविधि गरेर चार फिट माथि उठाइँदै ।

८ लाख १० हजार खर्च गर्दा घर जमिनबाट चार फिट माथि त उठ्यो तर भुइँतलाको सबै फिनिसिङ फेरि गर्नुपर्दा करिब २५ लाख खर्च पुग्ने स्थिति रहेको उनी बताउँछन् । उनका अनुसार घर चार फिट माथि उठाएपछि नयाँ जग निर्माण गर्दा २० हजार इँटा र डेढसय बोरा सिमेन्ट खर्च भएको छ । अब माटो भर्न र फिनिसिङ गर्न बाँकी छ । इँटा, सिमेन्ट, माटो र फिनिसिङको सामाग्री र लागत आफैंले बेहोर्नु पर्छ ।

कसरी उठाइन्छ घर ?

हाउस लिफ्टिङका लागि प्राविधिकले घरको बेसको टाइप बिमको संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउँछन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् । जग उठाएपछि खाली भएको स्थानमा कंक्रिट र इँटाको संरचना बनाउँछन् । सामान्य फलामको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने प्राविधिकको दाबी छ ।

एलबीएल हाउस लिफ्टिङ कम्पनीका इन्जिनियर लालचन्दकुमार गुप्ताले सामान्य प्रविधिको प्रयोग गरी जोखिमरहित रुपमा लिफ्टिङ गरिरहेको बताए । हाउस लिफ्टिङलाई ‘जग टेक्नोलोजी’ पनि भनिने उनको भनाई छ । भारत र नेपालमा यो प्रविधिले काम गरिरहेको बताउने गुप्ताले नेपालका विराटनगर, जनकपुर, विरगञ्ज लगायतका सहरमा एक सयभन्दा बढी घर उठाउने र सार्ने काम गरेको बताए । यसरी घर उचाल्नका लागि न्यूनतम दुई महिना लाग्ने उनको भनाइ छ ।

विराटनगरमा पछिल्ला दिनमा लिफ्टिङ प्रविधि प्रयोग गरेर पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम अन्यले पनि गरेका छन् । यसअघि नेपाल उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले बुढीगंगा १ मा रहेको राउत कन्स्ट्रक्सनको दुई तले कार्यालय भवन निर्माण गरेको ठाउँबाट ५५–६० फिट टाढा सारेका थिए ।

राउतले उक्त भवन निर्माण गरेको स्थानमा अढाई अर्बको लगानीमा आरआर अस्पताल निर्माण सुरु गरेका छन् । ‘अस्पताललाई जमिन अपुग भएकाले कार्यालय भवनको पुरानो जग काटेर ५५-६० फिटभन्दा पर नयाँ जग बनाएर जगमाथि पुरानै भवनै सारेर जडान गर्यौं,’ राउतको भनाइ छ । घर सार्न झण्डै तिन महिना लागेको उनले बताए ।

‘१ हजार ७ सय ५० स्क्वायर फिटको घर नयाँ फाउन्डेसन बनाएर जस्ताको तस्तै सारेर जडान गर्न करिब ४० लाख रुपैयाँ खर्च भयो,’ राउतले भने, ‘त्यही घर तोडेर नयाँ बनाउँदा करिब डेढ करोड खर्च लाग्थ्यो । तर, ४० लाख खर्च गरेर पुरानो घर अर्को ठाउँमा सार्दा ७० प्रतिशत बचत भयो ।’

यसअघि विराटनगरका उद्योगी एवं उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पनि सुनसरीको दुहवीमा आफनो एक तले भवन जमिन सतहदेखि साढे चार फिट माथि उठाएका थिए ।

सडक विस्तार गर्दा कार्यालय प्रयोजनका लागि बनाएको घर डुबानमा परेपछि लिफ्टिङ प्रविधि प्रयोग गरेर घर उठाएको उनले बताए । तीनवटै घर उचाल्ने र सार्ने कामका लागि भारतीय प्राविधिक सहितको टोली खटिएको थियो । माथि उठाइएको घरमा हालसम्म कुनै समस्या नआएको सुरानाको भनाई छ । लिफ्टिङ प्रविधिबाट सडकभन्दा माथि भवन उठाएपछि डुबानको समस्या हटेको उनको दाबी छ ।

विराटनगर बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । जसले गर्दा बर्खामा आकासे पानीका कारण डुबानको समस्या हुने गरेको छ ।

हाउस लिफ्टिङ कम्पनीले घरको अवस्था हेरेर एक तले घर ४ फिटसम्म उचाल्न प्रति स्क्वायर फिट ३ सयका दरले चार्ज गर्ने गरेको छ भने दुईतले घर ६ सय रुपैयाँ तथा ७ तले घर भए १५ सय रुपैयाँ स्क्वायर फिटको दरले चार्ज लाग्ने इन्जिनियर गुप्ताले जानकारी दिए ।

यो रकममा उनीहरुले नयाँ जगको निर्माणसमेत गरिदिन्छन् । तर, जग निर्माणमा लाग्ने ईट्टा, सिमेन्ट, डण्डी र बालुवालगायतका निर्माण सामाग्री भने घरधनीले नै खरीद गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ००:००  ३ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping