पूर्वी नाकाबाट करोडौंका गाईगोरु तस्करी: उज्यालो नहुँदै पुर्‍याइन्छ भारत, बंगलादेश र भुटान « Eglish Khabarhub

पूर्वी नाकाबाट करोडौंका गाईगोरु तस्करी: उज्यालो नहुँदै पुर्‍याइन्छ भारत, बंगलादेश र भुटान


२७ मंसिर २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पहाडी क्षेत्रदेखि नेपालगन्जबाट समेत ल्याइएका गाईगोरु पूर्वी नेपालका हाट बजारमा दिनभर राखिए पनि भोलिपल्ट बिहान उज्यालो नहुँदै अवैध रुपमा सीमापार गरिँदै आएको छ ।

विराटनगर । कोशी पश्चिमबाट हरेक दिन ट्रकका ट्रक गाईगोरु पूर्वी नाका काँकडभिट्टातिर लगिन्छ । ती गाईगोरुको गन्तव्य कहाँ हो भनेर पूर्वी नेपालका बासिन्दाहरुलाई उत्सुकता त हुन्छ तर उनीहरु बेखबर नै छन् ।

मेची नाकाबाट भारत निकासी गरेको मान्ने हो भने पछिल्लो पाँच महिनादेखि काँकडभिट्टा भन्सार र त्यहाँको पशु क्वारेन्टाइन चेक पोष्टको स्वीकृतीमा एउटा पनि गोरु भारत निकासी भएको तथ्याङक छैन । विगतमा यो नाकाबाट भारततर्फ गोरु निकासी हुने गरेको थियो । यसरी निकासी भएका गाईगोरु भारतीय मार्ग हुँदै बंगलादेश र भुटान पुर्‍याइन्थ्यो ।

हाल पनि कोशी पश्चिमबाट मासिक रुपमा २ सय ट्रकभन्दा बढी गाई-गोरु झापा ल्याइन्छ । र ती सबै गाई-गोरु खुलेआम अवैध मार्ग हुँदै भारत छिराइन्छ र ती गाई-गोरुलाई भारतीय व्यापारीले भुटान र बंगलादेश पुर्‍याउने गरेको सम्बद्ध कारोबारीको भनाइ छ ।

त्यति मात्र होइन । कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका विभिन्न १६ स्थानमा दैनिकजसो पशुको हाट बजार नै लाग्छ । ती सबै हाट बजारमा सातामा ५ करोड रुपैयाँभन्दा बढी मूल्यका गाईगोरुको खरिद बिक्री हुँदै आएको छ । पूर्वी तराईका हाट बजारमा खरिद विक्री भएका ९० प्रतिशत गाईगोरु पनि मेची बगर र सीमावर्ती नाका तिर पुर्‍याइन्छ ।

काँकडभिट्टा पशु क्वारेन्टाइन चेकपोष्टका प्रमुख मुकेश सिंह भन्छन्, ‘सबैतिरबाट संकलन गरिएका गाई गोरु मेची बगरमा दिनभर थुपारेर राखेको देखिन्छ । तर भोलिपल्ट उज्यालो हुँदा एउटा पनि देखिँदैनन् । रातारात कहाँ पुग्छन् ती गाईगोरु ?’

पूर्वी नाका काँकडभिट्टाको मेची नदीको बगरमा हरेक दिन दिनभर बग्रेल्ती गाईगोरु देखिन्छन् । सिंहकाअनुसार घाम अस्ताउने समयसम्म खोलाको बगरमा जम्मा गरिएका चौपाय रातभरमा पाटी टपाइन्छ । भोलिपल्ट सूर्य उदाउँदा बगरमा गोबर सोहोर्ने मानिसको मात्रै भीड देखिन्छ । र यो दृश्य देखिनु पूर्वी नाकामा हरेक साँझ र बिहान सामान्य भइसकेको सिंह बताउँछन् ।

सुनसरीको इनरुवा, कान्छी चोक, दहवी मोरङको ठूलो दोमहना, सानो दोमहना, वेलवारी, मधुमल्ला, पथरी, मंगलबारे र झापाको दमक, भद्रपुर, कुन्जीवारी, घैलाडुवा, शनिश्चरे, नकलवन्ध, जामुना लगायतका स्थानमा सातै पिच्छे पशु हटिया लाग्छ ।

ती हटियामा स्थानीयसहित पूर्वी पहाडी क्षेत्रबाट गाईगोरु विक्री गर्न ल्याइन्छ । र त्यहाँ खरिद बिक्री भएका गाईगोरु ९० प्रतिशत मेची बगर र झापाका अन्य सीमावर्ती क्षेत्रमा पुर्‍याउने गरिन्छ । लामो समयदेखि गाईगोरुको कारोवार गर्दै आएका एक कारोवारीले भने, ‘साँझमा सीमा सीमाक्षेत्र पुर्‍याएर सीमा क्षेत्रका सुरक्षाकर्मीसँगको सेटिङमा राति नै भारत तिर सप्लाइ गरिन्छ ।’

उनका अनुसार भारत छिराइएका ती गाईगोरु भुटान र बंगदादेशसम्म पुग्छन् । ती कारोवारीले भने, ‘भारतीय कारोवारी यताका गाईगोरु लिन सीमा क्षेत्रमा आफैं आउँछन् र उनीहरुले भारतीय मार्ग हुँदै सेटिङमा भुटान र बंगलादेश पुर्‍याउँछन् । भुटान र बंगलादेशमा गाई र गोरुको मासु अत्याधिक मात्रामा खपत हुन्छ ।’

एक वर्ष पहिलासम्म पशु क्वारेन्टाइन काँकरभिट्टाको सिफारिसमा मेची भन्सार नाका हुँदै भारततर्फ गोरुको निकासी हुने गरेको थियो । चालु वर्षको पाँच महिना यो नाकाबाट एउटा पनि गोरु भारत निकासी नभएको काँकरभिट्टा पशु क्वारेन्टाइन प्रमुख सिंहले क्लिकमान्डुलाई जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ७६/७७ मा ४ हजार ६१५, ७७/७८ मा ५ हजार ५७८, ७८/७९ मा १ हजार ३४१, ७९/८० मा २ हजार १३६ र ८०/८१ मा १ हजार ४०९ वटा गोरु क्वारेन्टाइनको स्वीकृतिमा भन्सार नाकाबाट भारत निकासी भएका थिए ।

तर चालु वर्षको पाँच महिनामा क्वारेन्टाइनले एउटा पनि गोरु निकासीका लागि स्वीकृति दिएको छैन । सिंह भन्छन्, ‘तर मेची खोलाको बगरमा हरेक दिन साँझ हजारभन्दा बढी गाईगोरु देखिन्छन् तर भोलिपल्ट बिहान आसपासमा एउटा पनि भेटिँदैन । ती गाईगोरु रातारात भारत छिराएर भुटान र बंगलादेश पुर्‍याउने गरेको कुरा छर्लंगै छ । क्वारेन्टाइनको स्वीकृतिमा पाँच महिनायता एउटा पनि गोरु भारत निकासी भएको छैन, कसरी भारत पुग्छन् आफैं आकलन गर्नुस् ।’

कारोवारीले अवैध बाटोबाट सजिलै भारत छिराउने गरेकै कारण पश्चिम नेपालगञ्जदेखिका गाईगोरु पूर्वी नाकासम्म ल्याइन्छ । त्यति मात्र होइन मोरङ, सुनसरी र झापाका विभिन्न १६ स्थानमा प्राय दिनहुँ जस्तो चौपाया हटिया लाग्छ । ती हटियामा स्थानीयसहित पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम र इलामका गाईगोरु पनि बिक्री गर्न ल्याइन्छ ।

ती हटियामा खरिद बिक्री हुने गाईगोरु पनि नेपालगञ्जबाट ल्याइने गाईगोरुसँगै मिसाएर मेची बगरसहित झापाका विभिन्न सीमावर्ती छोटी नाकामा साँझमा जम्मा गरेर रातभरमा भारत छिराउने गरिएको एक कारोवारीले बताए । ती कारोवारीका अनुसार कोशी पश्चिमबाट मासिक रुपमा सरदर २ सय ट्रकभन्दा बढी गाईगोरु भारत निकासी गर्नैका लागि झापा पुर्‍याउने गरिएको छ ।

कारोवारीका अनुसार प्रहरीसँगको सेटिङमा झापाको भद्रपुर, घैलाडुवा, कुञ्जीवारी, जामुना, नकलवन्द, गलगलिया, भैसावारी, ठाकुरगञ्ज, केचना, घेरावारी, पाठामारी, किचकवध, खुदुनावारी, ज्यामिरगढी तथा मोरङको वरडंगा, डाइनिया, झुरकीया लगायत नाकाबाट हरेक रात अवैध रुपमा गाईगोरु भारत छिराउने गरिन्छ ।

कोशी प्रदेशको सबैभन्दा ठूलो चौपाय हटिया झापाको दमकमा हरेक बुधबार लाग्छ । त्यो हरेक हटियामा ४० देखि ५० लाखसम्मको गाईगोरुको कारोवार हुन्छ । हटियाका ठेकेदार सानबहादु खड्गीले भने, ‘यहाँ खरिद विक्री भएका गाईगोरु पनि व्यापारीले खुदुनावारी, घैलाडुवा र मेची खोलाको बगरमा जम्मा गरेर भारत टपाउँछन् । यो हटियामा एक दिनमा सरदर आढई सयदेखि तीन सयसम्म गाईगोरुको खरिद विक्री हुन्छ । त्यसमध्ये १० प्रतिशत मात्रै स्थानीय रुपमा रहन्छन् ।’

बाँकी अधिकांश अवैध मार्ग हुँदै भारत छिराएर भुटान र बंगलादेश पुर्‍याउने गरिएको खड्गीको भनाइ छ । विगतका वर्षहरुमा यो हटियामा हरेक बुधबार सरदर ८०-९० लाखसम्मका गाईगोरुको खरिद बिक्री हुन्थो । पछिल्लो पटक पहाडबाट गाई र गोरु ल्याउने क्रम घट्दो रहेको पनि खड्गीले बताए ।

कर लगाएपछि तस्करी !

राजमार्गमा पर्ने स्थानीय निकायले सडकमा कवाडी करका नाममा ढाट तेर्साएर गाईगोरुमा पनि कर लिन थालेपछि व्यापारीले हटियामा गाई गोरु ल्याउन छाडेर बिचौलियाले सोझै सीमावर्ती क्षेत्रमा पुर्‍याउँदा हरेक चौपाय हटिया सुनसान बन्दै आएको छ ।

महेन्द्र राजमार्गमा इटहरीदेखि सुरुङगा, विर्तामोडसम्मका स्थानीय पालिकाले कवाडी करका नाममा गाईगोरुको पनि कर लिने गरेका छन् । दमक पशु हटिया दमक नगरपालिकाले भ्याटसहित वार्षिक १ करोड ४९ लाखमा ठेक्का लगाएको छ । ठेकेदारले हरेक बुधबारको हटियामा सरदर डेढ लाखदेखि दुई लाख कर संकलन गर्ने आएको ठेकेदार खड्गीले बताए ।

पाइलैपिच्छेका स्थानीय पालिकाले राजमार्गमा ढाट तेर्साएर गाईगोरुमा पनि कवाडी कर लिएपछि गाई गोरुका विचोलियाले पशु हटियामा नल्याएर सिधै भारतीय विचौलियालाई सीमा क्षेत्रमा गाईगोरु पुर्‍याएर तस्करीलाई नै सहायता गर्दै चलन बढेको खड्गीको बुझाइ छ ।

त्यसैगरी मोरङको दोमना पशु हटिया प्रदेशकै दोस्रो ठूलो हो । रंगेली नगरपालिकामा पर्ने यो हटियाल नगरपालिकाले ४६ लाखमा ठेक्का लगाएको छ । ठेकेदार सुरज यादवका अनुसार बिचौलियाले गाई र गोरु सिधै भारतीय व्यापारीलाई सीमावर्ती क्षेत्रमा पुर्‍याएर विक्री गर्दा हटियामा आउनै छाड्यो ।

साताको आइतबार र बिहीबार लाग्ने यो हटियामा विगतमा एक पटकमा ४०-५० लाख मूल्य बराबरका गाईगोरुको कारोवार हुन्थो । अहिले एक पटकमा सरदर २०-२५ लाखको पनि कारोवार हुँदैन । यादवले भन्छन्, ‘ पहाडबाट आउने र स्थानीय गाईगोरु बिचौलीयाले सीमावर्ती क्षेत्रमा भारतीय व्यापारीलाई सिधै विक्री गर्दा पशु हटियाको कारोवार ह्वात्तै घटेको छ ।’

झापा प्रहरी प्रमुख एसपी मिलन केसी भने पूर्वी नाकाबाट गाई गोरुको अवैध निकासी हुँदै नभएको दाबी गर्छन् । र यदि कसैले तस्करी गरेको देखेको भए प्रहरीलाई नै खबर गरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ । एसपी केसीले क्लिकमान्डुसँग भने, ‘अवैध बाटोबाट गाईगोरु गएको देखेको हो भने देख्ने व्यक्तिले पक्राउ गरेर प्रहरीलाई खबर गरे भै गो नि !’

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार ००:००  १ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping