एनपिएल र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा महत्त्वपूर्ण रूपमा चिनाउन चाहन्छौं « Eglish Khabarhub

खेलकुदमा राज्यको लगानी र प्रतिफल

एनपिएल र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा महत्त्वपूर्ण रूपमा चिनाउन चाहन्छौं

एनपिएल टीम किन्न १६ लगानीकर्ताको इच्छा, ८ फ्रेन्चजी बाहिरै


१७ मंसिर २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सरकारले खेलकुद क्षेत्रमा लगानी क्रमशः बढाउँदै गएको छ । चालु आर्थिक वर्षमा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड ४८ लाख बजेट छुट्याइएको छ, जुन गत वर्षभन्दा ६२ करोड ९ लाखले धेरै हो । मन्त्रालयको कुल बजेटको ८५ प्रतिशत खेलकुदका क्षेत्रमा छ ।

खेल बजेटमध्ये सबैभन्दा धेरै प्राथमिकता क्रिकेटले पाएको छ, जसका लागि १ अर्ब ३० करोड बजेट छुट्याइएको छ । काठमाडौंको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएका छन् । यो सुधारको सकारात्मक सुरूवात हो ।

केही वर्ष अलमलमा परेको चितवनको भरतपुर क्रिकेट रंगशाला पनि निर्माणको चरणमा छ । यो रंगशाला पनि राष्ट्रिय गौरवको आयोजनामा छानिएर तीनै तहका सरकारले मिलेर अगाडि बढाएका छन् । कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम भइरहेको छ । खेलकुदमा राज्यको सबैभन्दा प्राथमिकतामा क्रिकेट नै देखिएको छ भन्दा फरक पर्दैन ।

अन्य खेलसँग सम्बन्धित काम पनि हुन पर्ने जति नभएको होला । तर, केही काम भने भइरहेकै छ ।

कर्णालीको सुर्खेतमा अर्को वर्ष हुने १० औँ राष्ट्रिय खेलकुदका लागि तयारी धमाधम भइरहेको छ । बजेटको अभाव नहुने हो भने यो प्रतियोगिताले खेल क्षेत्रमा अर्को आशा जगाउने छ । अहिले सरकारले ८० वटा खेलका लागि लगानी गर्ने भनेको छ ।

खेलकुदमा राज्यको लगानी पूर्वाधार विकासमा मात्रै होइन । अन्य पनि धेरै छन् । सम्बन्धित खेलका लागि आउने बजेट र पाउने सेवा सुविधा छँदैछन् ।

अहिले निजी क्षेत्रहरूको आकर्षण पनि खेलकुद क्षेत्रमा बढ्दै गएको छ । यो वर्ष नेपालले दोस्रो पटक टी–२० विश्वकप क्रिकेट खेल्यो । केही दिनअघि मात्रै यू–१९ महिला क्रिकेट विश्वकपका लागि छानिएर फर्कियो । फुटबल र भलिबलमा पनि अन्तर्राष्ट्रिय र स्थानीय प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् ।

अन्य खेलले पनि अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरिरहेका छन् । कतिपय खेलमा भने राज्यको लगानी भन्दा प्रतिफल धेरै छन् । राज्यले बेवास्ता गरेका खेलाडीहरू अन्तर्राष्ट्रिय अवार्ड लिएर फर्किएका छन् । यी क्षेत्रका लागि राज्यले सोच्न जरुरी छ । लगानी बढाउन आवश्यक छ । राज्यले लगानी गरे अनुसार नै प्रतिफल पाउँदै जाने हो । कतिपय लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ला । तर, त्यसका लागि सुरुमा राज्यले लगानी गरेर आधार खडा गर्नुपर्छ ।

हामीले आज गर्ने लगानी भनेको भोलिको प्रतिफलको लागि हो । सरकार मात्रै लागेर भने पुग्दैन सँगसँगै सम्बन्धित खेलकुदका जिम्मेवार निकायले पनि योजना बनाएर लाग्न जरुरी छ । राम्रा योजना निर्माणमा हामीले ध्यान दिनु पर्छ । हामीले राम्रो योजना दिने हो भने सम्बन्धित निकायले त्यसमा चासो दिन्छ र लगानी पनि गर्छ । हामी नै अलमलिन पुग्यौँ भने अगाडी जान सकिँदैन ।

नेपाली क्रिकेटको व्यावसायिकता र नयाँ आयाम

नेपाल क्रिकेट संघ (क्यान) पहिलो पटक आफैँ नेपाल प्रिमियर लिगको आयोजना गरेको छ । क्यानले आयोजना गरेको यो प्रतियोगीता घरेलु तथा अन्तर्राष्ट्रिय स्तरकै सबैभन्दा ठूलो प्रतियोगिता हो ।

नेपाल प्रिमियर लिगलाई भव्य बनाउन क्यानका सम्पूर्ण साथीहरू एक वर्षदेखि अनवरत लागिरह्यौं । हामी यसरी अगाडि बढ्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया र साथ सहयोग पाएका छौं । आगामी दिनमा यो नेपाल प्रिमियर लिगलाई र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा हामी महत्वपूर्ण रूपमा चिनाउन चाहन्छौं ।

२० वर्षअघि नेपाली क्रिकेटरहरूको जुन पारिश्रमिक थियो अहिले धेरै फेरबदल भइसकेको छ। क्रिकेटर ३०/४० जनामा मात्रै अब सीमित रहने छैनन् । क्यानले जिल्ला जिल्लामा पुर्‍याउने खाका कोरिरहेको छ ।

यसभन्दा अगाडि पनि एभरेस्ट प्रिमियर लिग, धनगडी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरि तीनवटा फ्रेन्चाइज क्रिकेट लिग भएका छन् । त्यसबखत केही टिमले बाहेक धेरैले आर्थिक रूपमा फाइदा उठाउन सकेनन् । यस पटक लगानी पनि बढी भएको छ । नेपाल क्रिकेट संघले एनपीएल भिन्न तरिकाले सञ्चालन गर्ने प्रयास गरिरहेको छ ।

अहिले नेपाल क्रिकेट संघ र टिमहरूले जुन लगानी गरेका छन् त्यो लगानी हेर्दा सयअघिको प्रतियोगिताको लगानी निक्कै कम देखिन्छ । हामीले अहिले मात्रै एउटा प्रतियोगिता आयोजना गर्न लागिरहेका हैनौं । देशमा नै एउटा खेलकुदको संस्कार बसाल्नुपर्छ भनेर अगाडी बढेका छौं । अहिले बनेका फ्रेन्चाइज टोलीहरूलाई हामी प्रदेश र जिल्लासम्म जोड्ने प्रयासमा छौँ । हरेक फ्रेन्चाइज टोलीले आफ्नै एकेडेमी खोल्न सक्छन् ।

अहिलेका आठ वटा फ्रेन्चाइज टोलीमध्ये तीनवटा प्रदेशका नाममा र बाँकी सहरका नाममा जोडिएका छन् । नेपाल क्रिकेट संघले लामो छलफलपछि यी टोली बनाएको हो । तर, हामीलाई थाहा जति पनि टोलीहरू छन्, त्यसका लगानी कर्ताले केही वर्षसम्म यी टोलीबाट आर्थिक लाभ पाउन सक्नुहुन्न । हामीले टोली लिने र लिन चाहने लगानी कर्ताहरूलाई तीनदेखि चार वर्षसम्ममा गर्नु पर्ने लगानीका बारेमा प्रस्ट बनाइसकेका छौं । यी यी क्षेत्रमा ताईहरूले लगानी गर्नुपर्छ भनिसकेका छौं ।

नेपाल प्रिमियिर लिगका लागि टिम किन्न १६ वटा लगानी कर्ताले इच्छा देखाउनु भएको थियो। यो भनेको नेपाली क्रिकेटले प्राप्त गरेको ठूलो उपलब्धि हो। हामीले ६ वटा टोलीबाट सुरु गर्ने सोचेका थियौँ। तर हामीले यस्तो उत्साह देखेपछि ८ बनायौं। हामीले देशका सबै ठाउँलाई समेट्ने प्रयास पनि गरेका छौं ।

भविष्यमा जुन लगानीको कुरा छ सम्पूर्ण फ्रेन्चाइज टोलीका लगानी कर्ताहरूलाई धन्यवाद भन्नुपर्छ । राम्रो पक्ष अर्को के पनि हो भने ८ वटा फ्रेन्चाइजको साथसाथै अर्को ८ वटा फ्रेन्चजीहरू पनि बाहिर हुनुहुन्छ । जसले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज लिनको लागि र फ्रेन्चाइज टोलीसँग जोडिन रुची देखाएका छन् ।

पहिलो संस्करणपछि हामीलाई पनि नयाँ खाका के आउनेछ भने फ्रेन्चाइजमा मोडलमा एउटा टिमले कति खर्च गरेर आफूलाई टिकाउन सक्छ हामीले खाका बनाएका छौँ, जुन १० वर्षसम्मको छ । १० वर्षको अवधिसम्म हरेक वर्ष गरेको लगानीको आम्दानी कसरी फिर्ता पाउँछ भनेर हामीले आकलन गरेका छौं ।

सुदूरपश्चिमका हरेक क्रिकेट फ्यानले सुदूरपश्चिम हाम्रो क्रिकेट टिम हो भनेर जर्सी किनुन् । जस्तो, आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर यो टिम सबैभन्दा बढी ब्राण्ड भ्याल्यु बोकेको टिम हो ।
हामीले आर्थिक रूपमा गरेको लगानीको प्रतिफल ग्रासरुट क्रिकेटसम्म पर्ने छ । भोलि बच्चाहरूले त्यो ठाउँको टोलीसम्म जोडिएर क्रिकेटमा आबद्ध हुनेछन् । यसको प्रभाव लामो समयसम्म रहिरहनेछ । अहिले लगानी गरेर आजको भोलि मात्रै फाइदा हेरेर हुँदैन ।

नेपाल क्रिकेट संघको लगानी मैदानमा मात्रै होइन मैदानभन्दा बाहिरका गतिविधिबाट पनि देख्न सक्नुहुनेछ । हामीले अहिले नेपाल प्रमियर लिगलाई हामीले आत्मनिर्भर बनाउने हिसाबले अगाडि बढाएका छौं । सबैभन्दा ठूलो स्टेकहोल्डर भनेको हाम्रो लगानीकर्ता हो । जसलाई हामीले पहिल्यै भनिसकेका छौं, पहिलो तीन वर्ष फाइदा लिन सक्नुहुन्न । थाहा भएरै पनि उहाँहरूले सहयोग गर्नुभएको छ ।

खेलकुदको आर्थिक प्रभाव र रोजगारी

अब खेलकुदका गतिविधि बढ्दै जाँदा अन्य क्षेत्रमा पनि यसको असर देखिन थाल्छ । यसको सकारात्मक असर रोजगारीमा पनि देखिने छ । खेलाडीहरूले त खेल्ने मात्रै हो । अन्य तयारीका लागि अन्य व्यक्तिहरूका लागि रोजगारी सिर्जना हुन्छ । राज्यले लगानी बढाउँदै जाँदा खेलकुदका लागि पूर्वाधारहरू बन्दै जानेछन्। हामीले आम्दानी गरेपछि जिल्ला जिल्लामा लगानी बढाउने छौं । त्यहाँ पनि नयाँ रोजगारी बढ्छ ।

आज केन्द्रका उत्कृष्ट २५ खेलबाडीहरूले पाँच वर्ष खेल्दा जीवन निर्वाहका लागि चिन्ता नगर्नु पर्ने अवस्था बनिसकेको छ । यो अवस्था भोलि प्रदेश र जिल्लामा पनि विस्तार हुन्छ ।

हामी कुनै पनि एउटा प्रतियोगिता आयोजना गरेर यसको नाफाघाटा मात्रै हिसाब गर्न सीमित हुन चाहँदैनौं । यसको प्रभाव राष्ट्रकै विकासमा परोस् भनेर सोही अनुसारको लगानी चाहन्छौं । अहिले क्रिकेट एउटा उचाइमा पुगेको छ । यसले अरू खेललाई पनि प्रभाव पार्न सक्छ ।

आज भलिबलका कवर्ड हल भरिन थालेको छ । फुटबलमा रंगशाला पहिल्यैदेखि दर्शकले भरिन्छ । खेलकुदले पर्यटकलाई पनि आकर्षण गर्छ । नेपालमा अरु धेरै इभेन्ट्सहरू छैनन् । यस्ता खेलहरू नेपाली दर्शकले कुरेर बस्छन् । यो क्रम बिस्तार हुँदै जानेछ ।

आगामी वर्षहरूमा काठमाडौं बाहिर पनि प्रतियोगिता सञ्चालन गर्न सकिएको खण्डमा त्यहाँ पनि दर्शकहरू भरिभराउ हुनेछन् । पूर्वाधार तयार भइसकेपछि हामी यस्ता प्रतियोगिता काठमाडौं बाहिर पनि गर्नेछौं ।

अहिले राज्यले भौतिक पूर्वाधारमा नै लगानी गर्नु पर्ने छ । लगानी अगाडि बढाएका धेरै संरचनाहरू पूरा भइसकेका छैनन् । अझै पनि हामी राति प्रतियोगिता सञ्चालन गर्न सक्ने अवस्थामा छैनौं, अर्को वर्षको नेपाल प्रिमियर लिग फ्ल्डलाइटमा गर्न सकिन्छ भन्ने हामीलाई विश्वास छ । यसका लागि ३० करोड रुपैयाँ आवश्यक छ । यस्तै मुलपानी क्रिकेट मैदानमा पनि थप लगानीको आवश्यकता छ ।

राज्यले हाल खेलकुद क्षेत्रमा लगानी बढाएको छ र पूर्वाधारलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेको छ । यद्यपि, यो लगानी पर्याप्त नभएकोले पूर्वाधार विकास, प्रशिक्षण, र युवा सहभागितामा अझ सुधार आवश्यक छ ।

नेपाली क्रिकेटको भविष्य

नेपाली क्रिकेटमा गत वर्षहरूमा भन्दा तुलनात्मक रूपमा लगानी बढेको छ । निजी क्षेत्र क्रिकेटमा लगानी गर्न उत्सुक देखिन्छ । खेलकुद प्रतियोगितामा राम्रो प्रायोजन प्राप्त भइरहेको छ । खेलाडीहरूमा पहिलेभन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा लगानी बढेको छ । यो चाहे सेवा सुविधामा होस्, प्रशिक्षण वा व्यक्तिगत प्रायोजनमा । हिजो र आजको अवस्था पक्कै पनि फरक भइसकेको छ । तर, यस परिवर्तनलाई दीर्घकालीन रूपमा कसरी टिकाई राख्ने यो चुनौती पक्कै छ ।

नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फुटन, व्यावसायिक लिगको सुरुवात र अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शनले नेपाललाई आगामी वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ ।

हामीले सञ्चालन गर्ने नेपाल प्रिमियर लिगमा पनि यसलाई ध्यान दिएका छौं । हरेक टिममा अन्तर्राष्ट्रिय प्रभावशाली खेलाडीदेखि स्थानीय प्रतिभावान खेलाडीहरू समेटिएका छन् । यसले नयाँ आउने खेलाडीहरूलाई अनुभव र ऊर्जा दिन्छ । निखारिने मौका मिल्छ ।

राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहहरूमा खेल सुविधाहरू विस्तार गर्नु, र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यावसायिक अवसरहरू पनि थप्नुपर्छ ।

खेलकुदको बहुआयामिक योगदान

खेलकुदमा लगानीले राष्ट्रको प्रतिष्ठा बढाउँछ । यसले राष्ट्रको पर्यटन प्रवद्र्धन गर्नुका साथै युवा शक्तिलाई सकारात्मक दिशामा लैजान र देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँछ । यहाँ हुने खेलकुद गतिविधि नियाल्न विदेशी पर्यटकहरू भित्रिन्छन् । त्यसको फाइदा खेल क्षेत्रलाई मात्रै होइन अन्य क्षेत्रलाई पनि उत्तिकै हुन्छ । यो भनेको राज्यले पाउने फाइदा नै हो । हामीले खेलकुदलाई जित र हारको रूपमा मात्रै हेर्‍यौं भने न्याय हुँदैन ।

खेलकुदले पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, सामाजिक एकता र आत्मबलमा सकारात्मक प्रभाव पार्छ । यसले राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउँछ ।

राज्यले दीर्घकालीन सोचका साथ खेलकुदमा व्यावसायिक र संरचनात्मक लगानी गर्नुपर्छ । युवा प्रतिभा पहिचान र विकासमा ध्यान दिँदै अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू निर्माण गर्नुपर्ने आवश्यकता छ ।

नेपाली क्रिकेटलाई थप सशक्त बनाउन हामीले दीर्घकालीन लक्ष्य अनुसारका कार्यक्रमका साथै आधारभूत सुविधाहरू विस्तार गर्ने प्रयास गरिरहेका छौं । पुरुष क्रिकेटसंगै अब महिला क्रिकेट खेलाडीहरू तथा ग्रासरुट क्रिकेट विकासमा विशेष ध्यान केन्द्रित गरेका छौं । आईसीसीको पूर्ण राष्ट्र बन्नका लागि चाहिने सम्पूर्ण मापदण्डहरू अनुसार काम गरिरहेका छौं । नेपाली क्रिकेटलाई थप उचाईंमा लग्ने प्रयासमा हामी निरन्तर लागेका छौं । सबैको साथ सहयोग लिएर आगामी दिनमा पनि हाम्रो प्रयास जारी रहन्छ ।

(आर्थिक पत्रकारहरुको संस्था सेजनको स्मारिकामा प्रकाशित क्यानका सचिव पारस खड्काको विचार)

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ००:००  ३ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping