![](https://internal.appharu.com/wp-content/uploads/2024/07/bank-karja-new-cover-768x403.png)
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा साँवा र ब्याज असुल हुने क्रम उच्च दरमा घटेको छ । बिभिन्न बैंकका उच्च अधिकारीका अनुसार पछिल्लो समय क्षमता हुने व्यक्तिले समेत साँवा र ब्याज तिर्न छाडेका छन् । मंसिर मसान्तसम्म साँवा ब्याज तिर्नेको संख्या अपेक्षा गरेभन्दा पनि घटेको बैंकरहरुको भनाइ छ ।
एक बैंकका प्रमुख कार्यकारी अधिकृत मारवाडी समुदायका व्यक्तिले नियमित साँवा ब्याज तिरे पनि अन्य व्यक्तिले साँवा र ब्याज तिर्न लापरबाही गरिरहेको बताउँछन् ।
‘अहिले प्राय ठूला व्यवसायी नै ऋण डिफल्ट गर्ने अवस्थामा पुगेका छैनन् । साना र मध्यमस्तरका केही ऋणीहरु वास्तविक समस्यामा छन् । केहीले जानिजानी साँवा ब्याज चुक्ता गर्न चाहेका छैनन्,’ अर्का बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘प्राय मानिसहरु जग्गाको मूल्य बढ्छ र बैंकको ऋण तिर्छौं भन्ने सोचमा छन् । जसले गर्दा बैंकिङ क्षेत्र समस्यामा परिरहेको छ ।’
जग्गा बिक्री गर्दै ऋण तिर्ने क्रम नबढेको अवस्थामा बैंकिङ क्षेत्र ठूलो समस्यामा पर्ने बैंकरहरुको भनाइ छ । चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड कार्यान्वयनमा आउनुको साथै कर चुक्ता प्रमाणपत्रका आधारमा मात्रै व्यक्तिगत प्रकृतिको कर्जा दिने क्रम सुरु भएपछि कर्जाको माग सुस्त भएको बैंकरहरु बताउँछन् ।
‘अहिले विस्तार भइरहेको कर्जाले उत्पादन बढाउने वा उत्पादत्व बढाउने कुनै सम्भावना छैन । अहिले अधिकांश व्यक्तिले पुरानो साँवा र ब्याज तिर्न ऋण लिएका हुन्,’ बैंकरहरु भन्छन्, ‘सरकारले खर्च बढाउनुको साथै बजारमा आर्थिक गतिविधि बढाउने नीति नलिँदासम्म उत्पादन र उत्पादत्व बढाउने गरी कर्जा विस्तार हुने सम्भावना छैन ।’
क्षमता हुनेले पनि साँवा र ब्याज तिर्न छोडे
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको साँवा र ब्याज तिर्नु नपर्ने गरी विवादित बयान दिएपछि क्षमता भएका व्यक्तिहरुले समेत बैंकको साँवा र ब्याज नतिरेको बैंकरहरु बताउँछन् ।
‘राष्ट्र बैंकले सम्पत्ति बिक्री गरेर साँवा र ब्याज तिर्नु पर्ने भन्दा पनि साँवा र ब्याज नतिर्ने ऋणलाई लक्षित गर्दै कयौं सुविधा दिने नीति ल्यायो,’ एक बैंकरले भने, ‘अर्को त्यहीँ समय दुर्गा प्रसाईंले साँवा र ब्याज नतिर्न नबिङ बढाए । जसले गर्दा क्षमता हुनेले पनि कतै केही छुट मिलिहाल्छ कि भन्ने सोचले साँवा र ब्याज तिर्न छाडेका छन् ।’
साँवा र ब्याज उठ्ने क्रम सुस्त हुँदा बैंकको निष्क्रिय कर्जा निरन्तर बढीरहेको बैंकरहरुको भनाइ छ । असोजसम्म समग्र वाणिज्य बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत देखिए पनि आगामी दिनमा उक्त निष्क्रिय कर्जा बढ्ने जाने बैंकरहरुको आंकलन छ।
घर जग्गाको मूल्य नघट्दा समस्या
राष्ट्र बैंकका एक उच्च अधिकारी घर जग्गाको मूल्यमा गिरावट नआउँदासम्म बैंकको साँवा ब्याज उठ्न नसक्ने बताउँछन् । २०७६/७७ सालमा घरजग्गामा लगानी गरेका व्यक्तिहरुले घटेर घर जग्गा कारोबार गर्न नखोज्दा बैंकिङ क्षेत्रमा समस्या देखिएको ती अधिकारीको तर्क छ ।
‘जुन हिसाबले व्यक्तिको आम्दानी बढ्यो, घर जग्गाको मूल्य त्यसभन्दा उच्च दरमा बढ्यो,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘वैध कमाइले घर जग्गा खरिद गर्न नसक्ने अवस्थामा छ । पछिल्लो समय सरकारले सम्पत्ति शुद्धीकरणका विषयमा अनुसन्धान अघि बढाएपछि अवैध पैसा प्रयोग गर्दै घर जग्गा खरिद गर्ने डराएका छन् ।’
विगतमा बैंकले घर जग्गा खरिद गर्न अन्धाधुन्ध ऋण लगानी गर्दा समग्र वित्तीय क्षेत्रमा समस्या आएको स्वीकार गर्ने ती अधिकारी घर जग्गाको मूल्य घटाउने गरी नीति लिएको अवस्थामा मात्रै अर्थतन्त्र चयालमान हुने र बजारमा आर्थिक गतिवधि बढ्ने तर्कमा समेत सहमत छन् ।
राष्ट्र बैंकले आयोजनामा आधारित कर्जाभन्दा पनि धितोमा आधारित कर्जालाई प्रवर्द्ध नगर्ने नीति लिएकाले जग्गाको मूल्य बढेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘यहाँ राष्ट्र बैंकका उच्च अधिकारी, अर्थमन्त्रालयका उच्च अधिकारी, बैंकर , राजनीतिज्ञ देखी व्यवसायीसम्मले घर जग्गा खरिद बिक्री गर्दा ठूलो नाफा हुने देखे,’ एक बैंकले भने, ‘उच्च विन्दुमा मूल्य पुग्दा उक्त घर जग्गा कसले खरिद गर्छ भन्ने कसैले सोचेन । त्यहीँ अवस्थामा बैंकले समेत घर जग्गामा सहजै कर्जा दियो । जसले गर्दा नेपालमा घर जग्गाको मूल्य व्यक्तिको आम्दानी बढेको तुलनामा उच्च दरमा बढेको हो ।’
सरकार आफैंले मुआब्जाको मूल्य बढाउँनु साथैं स्थानीय तहले केही बढी राजस्व प्राप्त गर्न जग्गाको मूल्यांकन बढाउने काम गरेका थिए । ‘स्थानीय तहले गर्ने मूल्यांकन बढी भएको अवस्थामा बैंकले सरकारी मूल्यांकन भन्दा बढी ऋण दिने क्रम बढ्यो,’ बैंकरहरु भन्छन्, ‘जुन घर जग्गामा लगानी गरिन्छ,उक्त घर जग्गाले कमाउने हो वा होइन भन्ने विषयमा कुनै अध्ययन गरिएर जसले गर्दा अहिलेको समस्या सिर्जना भएको हो ।’
सरकारले घर जग्गाको मूल्य घटाउने गरी हस्तक्षेप नगरेको अवस्थामा बैंकिङ क्षेत्र थप समस्या पर्ने र आर्थिक गतिविधि बढ्न नसक्नेमा प्राय बैंकरहरु सहमत छन् ।
‘२०७७ सालसँग तुलना गर्दा त जग्गाको मूल्य घटिसकेको छ । तर पनि बैंकले आफ्नो सम्पत्ती बिक्री गर्न सकेको छैन,’ बैंकरहरु भन्छन्, ‘बैंकको सम्पत्ति बिक्री नहुने, साँवा र ब्याज नउठ्ने तथा ऋणीसँग निरन्तर झगडा गर्ने अवस्थाले बैंकिङ क्षेत्रमा तनावपुर्ण अवस्था सिर्जना गरेको छ ।’
SHARE YOUR THOUGHTS