आँखुखोला हाइड्रोका अध्यक्ष र २ सञ्चालकले बेचे कानूनबिपरित ९३ हजार कित्ता सेयर, सेबोनको उपहार हकप्रद ! « Eglish Khabarhub

आँखुखोला हाइड्रोका अध्यक्ष र २ सञ्चालकले बेचे कानूनबिपरित ९३ हजार कित्ता सेयर, सेबोनको उपहार हकप्रद !


२७ श्रावण २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षसहित २ सञ्चालकले ५ वर्षको अवधिमा पटक-पटक गरी ९२ हजार ८०० कित्ता सेयर कानूनबिपरित बिक्री गरेका छन् ।

कानूनबिपरित सेयर बिक्री गर्ने सञ्चालकलाई धितोपत्र ऐन, नियमावली तथा निर्देशिकामा भएको कानूनी व्यवस्था अनुसार कारबाही गर्नु पर्नेमा लगानीकर्ता ठगिने गरी १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले आज (साउन २७ गते) देखि १ः१.५ अनुपातमा १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरिसकेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको छ ।

अहिलेसम्म सेयरधनीका हात खाली बनाएको कम्पनीका अध्यक्षसहित दुई सञ्चालक भने कानून विपरित सेयर बिक्री गरेर बसेका छन् ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ र दुई सञ्चालक रामप्रसाद सापकोटा र दिनेश प्रसाद श्रेष्ठले कानून विपरीत ९२ हजार ८०० सेयर बिक्री गरेका छन् ।

कम्पनीले २०७५ असोज २२ गतेबाट छिटोमा असार २५ गते र ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन मिल्ने गरी आईपीओ निष्कासन गरेको थियो । त्यो समयमा कम्पनीका अध्यक्ष राम श्रेष्ठ रहेका थिए । उक्त समयमा ४३ वर्ष रहेका काठमाडौं महानगरपालिका २९ का श्रेष्ठसँग कम्पनीको ३५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । २०७५ असोजसम्म उक्त कम्पनीका सञ्चालक रामप्रसाद सापकोटासँग ८३ हजार कित्ता सेयर रहेको थियो भने सञ्चालक दिनेश प्रसाद श्रेष्ठसँग ५० हजार कित्ता सेयर रहेका थियो ।

करिब ६ वर्षपछि अर्थात् २०८१ साउन २७ गते कम्पनीले हकप्रद सेयर निष्कासन गरेको अवधिमा आइपुग्दा कम्पनीका अध्यक्ष ५१ वर्षका राम श्रेष्ठसँग १५ हजार कित्तामात्रै सेयर बाँकी छ । उनले आफू कम्पनीको अध्यक्ष भएको समयमा आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता सेयर कानूनबिपरित बिक्री गरेका छन् । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा तयार पारेको विवरण पत्र र आईपीओ निष्कासन गर्दा तयार पारेको विवरण पत्रमा उनको उमेरसमेत मिल्दैन । आफ्नो उमेर समेत गोलमोटल बनाएका श्रेष्ठ पटक-पटक कम्पनीको अध्यक्ष बनेका छन् ।

कम्पनीका सञ्चालक सापकोटाले करिब ६ वर्षको अवधिमाद आफ्नो स्वामित्वमा रहेको ६७ हजार ८०० कित्ता सेयर कानून विपरित बिक्री गरेका छन् । उनले पनि कम्पनीको सञ्चालक भएको समयमा नै सेयर बिक्री गरेका हुन् । अहिले उनको स्वामित्वमा १५ हजार २०० कित्तामात्रै सेयर स्वामित्व रहेको छ । सापकोटा ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का पूर्वउपाध्यक्ष समेत हुन् । उनी हाल अल्च्यिुट एयरका मार्केटिङ डाइरेक्टर समेत छन् ।

कुन समयमा कसले कति सेयर बेचे ?

आव २०७६/७७ मा अध्यक्ष श्रेष्ठसँग ३५ हजार, सञ्चालन सापकोटासँग ८३ हजार र अर्का सञ्चालक श्रेष्ठसँग ५० हजार कित्ता स्वामित्व थियो । आव २०७७/७८ मा आइपुग्दा अध्यक्ष श्रेष्ठले १५ हजार कित्ता सेयर बिक्री गरेर २० हजार कित्ता कायम राखेका थिए । एक वर्षको अवधिमा सञ्चालक सापकोटाले ९ हजार कित्ता सेयर बिक्री गरेर ७४ हजार कित्ता रहेको थियो । यो एक वर्षको अवधिमा अध्यक्ष श्रेष्ठ र सञ्चालक सापकोटाले मात्रै सेयर बिक्री गरेका थिए । यो उनीहरुले पहिलो पटक सेयर बिक्री गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा भने अध्यक्ष सहित दुई सञ्चालकले सेयर बिक्री गरे। एकै वर्ष तीन जनाले नै आफ्नो स्वामित्व घटाए । उक्त आवको अन्तिम विवरणअनुसार अध्यक्ष श्रेष्ठले थप ५ हजार कित्ता सेयर बिक्री गरेर १५ हजार कित्तामात्रै कायम राखे ।

यस्तै सञ्चालक सापकोटाले एक आवमा ५८ हजार ८०० कित्ता सेयर बिक्री गरेर १५ हजार २०० कित्तामात्रै स्वामित्व राखे । उक्त आवमा अर्का सञ्चालक निदेश प्रसाद श्रेष्ठले ५ हजार कित्ता स्वामित्व घटाएर ४५ हजार कित्ता कायम राखे ।

अध्यक्ष श्रेष्ठ र सञ्चालक सापकोटाले ४ वर्षका कार्यकालमा २ पटक सेयर बिक्री गरेको पाइएको छ भने सञ्चालक श्रेष्ठले पहिलो कार्यकालको अन्तिम समयमा ५ हजार कित्ता सेयर बिक्री गरेर ४५ हजार कित्ता कायम राखेको तथ्यले देखाएको छ।

सुरुमा २०७५ जेठ १३ गते चार वर्षका लागि निर्वाचित भएका उनीहरुको कार्यकाल सकिएपछि २०७९ असार १२ गते पुनः अर्को कार्यकालका लागि निर्वाचित भए । कम्पनीको सञ्चालकमा हुँदा हुँदै कानूनबिपरित सेयर बिक्री गर्ने तीन जना नै अहिले पनि कम्पनीको सञ्चालकमा कायमै छन् ।

कम्पनीका सञ्चालक सापकोटाले आफुलाई भएको समयमा सेयर बिक्री गरेको पुष्टि गरे ।

‘त्यो बेला थाहा नभएर सेयर बेचेको हो’ उनले क्लिकमान्डुसँग भने ‘थाहा भएपछि बेच्न छोडेका छौ । अब के गर्नु पर्ने हो थाहा छैन ।’ उनले सुरुमा कानूनको जानकारी नभएर सञ्चालक भएको समयमा नै सेयर बेचेको र पछि थाहा भएपछि बेच्न छोडेको स्वीकारे ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली- २०७३ र सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ ले सूचीकृत कम्पनीको सञ्चालकले पदमा बहाल रहुन्जेल तथा पदबाट हटेको एक वर्षसम्म सोही कम्पनीको सेयर खरीद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ १(क) मा, ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक बर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ भन्ने व्यवस्था रहेको छ ।

यता सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ को निर्देशन १४ को ६ मा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरीद बिक्री गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको छ । नियमावली र निर्देशिकाले सञ्चालक भएको अवधि र छोडेको १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

तर, आँखुखोलाका अध्यक्ष र सञ्चालकले कम्पनीमा सञ्चालक भएको समयमा नै सेयर बिक्री गरेका छन् ।

कम्पनीका सञ्चालकले नै धमाधम सेयर बिक्री गर्दा अहिलेसम्म धितोपत्र बोर्डले पत्तो पाएको छैन । धितोपत्र सम्बन्धी कुनै कानूनलाई उल्लंघन सेयर कोही कसैले सेयर बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गर्ने बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बताए ।

अधिकारीका अनुसार आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष र दुई सञ्चालकले कानून विपरित सेयर कारोबार गरेको पाइए ऐनको दफा १०१ मा भएको दण्ड सजाय को उपदफा ७ बमोजिम कारबाही हुनेछ ।

‘धितोपत्र सम्बन्धि ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिबाना गर्छ’ उनले भने ।

प्रवक्ता अधिकारीका अनुसार सञ्चालक भएको समयमा सेयर बिक्री गर्ने व्यक्तिलाई ऐनको दफा १०८ अनुसार १० वर्षसम्म सूचीकृत कम्पनीको सञ्चालन बन्न नपाउने व्यवस्था छ । त्यस अनुसार पनि कारबाही हुने बताए ।

ऐनका दफा १०८ मा ‘कुनै संचालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड, कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन’ भन्ने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डले कम्पनीले बुझाएका विवरणको अभिलेखमात्रै राख्ने र प्रभावकारी नियमन नगर्दा, बोर्डका कर्मचारी प्रलोभनमा पर्दा सञ्चालकले नै सेयर बिक्री गर्दा ‘तैँ चुप मैँ चुप’ गरेका बसेको पाइएको छ । बोर्डका कर्मचारीले नियमन नगर्दा बर्षौंदेखि लगानीकर्तालाई लाभांश नदिने, सञ्चालक नै कानूनबिपरित सेयर बिक्री गर्ने कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न दिएको छ।

धितोपत्र बोर्डले गत वर्ष गरेर बोर्डका पूर्वअध्यक्ष रमेश हमालले लुकाएको प्रतिवेदन कार्यान्वयन गरेको थियो भने यो कम्पनीमा भएको यस्तो बेथितिको अन्त्य हुन थियो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सहसचिव तथा धितोपत्र बोर्डका सञ्चालक (हाल सचिव) फणिन्द्र गौतम संयोजकत्व तथा चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र उप कार्यकारी निर्देशक नारायणप्रसाद शर्मा सदस्य रहेको समितिले अध्ययन गरेको थियो ।

बोर्डले गत वर्ष गरेको जलविद्युत समूहका सूचीकृत कम्पनीहरुको सेयर संरचनाको विद्यमान अवस्था र सोको प्रभाव सम्बन्धमा गरिएको अध्ययनले समेत यो कम्पनीका संस्थापकलेसेयर बिक्री गरेको देखाएको छ । प्रतिवेदन अनुसार आंखुखोला जलविद्युत कम्पनीका ७ जना संस्थापकमध्ये ६ जनाले अधिकांश सेयर बिक्री गरेका छन् । प्रमोद प्रसाद चौधरी, महेश प्रसाद रिजाल, चन्द्र बहादुर तामाङ, शेखर बस्नेत, जनक प्रसाद भट्ट र नवराज अधकारीले सेयर बिक्री गरेका छन् । कम्पनीबाट रमिला तामाङले आफ्नो स्वामित्व १.९४ प्रतिशत घटाएकी छिन् । यता सञ्चालकले समेत कानून बिपरित सेयर बेचेका छन् ।

हमालले लुकाएको उक्त प्रतिवेदनमा सूचीकृत जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएमा आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन गरेको हुनुपर्ने, हकप्रद निष्काशन गर्ने जलविद्युत समूहका कम्पनीको हकमा कम्पनीले प्रारम्भिक निष्काशनको समयमा नै कायम रहेका आधारभूत सेयरधनीको कम्तिमा ५० प्रतिशत सेयर स्वामित्व कायमै रहेको हुनुपर्ने, जलविद्युत कम्पनीको नेटवर्थ चुक्ता पूँजी भन्दा कम नरहेको हुनुपर्ने व्यवस्था गर्न सुझाव रहेको छ ।

यस्तै जलविद्युत कम्पनीको परियोजनाको प्रतिमेगावट उत्पादन लागत २२ करोड ५० लाख भन्दा उच्च भएका वा रिटर्न अन इक्विटी कम भएका वा इन्टर्नल रेट अफ रिटर्न (आईआरआर) १२ प्रतिशत भन्दा कम भएका कम्पनीले हकप्रद सेयर जारी गर्न दिन नहुने सुझाव रहेको छ । यो सुझाव समयमा नै कार्यान्वयन भएको थियो भने कम्पनीले हकप्रद सेयर निष्कासन गर्न पाउने थिएन ।

कम्पनीका अनुसार २०८०/८१ को चैत मसान्तसम्म कम्पनीको नेटवर्थ ६९ रुपैयाँ रहेको छ । आव २०८०/८१ मा ८७ रुपैयाँ १० पैसा, आव २०८१/८२ मा ९० रुपैयाँ ५९ पैसा र आव २०८२/८३ मा ९१ रुपैयाँ ८८ पैसा हुने प्रक्षेपण रहेको छ । आगामी तीन वर्षमा पनि कम्पनीको नेटवर्थ १०० रुपैयाँ नपुग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार ००:००  ६ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping