![](https://internal.appharu.com/wp-content/uploads/2024/12/676d87bbba1fe-manmohan-singh-served-as-prime-minister-from-2004-to-2014-264333889-16x9-1.jpg)
काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) मा भर्ना गरिएकामा केहीबेरमै (स्थानीय समयअनुसार २१:५१ मा) मृत घोषणा गरिएको हो ।
सिंह २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए । उनको कार्यकालमा भारतले उल्लेखनीय आर्थिक उन्नती हासिल गरेको थियो । उनको नेतृत्वमा सरकारको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षामा सुधार ल्याउने कार्यक्रमहरू रहेका थिए । उनको कार्यकालमा सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा पनि महत्वपूर्ण प्रगति भएको थियो ।
अर्थविद् सिंह रिजर्भ बैंक अफ इन्डियाका पूर्व गभर्नर तथा अर्थमन्त्री पनि हुन् ।
सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पंजाब प्रान्तको गाह गाउँमा भएको थियो । भारत विभाजनपछि उनको परिवार भारतको पञ्जाबमा बसोबास गर्न आयो । पञ्जाब विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर शिक्षा पूरा गरेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा सम्मानसहितको डिग्री प्राप्त गरे। त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डी.फिल. उपाधि हासिल गरे ।
मनमोहन सिंहले आफ्नो राजनीतिक करियरको सुरुवात आर्थिक सल्लाहकारको रूपमा गरे । भारत सरकारका विभिन्न विभागमा उच्च पद धारण गर्नुका साथै उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघजस्ता संस्थामा पनि योगदान दिए । १९९१ मा भारत गम्भीर आर्थिक संकटबाट गुज्रिँदै गर्दा उनलाई अर्थमन्त्री नियुक्त गरियो । उनले ल्याएको उदारीकरण नीतिले भारतलाई समाजवादी व्यवस्थाबाट मुक्त गराउँदै उदार अर्थव्यवस्थाको आधारशिला तयार गर्यो ।
सन् २००४ मा मनमोहन सिंह भारतका प्रधानमन्त्री बनेर दुई कार्यकालसम्म नेतृत्व गरे । भारत-अमेरिका परमाणु सम्झौताले भारतलाई आणविक अलगावबाट मुक्त गर्दै नयाँ ऊर्जा सम्भावनाको ढोका खोल्यो । साथै, महात्मा गान्धी ग्रामीण रोजगार ग्यारेन्टी ऐन र शिक्षा अधिकार ऐनजस्ता सामाजिक कल्याणकारी योजनाले गरिबी निवारण र सामाजिक न्यायमा सहयोग पुर्यायो ।
सिंहले हालैमात्रसक्रिय राजनीति छोडेका थिए ।
SHARE YOUR THOUGHTS