विराटनगर । माघ ११ देखि १३ गतेसम्म विराटनगरमा हुने भनिएको कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनको सरेको छ । कोशी प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद बैठकले सम्मेलनका लागि आवश्यक तयारी पूरा नभएको भन्दै वैशाख १८ र १९ गतेलाई सार्ने निर्णय गरेको हो ।
सरकारले यहाँको उद्योग संगठनको इभेन्ट व्यवस्थापनमा माघ ११ देखि १३ गतेसम्म पहिलो लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । माघ ११ देखि २० गतेसम्म संगठनले यहाँको डिग्री क्याम्पसको मैदानमा आठौं संस्करणको विराट एक्स्पो गर्दै छ । र प्रदेश सरकारले लगानी सम्मेलन पनि त्यही गर्ने तयारी गरेको थियो । तर यहाँका अन्य निजी संघसंस्थाले त्यसको विरोध गर्दै बहिष्कार गर्ने चेतावनी दिएपछि सरकार सम्मेलनको तिथि सार्न बाध्य भएको बताइएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको पहिलो लगानी सम्मेलनको तयारी पूरा नभएकाले आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनकाअनुसार परियोजनाहरूको सोकेसिङ, कानूनको संशोधन र खरिद प्रक्रिया मार्फत काम गर्न समय अभाव भएकाले लगानी सम्मेलनको तिथि सार्ने निर्णय गरिएको हो ।
कतिपय कानून र नीति संशोधनका लागि केन्द्रीय सरकारको समेत सहयोग चाहिने भएकाले सरकारले सम्मेलन सार्नु परेको भण्डारीको कथन थियो । सम्मेलनमार्फत कोशी प्रदेश सरकारले एक खर्बभन्दा बढी लगानी भित्र्याउने लक्ष्य राखेको छ । त्यसका लागि चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तीन करोड रुपैयाँ विनियोजन गरेर लगानी सम्मेलनको तयारी सरकार गर्दै आएको छ ।
आउँदो माघ ११ देखि १३ गतेसम्म हुने भनिएको प्रदेशको पहिलो लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले विभिन्न ३७ वटा आयोजना छनौट गरेर सोकेसमा राखेर थप २० वटा योजनाको अध्ययन गरिरहेको थियो ।
उक्त सम्मेलनमा विदेशमा बसोवास गरेर कारोबार र विकास योजनामा लगानी गर्दै आएका नेपाली भाषीलाई पनि आमन्त्रण गर्ने तयारी प्राधिकरणले गरेको थियो ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जर्मनी लगायतका मुलुकमा बसोवास गरेर कारोबार गर्ने र विकास योजनामा लगानी गर्दै आएका ४० जनाभन्दा बढी (डीडिआई) ड्यासपोरा डाइरेक्ट लगानीकर्ता नेपाली भाषीलाई पनि सम्मेलनमा सहभागी गराउने तयारी भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाको भनाइ छ ।
प्राधिकरणले सम्मेलनमा १० करोड माथिका एक खर्ब पाँच अर्ब ८५ करोड लागतका प्रारम्भिक ३७ वटा योजना प्रस्तुतिका लागि तयारी गरेर सोकेसमा राखेको थियो । त्यसमा सोकेसमा राखेका योजनामा सुनसरीको कोशीमा २०७७ सालदेखि निर्माणधीन कोशी रिफ्रेशमेन्ट सेन्टरदेखि आकर्षक लाग्ने योजनाहरू पनि छन् ।
सोकेसमा समेटिएका योजनामा २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्टहरू छन् । यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एउटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटन सम्बन्धी आयोजना छन् ।
त्यसैगरी इलामको जितपुरमा २२ करोडको लगानीमा देउमाई कफी फार्म, धनकुटाको सहिदभूमिमा २७ करोडको लगानीमा सिट्रस फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, इलामको सूर्योदय नगरपालिकामा ३३ करोडको लगानीमा डेरी प्रोडक्ट एण्ड प्रोसेसिङ उद्योग, धनकुटाको साँघुरीगढीमा २५ करोडको योजनामा किवी फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, धनकुटामै ६४ करोडको लगानीमा एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, अनुसन्धान सेन्टर र एग्रोटुरिजमको आयोजना सोकेसमा परेका थिए ।
यस्तै इलाममा ८० करोडको लगानीमा एड्भान्स नेप्लिज टि एण्ड कफी उद्योग, सोलुखुम्बुमा ६२ करोडमा आमादाब्लाम मिनि हाइड्रो परियोजना, सोलुखुम्बुमै ५५ करोडमा मेन्जोखोला मिनि हाइड्रो, मोरङमा १ अर्ब १६ करोडको लगानीमा हर्बल प्रोसेसिङ प्रोजेक्ट उद्योग, सुनसरीमा ९ करोडको एग्रो प्रोसेसिङ सेन्टर उद्योग, उदयपुरमा ३२ अर्बको उदयपुर क्लिङ्कर, सुनसरी र उदयपुरमै २६ अर्बको ग्रीन हाइट्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, उदयपुरमा २ अर्बको बायो इथानोल प्रोजेक्ट, पहाडी जिल्लाहरू लक्षित गरी ४० करोडको लगानीमा कोदोको रक्सी उद्योगको आयोजना छनौट भएको थियो ।
फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च प्रोजेक्ट उद्योग, काँकडभिट्टामा ४० करोडको बसपार्क, धनकुटाको भेडेटारमा ३० करोडको लगानीमा भेडेटार मल्टिपर्पोज कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङमा ४ अर्ब ८० करोडको लगानीमा विराटनगर मल्टिपर्पोज कमर्सियल कम्प्लेक्सको पूर्वाधार निर्माण, विराटनगरमै २ अर्ब ३० करोड र १ अर्ब ७५ करोडको लगानीमा दुईवटा फाइभ स्टार होटलको पूर्वाधार निर्माणका प्रोजेक्ट तयार पारिएको छ ।
यस्तै विराटनगरमै २८ करोडको लगानीमा विराटनगर पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टको पूर्वाधार निर्माण, मोरङमा ५ अर्बको कोशी पोडवेको पूर्वाधार निर्माण, खोटाङको हलेंसीमा १० अर्बको हलेंसी केबलकार–पोडवे निर्माण, आइटी क्षेत्रमा २५ करोडको लगानीमा डाटा सेन्टर स्थापना, २२ करोडको लगानीमा डिजिटल कोशी, झापाको मेचीनगरमा ५० करोडको लगानीमा इन्टिग्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट निर्माण, सुनसरीको बर्जुमा ४ अर्ब २८ करोडको लगानीमा बर्जु ताल टुरिजम प्रोजेक्ट र यस्तै सुनसरीमै ८० करोडमा रास ताल टुरिजम प्रोजेक्ट सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरिएको थियो ।
त्यस्तै अन्य योजनामा मोरङको बेतनामा २४ करोडको लगानीमा बेतना सिमसार टुरिजम प्रोजेक्ट, सुनसरीमा २५ करोडको लगानीमा वाटर पार्क, सुनसरीमै २ अर्ब लगानीको कोशी रिफ्रेशमेन्ट सेन्टर, ३५ करोड लगानीमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट, १ अर्ब ५० करोडको लगानीमा इलामको कन्याम अन्तु केबलकार प्रोजेक्ट निर्माण, इलाममै १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार प्रोजेक्ट, इलाममै ८० करोड लगानीमा कन्याम मनोरेल प्रोजेक्ट, सोलुखुम्बुमा ४० करोडको लगानीमा चिउरीखर्क नाम्चे रोप्वे निर्माण र सोलुखुम्बुकै चौंरीखर्च छेदिङमा केबलकार १ अर्ब ५० करोडको लगानीको योजना प्राधिकरणले सोकेसमा राखेको थियो ।
SHARE YOUR THOUGHTS