किस्ताबन्दी सुविधामा विभेद: गुणले पाएन, क्यानका डीजीले १८ करोड तिर्न बाँकी एयर एसियालाई दिए « Eglish Khabarhub

किस्ताबन्दी सुविधामा विभेद: गुणले पाएन, क्यानका डीजीले १८ करोड तिर्न बाँकी एयर एसियालाई दिए

गुणले पाएको थिएन ४ करोडको किस्ताबन्दी सुविधा


२२ श्रावण २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक र विदेशी वायुसेवाबीच विभेदकारी नीति अबलम्बन गरेको छ ।

आन्तरिक वायुसेवालाई प्रवर्द्धन नगरेको र उड्डयन गतिविधिमा सहजीकरण नगरेको प्राधिकरणले विदेशी वायुसेवालाई भने कुनै कानुनी आधारबिना नै उधारोमा उडान अनुमति दिएको हो ।

थाइल्याण्डबाट काठमाडौं उडान गर्न चाहेको एयर एसियालाई प्राधिकरणले गत साता (१७ साउन) हप्तामा ८ वटा उडानको अनुमति दिएको छ । थाइ एयर एसियालाई थाइल्याण्डबाट सातामा काठमाडौंमा ४ र भैरहवा विमानस्थलमा ४ वटा दुईतर्फी उडान गर्ने गरी प्राधिकरणले अनुमति दिएको छ ।

यस्तो उडान अनुमतिका लागि एयर एसियाले यसअघि मलेसियाबाट काठमाडौं उडान गर्दाको बक्यौतालाई २४ किस्ता (दुई वर्ष)सम्म तिर्ने सुविधासमेत प्राधिकरणले दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर एसियालाई २४ किस्तामा प्रतिकिस्ता १ करोड १५ लाख रुपैयाँ तिर्न दिने गरी निर्णय भएको छ ।

प्राधिकरणले दिएको यस्तो सुविधाअनुसार यसअघि नै एयर एसियाले ६ वटा किस्ता तिरिसकेको र अब १८ वटा किस्ता तिर्नुपर्ने भएको छ । अहिलेसम्म ६ करोड चुक्ता भएकोले अझै १८ करोड रुपैयाँ उसले किस्तामा तिर्नै बाँकी छ ।

६ वर्ष मलेसियाबाट काठमाडौं उडान गरेको एयर एसियाले बक्यौता बाँकी राखेकै कारण यसको उडान पछिल्लो ५ वर्षदेखि बन्द छ । मलेसिया काठमाडौंको उडानको पैसा तिर्न नसकेर बन्द भएको यो वायुसेवा फेरि गन्तव्य परिवर्तन गरेर थाइल्याण्डबाट नेपाल आउन चाहेको हो ।

किस्ताबन्दी सुविधा माग्दा गुणलाई दिइएन

प्राधिकरणले विदेशी वायुसेवालाई सहजै सुविधा दिएको भए पनि आन्तरिक वायुसेवालाई कुनै सपोर्ट नगरेको आरोप लागेको छ । नेपाली वायुसेवा कम्पनी गुण एयरलाइन्सले २ करोड ६८ लाख रुपैयाँ पैसा तिरेर बाँकी ४ करोड रुपैयाँका लागि किस्ताबन्दी सुविधा माग्दा प्राधिकरणले ९४ दिनसम्म फाइल ‘होल्ड’ गरेर निर्णय गरेको थिएन ।

गुण एयरले मागेको किस्ताबन्दीको सुविधाबारे कुनै निर्णय नगरिदिएका कारण यो वायुसेवाको फाइल तीन महिनाभन्दा लामो समय प्राधिकरणमै घुमाइएको गुणका एक कर्मचारी बताउँछन् ।

गुण एयरले ६ करोड ७३ लाख रुपैयाँ एकमुष्ट तिरेपछि मात्रै यसको उडान अनुमतिको निवेदन अगाडि बढेको थियो । प्राधिकरणले समयमा नै निर्णय नगरिदिएको कारण ६४ लाख रुपैयाँ थप जरिवना तिर्नसमेत गुण एयरलाइन्स बाध्य भएको थियो ।

यद्यपि गुण एयरलान्सले ६ करोड ५० लाख रुपैयाँको बैंक ग्यारेन्टी दिँदासमेत उड्डयन प्राधिकरणले स्वीकार नगरेपछि २०८१ असार १६ मा ६ करोड ७३ लाख ४८ हजार ४२५ रुपैयाँ एकमुष्ट तिरेर उडान अनुमति (एओसी) नवीकरणको प्रक्रिया अगाडि बढाउन बाटो खुलाएको गुण एयरलाइन्सको भनाइ छ।

हाल गुणले पर्यटन मन्त्रालयबाट इजाजतपत्र नवीकरण गराएर (उडान सन्चालन अनुमति) एओसी नवीकरण गर्दै जहाज उडाउने तयारीमा जुटेको छ ।

प्राधिकरणका अधिकारीले एयर एसियाले किस्ताबन्दीको सुविधा मागेकै समयमा गुणले पनि सोही प्रकृतिको निवदेन दिएकोले उक्त सुविधा पाउने आवश्वासन भने दिँदै आएका थिए । आन्तरिक उडानको यो वायुसेवाले त्रिभुवन विमानस्थलमा ७ वटा जहाज थन्काइरहको छ । प्राधिकरणले सहजीकरण नगर्दा कम्पनीको सबै तयारीका संरचना र जनशक्ति २ वर्षदेखि बेकामे हुनुपरेको गुण एयरलाइन्स स्रोतको भनाइ छ ।

‘प्राधिकरणले विदेशी वायुसेवालाई किस्ताबन्दीको सुविधा दिनुथियो भने आन्तरिक उडानको वायुसेवालाई चाहिँ किन दिएन ?’, गुण एयरलाइन्सका एकाउन्टेबल म्यानेजर योगराज शर्मा कँडेलले भने ।

प्राधिकरणले विदेशी वायुसेवालाई किस्ताबन्दी सुविधा दिँदा स्वदेशीले पनि पाउँछ भन्दै आश्वासन चाहिँ दिने तर व्यवहारमा भने निर्णय नै नगरेको कारण एकैपटक बक्यौता चुक्ता गर्न बाध्य हुनुपरेको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल एयर एसियाले २०२४ सेप्टेम्बर २० बाट काठमाडौं र भैरहवामा उडान गर्ने बताउँछन् । उनका अनुसार, यो वायुसेवाले भैरहवाको लागि केही समय माग गरेकोले काठमाडौंमा २० सेप्टेम्बरदेखि नै उडान गर्ने जानकारी दिएकाे छ ।

यो वायुसेवासँगको माउ कम्पनी एयर एसिया भए पनि थाइ र मलेसिया उडान गर्ने कम्पनी छुट्टै हो । थाइ एयर एसिया पहिलोपटक काठमाडौं आउन लागेको भए पनि प्यारेन्ट कम्पनीको छविसँग जोडिएकोले २४ करोडको बैंक ग्यारेन्टीसहित किस्ताबन्दी सुविधा दिएको जानकारी भुलले दिए ।

‘मलेसियाबाट उडान गरेको एयर एसिया एक्सको बाँकी बक्यौताका कारण थाइल्याण्डबाट आउने थाइ एयर एसियालाई रोक्नु उपयुक्त होइन । यस अघिका महानिर्देशकहरुले सहजीकरण नगरिदिएकै कारण नेपालले पाउने राजस्व गुम्यो वायुसेवाले बुझाउने थप राजस्व र कमाउने आधार पनि बनाउन दिइएन,’ प्राधिकरणका सूचना अधिकारी भुलले भने, ‘अहिले मलेसियाबाट भएको उडानको दायित्व पूरा गरेर थाइल्याण्डबाट उडान गर्ने प्रस्ताव आएसँगै पैसा पनि उठ्ने र नियमित सेवा पनि दिने भएकोले प्राधिकरणले किस्ताबन्दीको सुविधा दिएको हो ।’

नेपाली वायुसेवा गुण एयरलाइन्सको हकमा एक साताभित्र लाइसेन्स नवीकरण गराउनुपर्ने अवस्थामा किस्ताबन्दी सुविधा माग्न आएकोले नपाएको दाबी प्राधिकरणको छ । गुण एयरलाइन्सले इजाजतपत्रको समय सकिन लाग्यो भनेपछि हतार गर्दै सेवा सुविधा चाहियो भन्दै आएको प्राधिकरण स्रोतको भनाइ छ।

गुणले आफ्नो दायित्व पूरा नगरेको, कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा नदिएको र जानाजान जोखिम निम्त्याउने काम गरेकोले उडानमा रोक लागेकाे र त्यसबीचमा गुणकाे एओसी निलम्बनमा पर्नुका साथै पर्यटन मन्त्रालयबाट लिने इजाजतपत्रकाे अनुमतिसमेत सकिएकाे छ । उक्त इजाजतपत्रको अनुमति लिने कामकाे लागि आवश्यक प्रक्रिया पूरा गर्ने काम गुणले गरिरहेको छ ।

प्राधिकरणका सूचना अधिकारी नेपाली वायुसेवालाई प्रवर्द्धन नगर्ने र सहजीकरण नगर्ने भन्ने आरोप सही नभएको बताउँछन् । गुणले जहाज एयरवर्दी नहुँदाको अवस्थामा मागेको किस्ताबन्दी र पहिलेदेखि नै पूरा नगरेको दायित्वसहितको विषय नै फरक भएको भुलको भनाइ छ । ‘एक वर्ष अगाडि नै बैंक ग्यारेन्टी खारेज गरेको वायुसेवाले साँच्चै जहाज उडान चाहन्थ्यो भने उडान अनुमति निलम्बन किन नगर्ने भनेर स्पष्टीकरण सोधेपछि नै सुधार गरेर जान सक्थ्यो,’ उनले भने,’विदेशी वायुसेवालाई सहजीकरण गरेर नेपालीलाई नगरेको भन्ने होइन । प्राधिकरणले सधै वायुसेवा कम्पनीको सुधार र प्रोत्साहनमै काम गर्ने हुँदा एयर एसियासँग गुणको विषय जोड्न मिल्दैन ।’

तर, प्रवक्ता भुलको भनाइमा प्राधिकरणका पूर्वमहानिर्देशक सहमत छैनन् । एकै प्रकृतिको एजेण्डामा नेपाली वायुसेवालाई सहजीकरण नगर्ने र विदेशी वायुसेवालाई मात्रै प्रोत्साहन गरेको विषय व्यवहारिक नहुने उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन् ।

‘एउटै विषयमा विदेशी वायुसेवालाई सहजीकण गर्ने र स्वदेशीलाई बेवास्ता गरेको हो भने उड्डयन प्राधिकरणको कमजोरी हो,’ पूर्वमहानिर्देशक क्षेत्रीले भने, ‘प्राधिकरण नेतृत्वले कुन नियम कानुन टेकेर किस्ताबन्दीको सुविधा दिएको भनेर पनि हेरिनुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमाली २०७८ मा किस्ताबन्दीमा राजस्व उठाउने व्यवस्था कतै गरिएको छैन । यो नियमावलीले वायुसेवालाई सहजीकण गर्ने मात्रै भनेकाले किस्ताबन्दीमा राजस्व उठाउन मिल्ने तर्क प्राधिकरण अधिकारीकाे छ ।

थाइ एयर एसियाको नेपालका लागि जनरल सेल्स एजेन्ट(जीएसए) युनिभर्सल ट्राभल्स हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको युनिभर्सलसँग निकट सम्बन्ध रहेको स्रोतको दाबी छ ।

‘भैरहवा विमानस्थलमा उडान अनुमति दिएको देखाएर काठमाडौं विमानस्थलमा थाइ एयर एसियालाई घुसाउने प्राधिकरण नेतृत्वको यो षड्यन्त्र हो,’ प्राधिकरणकै अर्का एक अधिकारीले भने, ‘ हवाई क्षेत्रको जानकारी नभएका मन्त्री (हितबहादुर तामाङ) हुँदा पर्यटन मन्त्रालयबाट थाइ एयर एसियालाई नेपाल उडान गर्न दिने गरि निर्णय भएको थियो । खासमा यो थाइ एयर एसिया भए पनि एयर एसियानै हो । तपाईं हेर्दै गर्नु होला भैरहवामा उडान हुनेवाला छैन । किस्ता सुविधा काठमाडौं उडान गर्नका लागि निश्चित लाभ लिएर दिइएको मात्रै हो ।’

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार ००:००  १२ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping