अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी: विश्वमा कस्तो असर ? « Eglish Khabarhub

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी: विश्वमा कस्तो असर ?


२१ कार्तिक २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गरेका छन् । ट्रम्पले २७९ इलेक्टोरल भोट हासिल गरेका छन् । यससँगै उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । ४ वर्षपछि ट्रम्प ह्वाइट हाउस फर्किने भएका हुन् ।

एउटा निर्वाचनमा पराजित भएर पुनः चार वर्षपछि सत्तामा फर्कने ट्रम्प एक शताब्दीभन्दा बढी समययताका पहिलो राष्ट्रपति बनेका छन् ।

निर्वाचनमा उम्मेदवार बनेसँगै ट्रम्प चर्चामा थिए । ट्रम्पमाथि दुई पटक हत्याको प्रयास गरिएको थियो । पेन्सिल्भेनिआमा एक बन्दुकधारीले उनको हत्या गर्ने प्रयास गरेका थिए ।

मे महिनामा ट्रम्पमाथि एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुप बस्न दिएको रकमबारेका कागजपत्रहरू किर्ते गरेको आरोप लागेको थियो।

ट्रम्पमाथि अहिले पनि गएको राष्ट्रपतीय चुनावमा आफ्नो पराजय उल्ट्याउन गरेको प्रयासका लागि फौजदारी आरोपहरू छन् । तर उनी विजयी भए ।

ट्रम्पका निकटतम प्रतिद्वन्द्वी कमला ह्यारिसले २१९ इलेक्टोरल भोट जितेकी छन् ।

ट्रम्पले अमेरिकाका सात मध्ये ४ स्विङ स्टेट्समा जीत हात पारे । जसमा जर्जिया, नर्थ क्यारोलाइना, विस्कन्सिन र पेन्सिलवेनिया रहेका छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट हुन्छन् र बहुमतका लागि २७० भोट आवश्यक पर्छ ।

जर्जिया र नर्थ क्यारोलाइनमा १६-१६ इलेक्टोरल भोट छन् । जबकी पेन्सिलवेनियामा सबैभन्दा धेरै १८ इलेक्टोरल भोट रहेका छन् ।

अमेरिकी निर्वाचनको परिणामले विश्वभरि तरङ्ग ल्याएको छ । मतदानअघि र पछिका चुनावी ‘एक्जिट पोल’ले कमला डेमोक्रेटिक उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आगामी राष्ट्रपति बन्ने प्रक्षेपण गरेका थिए । तर नतिजा भने त्यसको उल्टो आएको छ र दोस्रो पटक ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएका छन् । अमेरिकी राष्ट्रपतिको चयनलाई विश्वभरमा चासोका साथ हेरिने गरिएको छ किनकी अमेरिको सीमाभन्दा टाढा रहेका करौडौँ मानिसको जीवनमा पनि यसले असर गर्न सक्छ ।

यसअघि उत्तर कोरियाली शासक किम जोन उनसँग वार्ता गरेका ट्रम्पलाई हक्की र मुढी स्वभावका रुपमा लिने गरिएको छ ।

ह्यारिसले अमेरिकाले यसपालि ‘अगाडि बढ्ने वा पछाडि फर्कने’ मध्येबाट एउटा छनोट गर्नुपर्ने बताउँदै आएकी थिइन् भने रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकासामु ‘आफ्नो महान्‌ताको पुनर्पुष्टि गर्ने मौका भएको’ बताउँदै आएका थिए ।

जीतको घोषणा गर्दै मतदातालाई सम्बोधन गरेका ट्रम्पले अमेरिकाले आफूलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको उल्लेख गरे ।

नीति तथा योजना

अमेरिकी मतदाताले ट्रम्पले अघि सारेका नीति तथा योजनालाई अनुमोदन गरेका छन् । ट्रम्पले चुनावी वाचामा मूल्यवृद्धि अन्त्य गर्ने र अमेरिकालाई पुन: सबैका लागि सहज तथा कम खर्चिलो बनाउने उल्लेख गरेका थिए । धेरैजसो सर्वेमा अमेरिकी मततादाले आप्रवासन तथा अर्थव्यवस्थाको मुद्दामा ट्रम्पलाई मत दिएका पाइएको छ ।

उनले ब्यादर घटाउने बताएका छन् तर त्यो राष्ट्रपतिको नियन्त्रणमा हुँदैन। कागजपत्र नभएका आप्रवासीहरूलाई फिर्ता पठाएपछि आवास क्षेत्रमा परेको दबाव कम गर्न सकिने ट्रम्पको दाबी छ।

आप्रवासनको मुद्दालाई पनि ट्रम्पले जोडतोडका साथ उठाएका थिए ।

सन् २०२३ मा सबैभन्दा धेरै मानिस मेक्सिकोको सीमा हुँदै अमेरिका भित्रिए । तर त्यसपछि भने त्यसरी आउनेहरूको सङ्ख्यामा कमी आएको छ । अवैध आप्रवासनलाई रोक्न ट्रम्पले कडा अभिव्यक्ति दिँदै आएका छन् । उनले सीमा बन्द गरेर पर्खाल लगाउने योजनालाई पूरा गर्ने वाचा गरेका छन् ।

उनले इतिहासमै सर्वाधिक सङ्ख्यामा आएका वैध कागजपत्र नभएका आप्रवासीलाई देशनिकाला गर्ने घोषणा पनि गरेका छन् ।
त्यस्तै ट्रम्प खर्बौं डलर राजस्व घट्ने गरी कर कटौती गर्ने पक्षमा छन् । त्यसमा उनले सन् २०१७ मा गरेको कर कटौतीको विस्तारित रूप पनि छ । त्यसले मुख्यत: धनीहरूलाई नै सहयोग पुगेको थियो । त्यसरी कटौती गर्दा राजस्व घटे पनि उच्च आर्थिक वृद्धि र आयातमा लगाइने करका माध्यमबाट पूर्ति गर्ने उनको तर्क छ।

ह्यारिसले युद्ध ‘जति लामो समयसम्म’ गए पनि युक्रेनलाई समर्थन गर्ने वाचा गरेकी थिइन् । तर ट्रम्प भने अमेरिका संसारका विभिन्न स्थानमा भएका द्वन्द्वबाट आफैँ अलग हुनुपर्छ भन्ने चाहन्छन् ।

ट्रम्पले रुससँग सम्झौताका माध्यमबाट २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानमा करनीतिलाई केन्द्रमा राखेका छन् । उनले विदेशबाट आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् भने चीनबाट आयात हुने वस्तुमा थप कर लगाउने योजना अघि सारेका छन् । ट्रम्पका योजनालाई अमेरिकीले अनुमोदन गरेका छन् । आगामी दिनमा ट्रम्प कसरी अघि बढ्छन् भन्ने देखाउने नै छ ।

युक्रेनलाई अमेरिकाले दिइरहेको सहयोग के हुन्छ ?

ट्रम्पले सन् २०२२ मा रुसले गरेको आक्रमणसँगै युक्रेनलाई दिइएको अमेरिकी सैन्य सहयोगको ठूलो रकमको विषयमा आलोचना गर्दै आएका छन् ।

आफू राष्ट्रपतिका रूपमा रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका ट्रम्पले यस पटक निर्वाचित भएमा ‘२४ घण्टाभित्र’ युद्ध रोक्ने प्रतिज्ञा गरेका छन् तर कसरी भन्नेबारे उनले केही उल्लेख गरेका छैनन् ।

किएभका लागि ६० अर्ब अमेरिकी डलरको सैनिक सहायतासहितको एउटा विधेयक ट्रम्पका रिपब्लिकन समर्थकहरूका कारण अमेरिकी कङ्ग्रेसमा महिनौँसम्म थन्किएको थियो तर अप्रिलमा उक्त विधेयक पारित हुँदा ट्रम्पले धेरै केही बोलेनन्।

ट्रम्पले जितेपछि अमेरिकाले युक्रेनलाई ‘एक पैसा पनि नदिने’ अनुमान गरिएका छन् ।
‘टाइम’ म्यागजीनसँग ट्रम्पले भनेका थिए, ‘जबसम्म युरोपले बराबरी गर्दैन, तबसम्म म दिने छैन।’

‘नेटो’बाट बाहिर निकाल्लान्?
अमेरिका, यूके, जर्मनी र फ्रान्ससहितका ३२ देश सम्मिलित सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)लाई ट्रम्प रुचाउँदैनन् ।

राष्ट्रपति छँदा उनले धेरै पटक अन्य सदस्य राष्ट्रहरूले सम्झौताअनुसारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशत रकम रक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य पूरा गर्न नसके अमेरिका नेटोबाट बाहिरिने धम्की दिएका थिए ।

नेटोको सर्तअनुसार कुनै पनि सदस्यराष्ट्रमा भएको हमला सङ्गठनका सम्पूर्ण देशहरूमाथिको आक्रमणको रूपमा लिइन्छ ।

तर गत फेब्रुअरीमा ट्रम्पले ‘भुक्तानी नदिने’ देशलाई आफूले सुरक्षा नदिने र मस्कोलाई ‘जे मन लाग्छ त्यही गर्न’ प्रोत्साहित गर्ने भनेका थिए ।

ट्रम्पले अमेरिकालाई उक्त सङ्गठनबाट बाहिर निकाल्छन् कि निकाल्दैनन् भन्ने विषयमा मतभेद छ।

ट्रम्पले किन विदेशीलाई निकाल्न चाहन्छन् ?

अघिल्लो कार्यकालमा ट्रम्पले आप्रवासीको विषयमा आक्रामक नीति अवलम्बन गरेका थिए । उनले आफू ह्वाइटहाउस फर्किएमा यसमा थप कडाइ गर्ने वाचा गरेका छन् ।

उनले ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला सुरु गर्ने’ बताएका छन्।

रिपब्लिकन पार्टीले अभिलेखीकरण नभएका आप्रवासीका सन्तानलाई जन्मसिद्ध नागरिकता दिने व्यवस्था अन्त्य गर्ने र मेक्सिकोका लागुऔषध तस्करी गर्ने गिरोहविरुद्ध युद्ध सुरु गर्ने बताउँदै आएका छन्।

गत वर्ष ट्रम्पले मुस्लिम बहुसङ्ख्यक देशका मानिसमाथि लगाइएको यात्रा प्रतिबन्धलाई थप विस्तार गर्ने सङ्केत गरेका थिए । उनको यो नीति पहिले पनि विवादित बनेको थियो।

ट्रम्पले इजरायललाई साथ देलान् ?

आफ्नो पहिलो कार्यकालमा ट्रम्प इजरायल र त्यहाँको दक्षिणपन्थी सरकारको खुल्ला समर्थक थिए ।

उनले दशकौँदेखिको अमेरिकी नीतिलाई उल्ट्याउँदै जेरुसलेमलाई इजरायलको राजधानीका रूपमा पहिचान गरिएको घोषणा गरेका थिए र अमेरिकी दूतावास तेल अभिभबाट जेरुसलेममा सारेका थिए ।

यी दुवै कदमलाई प्यालेस्टिनीहरूले जेरुसलेमको अवस्थाजस्तो अति संवेदनशील विषयमा अमेरिकाले एक पक्ष लिएको रूपमा हेरेका थिए ।

ट्रम्पको सरकार अधीनस्थ वेस्ट ब्याङ्कका यहुदी बस्तीहरूप्रति सहयोगी थियो । यस्ता बस्तीलाई अन्तर्राष्ट्रिय समुदायले भने अन्तर्राष्ट्रिय कानुनका आधारमा गैरकानुनी मान्छन् तर इजरे भने यसमा विवाद गरिरहन्छ ।

ट्रम्प प्रशासनले इजरायल र अरब लीगका चार देशहरू बाहरेन, यूएई, सुडान तथा मोरक्कोबीचको सम्बन्धलाई सामान्य बनाउने सम्झौतामा पनि सहजकर्ताको भूमिका खेलेको थियो।

‘टाइम’ म्यागजीनसँगको कुराकानीमा ट्रम्पले इरान-इजरेल युद्धमा आफूले ‘इजरेलको सुरक्षा गर्ने’ बताएका थिए । तर उनले इरानविरुद्ध आफ्नो योजना के हुन्छ भन्ने खुलाएका छैनन् ।

चीनमाथिको रवैया कस्तो

राष्ट्रपति हुँदा ट्रम्पले चीनविरुद्ध ‘व्यापार युद्ध’ थालेका थिए । आफू पुन: निर्वाचित भए उनले चीनमाथि ६० प्रतिशतभन्दा बढी महसुल लगाउने सङ्केत गरेका छन् ।

गत वर्ष उनले ऊर्जा र दूरसञ्चारजस्ता महत्त्वपूर्ण क्षेत्रका लागि भविष्यमा चीनबाट हुन सक्ने खरिद रोक्न ‘नयाँ प्रतिबन्ध’ बारे बोलेका थिए।

साउथ चाइना सी क्षेत्रमा र ताइवानको विषयमा तनाव बढिरहेको बेला ट्रम्प निकटस्थ केही व्यक्तिहरू अमेरिकाको सुरक्षा नीतिले चीनमा बढी ध्यान दिनुपर्ने धारणा राख्छन् ।

ट्रम्प राष्ट्रपति हुँदा रक्षा मन्त्रालयका सल्लाहकार एल्ब्रिज कोल्बी रिपब्लिकनहरूमाझ सुरक्षाको विषयमा प्रभावशाली देखिएका छन् । ट्रम्पको सरकार बनेमा उनले भूमिका पाउने सम्भावना पनि छ।

रिपब्लिकन पार्टीभित्रको पुरातनवादी बौद्धिकहरूको समूह चीनलाई अमेरिकी विदेशनीतिको प्राथमिकतामा राख्नुपर्ने मान्यता राख्छ।

ट्रम्पले कहिले पदभार ग्रहण गर्छन् ?

जनावरी २०, २०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्ने छन् ।

यसपालि अमेरिकाको इतिहासमा साठियौँ पटक त्यस्तो समारोह हुने छ । उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन् ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ५ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping