अमेरिका निर्यातमा सुविधा पाउने सूचीमा थप वस्तु समावेश गर्न नेपालको लविङ « Eglish Khabarhub

अमेरिका निर्यातमा सुविधा पाउने सूचीमा थप वस्तु समावेश गर्न नेपालको लविङ

टिफा काउन्सिलको ७औं बैठक भदौ अन्तिम साता



काठमाडौं । नेपाल–अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिलको सातौं बैठक भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले टिफा काउन्सिलको सातौं बैठकको लागि पूर्वतयारीको गृहकार्य सुरु गरेको छ । मन्त्रालयले सातौं बैठकलाई फलदायी बनाउन बुधबार (आज) आन्तरिक गृहकार्य सुरु गर्न सरोकारवाला निकायहरुसँग छलफल गर्दैछ ।

मन्त्रालयले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल निर्यात व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ, नेपाल अमेरिका उद्योग बाणिज्य संघ र अमेरिकन चेम्बर अफ कमर्शसँग यहि बिषयमा छलफल गर्दैछ ।

अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली बस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महसुल सुविधा प्रदान गरेको छ । उक्त सूचीमा नेपालबाट अमेरिकामा थप निर्यातयोग्य वस्तु थप गर्ने बिषयमा पनि बुधबार सरोकारवाला निकायसँग बस्ने बैठकले छलफल गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक एण्ड इन्भ्यारोमेन्ट (साउटी)ले निर्यात गर्न योग्य थप बस्तुको अध्ययन गरी प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ । यो प्रतिवेदनमाथि सचिवको अध्यक्षतमा बस्न लागेको सरोकारवाला निकायले छलफल गर्दैछ ।

नेपाल तयारी पोशाक उद्योग संघ (गान)का अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार सातौं बैठकमा नेपालको तर्फबाट उठाइने एजेण्डाहरु टुङ्गो लगाउन मन्त्रालयले आन्तरिक गृहकार्य सुरु गरेको जानकारी दिए । छलफलपछि सरकारले आफ्नो धारणा बनाएर एजेण्डालाई टुङ्गोमा पुर्याउने बताइएको छ ।

अमेरिकाले नेपाललाई लगेज एण्ड अटैंच केश समूहतर्फ ७ वस्तु, ह्याण्ड व्याग समूहतर्फ ११ वस्तु, पकेट समूहतर्फ ६ वस्तु, ट्राभल व्याग समूहतर्फ १५ वस्तु, कार्पेट समूहतर्फ १३ वस्तु, सल, मफलर, स्कार्प र ट्राभेल व्ल्याँकेट समूहतर्फ ७, टोपी समूहतर्फ १३, पञ्जा समूहतर्फ २, हेड हेयरव्याण्ड र निडिल क्राफ्ट किट समूहतर्फ ३ वटा वस्तु गरी ७७ वटा वस्तु निर्यात गर्दा शुन्य भन्सार सुविधा उपलब्ध गराएको छ ।

अमेरिकाको सन् २०१५ को व्यापार सहजीकरण तथा कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्मोनाइज्ड ट्यारिफ सेडुअलअन्तर्गतका ७७ वस्तुमा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा उपलब्ध गराइएको थियो । जसमा हस्तकला, सल, ब्याग, भ्रमण सामग्रीलगायत वस्तु रहेको थियो ।

सन् २०१५ देखि ३१ डिसेम्बर २०२५ सम्मका लागि अमेरिकाले नेपाललाई ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको सुविधा उपलब्ध गराएको थियो । विनाशकारी भुकम्पबाट थलिएको नेपालको आर्थिक अवस्थालाई उकास्न तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओवामाले यो सुविधा उपलब्ध गराएका थिए ।

संघले ७७ वटा वस्तुबाहेक नेपालबाट अमेरिकामा अत्यधिक परिमाणमा निर्यात भइरहेको केही महत्वपूर्ण बस्तुहरुको सूची बनाएर शुन्य भन्सार महसुलमा निर्यात गर्न आवश्यक सुविधा उपलब्ध गराइदिन यसअघि नै कुटनीतिक नियोगमार्फत अमेरिकालाई आग्रह गरिसकेको छ ।

जसअनुसार मेन्स कटन सर्टस, व्याइज कटन सर्टस, कटन व्लाउज एण्ड सर्टस, प्यान्ट, ट्राउजर, कटन ड्रेसलगायत बस्तुलाई ७७ वटा बस्तुको सूचीमा थप गरिदिनका लागि आवश्यक पहल गरिदिन संघले अमेरिकास्थित नेपाली राजदूतावासलाई पत्राचारसमेत गरिसकेको छ ।

अमेरिकाले उपलब्ध गराएको ७७ प्रकारका नेपाली बस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महसुल सुविधा अन्तर्गत सुविधा प्राप्त गरेका बस्तुभन्दा सुविधा प्राप्त नगरेका वस्तु उच्च परिमाणमा पछिल्लो समयमा अमेरिका निर्यात भइरहेका छन् ।

अमेरिकाले सुविधा नदिएको बस्तु नेपालबाट अत्याधिक परिमाणमा निर्यात भइरहेको पछिल्लो भन्सार विभागको तथ्यांकले पनि देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक व्यापार अन्तर्गत चौथो स्थानमा अमेरिकासँग नेपालको व्यापार भएको छ ।

नेपालबाट अमेरिकामा साढे १७ अर्बको निर्यात

गत आर्थिक बर्ष २०८०/८१ नेपालबाट अमेरिकामा १७ अर्ब ३१ करोड ४५ लाख ६६ हजार रुपैयाँबराबरको विभिन्न सामान निर्यात भएको छ । अमेरिका नेपालको व्यापार घाटा २ अर्ब ६५ करोड ९३ लाख ३५ हजार रुपैयाँबराबर छ ।

अमेरिकामा सबैभन्दा बढी ६ अर्ब ३८ करोड २५ लाखको भुईमा ओछ्याइने कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ । यस्तै २ अर्ब ७६ करोड १३ लाखको कुकुर र बिरालोको खाना (छुर्पी), १ अर्ब ८१ करोड २५ लाखको फेल्टका सामग्री, ६७ करोडको महिलाले प्रयोग गर्ने ट्राउजर, ६१ करोड ६० लाखको सिसा र सेरामिकका सामग्री तथा ३३ करोड ५२ लाखको सल, मफलरलगायत नेपालबाट अमेरिकामा निर्यात भएको छ ।

यस्तै महिलाले प्रयोग गर्ने ट्राउजर ४६ करोड ११ लाख रुपैयाँ, जर्सी र कार्डिगन २० करोड १४ लाख, ह्याण्ड मेड पेपर १८ करोड ९९ लाख, मेन्स एण्ड व्याइज शर्ट १४ करोड २६ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

आयात साढे १९ अर्ब

अमेरिकाबाट नेपालमा १९ अर्ब ४८ करोड २४ लाख २७ हजार रुपैयाँबराबरको विभिन्न बस्तु आयात गरेको छ । अमेरिकाबाट मुख्यरुपमा ३ अर्ब ४९ करोड २४ लाखको भटमास, २ अर्ब ७९ करोड ४० लाखको कोइला, १ अर्ब ३ करोड ४७ लाखको हवाई जहाज र हेलिकप्टरको पार्टपुर्जा र ८९ करोड १४ लाख रुपैयाँको कम्प्युटरको सफ्टवेयर गरी आयात भएको छ ।

Publish on: