![](https://internal.appharu.com/wp-content/uploads/2024/12/upper-tamakoshi2-768x393.jpg)
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मंगलबार साँझदेखि १०० मेगावट उत्पादन थाल्ने भएको छ ।
असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना मर्मत गरेर मंगलबार साँझबाट सञ्चालन ल्याउन लागिएको हो । ‘रिजर्भ पोखरी भरिरहेका छौं । एउटा डिसेन्डर तयार छ । अहिले पूजा गरिरहेका छौं,’ माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले भने, ‘सुरुङमार्ग भरिरहनुपर्ने छैन । १०० मेगावाट बेलुकीसम्म उत्पादन हुन्छ ।’
दुईवटा डिस्याण्डरमध्ये एउटा तयार भएको छ । उक्त डिस्याण्डर प्रयोग गरेर सुरुङमार्गमा पानी पठाइनेछ । यो अर्ध-जलाशय प्रकृतिको जलविद्युत् आयोजना हो । तर केहि समयका लागि नदी प्रवाही आयोजनाका रुपमा सञ्चालन गरिनेछ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।
दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । सोही तालिकामा कम्पनी सफल भएको छ ।
अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । बाढीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा १ अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/tamakoshi3.png)
सीईओ गौतमले तत्काल आरओआरमा सञ्चालन गरेपनि केहि समयमा पिकीङमा समेत सञ्चालन गर्न सकिने बताए । नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसीमा भएको क्षतिलाई देखाएर औद्योगिक करिडोरमा दैनिक १० घण्टासम्म लोडसेडिङ गरेको छ । प्राधिकरणले सूचना नै निकालेर लोडसेडिङ घोषणा गरेको हो ।
बिहान र बेलुकीको पीक आवरमा लोड कटौती गरेको हो । प्राधिकरणका अनुसार ४ घण्टासम्म तामाकोसीले पिकीङ दिने भएकाले लोडसेडिङ केहि घट्नेछ ।
‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ,’ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘ मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोसी आए केहि सहज हुनेछ ।’
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।
तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि २०८१ चैत ३ देखि २०८२ असार १६ गते (१६ मार्च-३० जुन २०२५)सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
SHARE YOUR THOUGHTS