कोशीमा पहिलो लगानी सम्मेलन: १० अर्बको हलेसी केबलकारदेखि मनोरेलसम्मका योजना « Eglish Khabarhub

कोशीमा पहिलो लगानी सम्मेलन: १० अर्बको हलेसी केबलकारदेखि मनोरेलसम्मका योजना



विराटनगर । कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलन कुनै निजी संस्थाको व्यवस्थापनमा नभई सरकार आफैंले गर्ने भएको छ ।

सरकार माघ ११ देखि १३ गतेसम्म लगानी सम्मेलन गर्ने तयारीमा छ । यस सम्मेलनको व्यवस्थापन जिम्मेवारी उद्योग संगठन मोरङलाई दिने निर्णय भएपछि अन्य निजी संस्था, जस्तै नेपाल उद्योग परिसंघ र मोरङ उद्योग व्यापार संघले कडा आपत्ति जनाएका थिए ।

त्यसपछि सरकारले निजी संस्थाहरूको सहभागितामा विवाद उत्पन्न भएपछि आफैंले सम्मेलन व्यवस्थापन गर्ने निर्णय गरेको हो।

उद्योग संगठन मोरङले माघ ११ देखि २० सम्म विराटनगरको पुरानो हवाई मैदानमा एक्स्पो आयोजना गर्दै छ । सोही स्थानमा लगानी सम्मेलन गर्ने तयारी भए पनि अन्य निजी क्षेत्रहरूको विरोधपछि सरकार पुरानो हवाई मैदानबाट पछि हटेको छ । सम्मेलनको नयाँ स्थान भने तय भइसकेको छैन ।

मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेश सभाको सुशासन तथा योजना समितिमा सम्मेलनबारे प्रष्ट पार्दै भनेका छन्, ‘सम्मेलन कुनै निजी संस्थाको ब्यानरमा नभई सरकार आफैंले आयोजना गर्ने हो ।’

उनले कुनै एक संस्थालाई मात्र व्यवस्थापन जिम्मेवारी दिनु उचित नहुने बताउँदै सम्मेलनलाई सहमतिको वातावरणमा अघि बढाउने प्रयास गरिएको उल्लेख गरेका छन् ।

यस सम्मेलनका लागि सरकारले तीन करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । सम्मेलनमा कोशी प्रदेश लगानी प्राधिकरणले १० करोडभन्दा माथिका ३७ वटा आयोजना प्रस्तुत गर्ने तयारी गरेको छ । यी आयोजनाहरूको कुल अनुमानित लागत एक खर्ब पाँच अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

सरकारले आउँदो माघ ११ देखि १३ सम्म प्रदेशको पहिलो लगानी सम्मेलन गर्दा कोशी प्रदेश लगानी प्राधिकरणले विभिन्न ३७ वटा आयोजना प्रस्तुत गर्न सोकेसमा राखेको छ ।

लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार सम्मेलनमा १० करोड माथिका एक खर्ब पाँच अर्ब ८५ करोड लागतका प्रारम्भिक ३७ वटा योजना प्रस्तुतीका लागि तयारी गरिएको जानकारी दिएका छन् ।
प्राधिकरणले लगानी सम्मेलनमा प्रस्तुतीका लागि सोकेसमा राखेका योजनामा सुनसरीको कोशीमा २०७७ सालदेखि निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टरदेखि आकर्षक योजनाहरू पनि छन् ।

सोकेसमा समेटिएका योजनामा २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् । यस्तै, १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एउटा आयोजना, र १३ अर्ब १२ करोड बराबरका ११ वटा पर्यटन सम्बन्धी आयोजना छन् ।

त्यसैगरी, इलामको जितपुरमा २२ करोडको लगानीमा देउमाई कफी फार्म, धनकुटाको सहिदभूमिमा २७ करोडको लगानीमा सिट्रस फ्रुट्स फार्मिङ, प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, इलामको सूर्योदय नगरपालिकामा ३३ करोडको लगानीमा डेरी प्रोडक्ट्स एण्ड प्रोसेसिङ उद्योग, धनकुटाको साँघुरीगढीमा २५ करोडको योजनामा किबी फार्मिङ, प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, धनकुटामै ६४ करोडको लगानीमा एभोकाडो फार्मिङ, प्रोसेसिङ उद्योग, अनुसन्धान केन्द्र र एग्रोटुरिजमको आयोजना छन् ।

यस्तै, इलाममा ८० करोडको लगानीमा एड्भान्स नेप्लिज टि एण्ड कफी उद्योग, सोलुखुम्बुमा ६२ करोडमा आमादाब्लाम मिनि हाइड्रो परियोजना, सोलुखुम्बुमै ५५ करोडमा मेन्जोखोला मिनि हाइड्रो, मोरङमा १ अर्ब १६ करोडको लगानीमा हर्बल प्रोसेसिङ प्रोजेक्ट उद्योग, सुनसरीमा ९ करोडको एग्रो प्रोसेसिङ सेन्टर उद्योग, उदयपुरमा ३२ अर्बको उदयपुर क्लिङ्कर, सुनसरी र उदयपुरमै २६ अर्बको ग्रिन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, उदयपुरमा २ अर्बको बायो इथानोल प्रोजेक्ट, पहाडी जिल्लाहरू लक्षित गरी ४० करोडको लगानीमा कोदोको रक्सी उद्योगको आयोजना प्रस्तुत गरिने भएको छ ।

फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च प्रोजेक्ट उद्योग, काँकडभिट्टामा ४० करोडको बसपार्क, धनकुटाको भेडेटारमा ३० करोडको लगानीमा भेडेटार मल्टिपर्पोज कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङमा ४ अर्ब ८० करोडको लगानीमा विराटनगर मल्टिपर्पोज कमर्सियल कम्प्लेक्सको पूर्वाधार निर्माण, विराटनगरमै २ अर्ब ३० करोड र १ अर्ब ७५ करोडको लगानीमा दुईवटा फाइभ स्टार होटलको पूर्वाधार निर्माणका प्रोजेक्ट तयार पारिएको छ ।

यस्तै, विराटनगरमै २८ करोडको लगानीमा विराटनगर पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टको पूर्वाधार निर्माण, मोरङमा ५ अर्बको कोशी पोडवेको पूर्वाधार निर्माण, खोटाङको हलेंसीमा १० अर्बको हलेंसी केबलकार–पोडवे निर्माण, आइटीसीतर्फ २५ करोडको लगानीमा डाटा सेन्टर स्थापना, २२ करोडको लगानीमा डिजिटल कोशी, झापाको मेचीनगरमा ५० करोडको लगानीमा इन्टेग्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट निर्माण, सुनसरीको बर्जुमा ४ अर्ब २८ करोडको लगानीमा बर्जु ताल टुरिजम प्रोजेक्ट र यस्तै सुनसरीमै ८० करोडमा रास ताल टुरिजम प्रोजेक्ट तयार पारिएको छ ।

त्यस्तै, अन्य योजनामा मोरङको बेतनामा २४ करोडको लगानीमा बेतना सिमसार टुरिजम प्रोजेक्ट, सुनसरीमा २५ करोडको लगानीमा वाटर पार्क, सुनसरीमै २ अर्ब लगानीको कोशी रिफ्रेसमेन्ट सेन्टर, ३५ करोड लगानीमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट, १ अर्ब ५० करोडको लगानीमा इलामको कन्याम अन्तु केबलकार प्रोजेक्ट निर्माण, इलाममै १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार प्रोजेक्ट, इलाममै ८० करोड लगानीमा कन्याम मनोरेल प्रोजेक्ट, सोलुखुम्बुमा ४० करोडको लगानीमा चिउरीखर्क नाम्चे रोपवे निर्माण र सोलुखुम्बुकै चौंरीखर्क छेदिङमा केबलकार १ अर्ब ५० करोडको लगानीको योजना प्राधिकरणले सोकेसमा राखेको छ ।

उक्त योजनाहरू छनोट गरी निर्देशक समितिमा पठाइसकेका छौं । कोइरालाले भने, ती आयोजना निर्माणका लागि लगानीकर्तासँग सम्मेलनकै अवसरमा एमओयु गर्ने तयारी छ ।

Publish on: